साहित्यपोस्ट डट कम

अबको शिक्षा: ‘4C’ कि ‘AIAM’ ?

अबको शिक्षा: ‘4C’ कि ‘AIAM’ ?

हामी भविष्यवाणीमा धेरै कमजोर सावित त भएकै छौँ । के थाहा ? भोलि फेरि आलोचनात्मक सोच नै गणित, गहिरो वैज्ञानिक बुझाइ ,भौतिक विज्ञान, आध्यात्मिक विज्ञान, सुपर इन्टेलिजेन्स र एआईभन्दा पनि बढी काम लाग्ने ठहरिन सक्छ कि !

पछिल्ला शैक्षिक दर्शन र सिद्धान्तहरू उतरआधुनिक वा २१ औँ शताब्दीको शिक्षाको प्रवृत्ति प्रतिनिधित्व गर्छन् । यी सबै विद्यार्थी–केन्द्रित छन्, जहाँ अनुभव, पूर्वज्ञान, समस्या समाधान र परियोजना आधारित सिकाइलाई महत्त्व दिइन्छ । कन्स्ट्रक्टिभिज्मले रचनालाई जोड दिन्छ । साथै डिजिटल नेटवर्क र प्रविधि प्रयोग गरेर ज्ञान निरन्तर अद्यावधिक हुने खालको हुन्छ कनेक्टिभिज्म । २१ औँ शताब्दीको शिक्षा आलोचनात्मक सोच, रचनात्मकता, सहकार्य र सञ्चारजस्ता सीप विकासमा केन्द्रित छ । यससँगै सामाजिक–भावनात्मक क्षमता (SEL), सन्दर्भ–आधारित सिकाइ (criterion based learning), पर्यावरणीय सिकाइ (Ecological Learning) र अनलाइन/हाइब्रिड सिकाइ प्रविधिहरूले शिक्षालाई अझ पहुँचयोग्य र प्रभावकारी बनाएका छन् र बनाउँछन् ।

4C शिक्षालाई विद्वानहरूले २१ औँ शताब्दीको आवश्यक शैक्षिक दर्शन मान्छन् तर मलाई शिक्षा योभन्दा अगाडि बढिसक्यो भन्ने लाग्छ । त्यसैले अबको शिक्षा भनेको सुपर इन्टेलिजेन्स (AGI), कृत्रिम बौद्धिकता र ध्यान मात्र हुन्छ ।

आजको विश्व तीव्र परिवर्तनको चरणमा छ । प्रविधि, कृत्रिम बुद्धिमत्ता र वैश्विक प्रतिस्पर्धाले परम्परागत शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा मात्र गरेर विसर्जन नै गर्ने अवस्था सिर्जना गरिदियो । केवल पाठ्यपुस्तक कण्ठ गराउने र परीक्षामा अंक ल्याउने शिक्षा अब निस्प्रभावी भइसकेको छ । आउटडेटेड तथा डेड नै भइसक्यो । आउनुहोस् यही सन्दर्भमा 4C शिक्षा (Critical Thinking, Creativity, Communication, Collaboration) आधुनिक शिक्षाको अनिवार्य आधारका रूपमा विकसित भइरहेको वर्तमान अवस्थामा एकाएक अत्याधुनिक रूपमा अत्यावश्यक भएको कृत्रिम बौद्धिकता र ध्यानको विषय AIAM (Artificial Intelligence–Assisted Mindfulness) प्रबल भएर आएको छ । यी सबको यहाँ विस्तृत चर्चा गरिएको छ ।

आलोचनात्मक सोच (Critical Thinking)

4C शिक्षाको पहिलो आधार आलोचनात्मक सोच हो । जे भनियो, त्यो जस्ताको त्यस्तै विद्यार्थीले स्वीकार गर्नु हुँदैन; प्रश्न गर्न, खोज गर्ने, विश्लेषण गर्न र निष्कर्ष निकाल्न सक्नुपर्छ ।

Albert Einstein ले भनेका छन् — “शिक्षा भनेको तथ्य सिक्नु होइन तर मस्तिष्कलाई सोच्नको लागि तालिम दिनु हो ।”

यस भनाइले स्पष्ट गर्छ कि शिक्षा भनेको तथ्य सङ्कलन मात्र होइन, सोच्ने क्षमताको विकास पनि हो । आलोचनात्मक सोच बिना शिक्षा अन्धविश्वास र अनुकरणमा सीमित हुन्छ । सोचाइ, सोच्ने तरिका, तर्क निर्माण तथ्यपूर्ण र तर्कपूर्ण विचार निर्माण सिकाइको आधार हो भन्ने विषय आलोचनात्मक चेतले दिन्छ । अहिलेका विद्यालय र विश्वविद्यालयले यही सिकाइरहेका छ्न् ।

सिर्जनशीलता (Creativity)

वर्तमान शिक्षाको दोस्रो आधार सिर्जनशीलता हो । भविष्यका समस्या आजका पाठ्यपुस्तकमा लेखिएका हुँदैनन्, त्यसैले नयाँ समाधान निकाल्न सक्ने क्षमता आवश्यक हुन्छ । सिर्जनशीलता भनेको जीवनकै एउटा महत्त्वपूर्ण आधार हो । जुन शिक्षाले प्रदान गर्न सक्नुपर्छ ।

Einstein ले अर्को प्रसिद्ध भनाइ पनि दिएका छन् — “सिर्जनशीलता भनेको बुद्धिमत्ताले रमाइलो गर्दै गरेको अवस्था हो ।”

सिर्जनशील शिक्षाले विद्यार्थीलाई नयाँ कल्पना गर्न, जोखिम लिन र गल्तीबाट सिक्न प्रेरित गर्छ । जहाँ सिर्जनशीलता दबाइन्छ, त्यहाँ प्रगति रोकिन्छ । सिर्जनात्मक क्षमताले सिर्जना गर्छ । यस्ता क्षमता शिक्षाले, विद्यालयले, शिक्षकले तथा स्वयं विद्यार्थीले हासिल गर्नुपर्छ ।

सञ्चार (Communication)

वर्तमान शिक्षाको तेस्रो आधार सञ्चार हो । ज्ञान भए पनि त्यसलाई स्पष्ट रूपमा अभिव्यक्त गर्न सकिएन भने त्यो ज्ञान समाजका लागि निष्क्रिय हुन्छ ।

George Bernard Shaw ले भनेका छन् — “सञ्चारमा सबैभन्दा ठूलो समस्या भनेको यो भइसकेको छ भन्ने भ्रम हो ।”

शिक्षाले विद्यार्थीलाई बोल्न, लेख्न, सुन्न र बुझ्न सक्षम बनाउँछ, जसले आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ । सूचना जानकारी ग्रहण गर्ने, ज्ञान हासिल गर्ने र त्यसको हस्तान्तरण गर्ने पद्धति शिक्षा हो । यसको प्रमुख भूमिका र दायित्व बहन गर्ने काम शिक्षकले गरिरहेका हुन्छन् ।

सञ्चारको माध्यमबाटै संसारभरि ज्ञान, धारणा, सूचना, अनुभव आदानप्रदान भइरहेकै हुन्छ ।

सहकार्य (Collaboration)

वर्तमान शिक्षाको चौथो आधार सहकार्य हो । आजको जटिल संसार एक्लो व्यक्तिले होइन, टोलीले चलाउँछ । व्यक्ति केही होइन, समूह सबथोक हो । समूह संगठन संघ वा कुनै मानिसहरूको संयुक्तरूप र साझा उद्देश्यहरू परेका समस्याको समाधान गर्नको लागि एक आपसमा मिलेर काम गर्ने भावना, अभ्यास र व्यवहार, सहकार्य मार्फत हुन्छ ।

Helen Keller ले भनेकी छन् — “एक्लैले हामी धेरै कम गर्न सक्छौँ; सँगै हुँदा हामी धेरै गर्न सक्छौँ ।”

त्यसैले 4C शिक्षाले प्रतिस्पर्धा मात्र होइन, सहअस्तित्व र सामूहिक समाधानको संस्कार विकास गर्छ ।

मलाई लाग्छ अबको शिक्षा 4C भन्दा पनि AIAM हुनुपर्छ ।

अहिलेको शिक्षाको 4C त एआईले गरिदिन्छ । अनि एआई नै चलाउन र बनाउन पो सिक्नुपर्‍यो त । सजिलो नै छ तर यहाँ पनि चुनौती छ । परिवर्तनशील भएको हुँदा एउटा सिकिसक्दा केही समय पछि त्यो परिवर्तन भैसकेको हुन्छ । हो, त्यो परिवर्तनलाई पक्रन सक्नुपर्‍यो । नयाँको निर्माण गर्नुपर्‍यो ।

अत्याधुनिक साधारण कृत्रिम बुद्धिमत्ता (AGI) ले आज भाषा बुझ्ने र सिर्जना गर्ने, अनुवाद गर्ने, प्रश्नको उत्तर दिने, निबन्ध–लेख लेख्ने, पढाउने र सल्लाह दिने जस्ता बाहेक मानिसले गर्ने बौद्धिक काम गर्न सक्छ । यसले स्वास्थ्य क्षेत्रमा रोगको प्रारम्भिक पहिचान, रिपोर्ट विश्लेषण, अपरेसन, औषधि विकास र जीवनशैली परिवर्तन सल्लाह र परामर्शमा सहयोग पुर्‍याउँछ भने शिक्षा क्षेत्रमा व्यक्तिगत सिकाइ योजना बनाउने, विद्यार्थीको कमजोरी पत्ता लगाउने र अनलाइन शिक्षकको पनि भूमिका निर्वाह गर्न सक्छ । व्यापार र अर्थतन्त्रमा AI ले बजार विश्लेषण, ग्राहक सेवा, लेखा–जोखा र रणनीति निर्माणमा मद्दत गर्छ भने कला र मिडियामा चित्र, संगीत, कथा, डिजाइन र भिडियो सामग्री सिर्जना गर्न सक्षम छ । विज्ञान र प्रविधिमा यसले ठूलो डाटा विश्लेषण, अनुसन्धान सहयोग, सफ्टवेयर विकास, स्वचालन र रोबोट सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छ । साथै शासन, समाज र दैनिक जीवनमा सरकारी सेवा स्वचालन, पूर्वसूचना प्रणाली, स्मार्ट घर, आवाजबाट आदेश लिने सहायक र व्यक्तिगत व्यवस्थापनजस्ता काममा प्रयोग हुँदै आएको छ । हाम्रो समजमा भएको भन्दा धेरै गर्न सक्छ ।

तर AI सँग चेतना र नैतिक निर्णय क्षमता हुँदैन, त्यसैले यसको प्रयोग मानव विवेक, मूल्य र जिम्मेवारीसँग जोडेर गर्नुपर्छ; सही प्रयोगमा AI मानव जीवनलाई सहज र उन्नत बनाउने शक्तिशाली सहायक हो ।

AI का पिता John McCarthy ले मेसिनलाई मानव जस्तो काम गर्न सक्ने बनाउने, मानव जीवन सहयोग गर्ने कुरा भन्छन् । हो, एआईले मान्छेले जसरी काम गर्न सक्छ । पुरै कार्यपद्धति, उत्पादन संयन्त्र, पुँजी, समय र पैसा र श्रमको रूप, अर्थ र कथा बदल्दिनेछ ।

Super intelligence का पिता Nick Bostrom ले भविष्यमा अति बुद्धिमान AI सिर्जना गर्न सकिन्छ भनेका छन् र साथसाथै खतरा प्रति सजग पनि गराएका छ्न् ।

आजको डिजिटल युगको मानव जीवनमा कृत्रिम बौद्धिकता (Artificial Intelligence) वा AI को उपस्थिति अत्यधिक बढेको छ । AI मानव जीवनलाई सजिलो बनाउने, डेटा विश्लेषण गर्ने, निर्णय प्रक्रिया छिटो र प्रभावकारी बनाउने क्षमता राख्छ । यद्यपि, मानिसको मस्तिष्क र मानसिक क्षमताको सीमितता अझै कायम छ । यही ठाउँमा ध्यान (Meditation) को भूमिका महत्त्वपूर्ण देखिन्छ । ध्यान भनेको मानसिक शान्ति, एकाग्रता, आत्म-विश्लेषण र भावनात्मक सन्तुलनको अभ्यास हो । यसले मानिसको मस्तिष्कलाई तनाव मुक्त, स्पष्ट सोच र सिर्जनात्मकतामा सक्षम र सफल बनाउँछ । त्यति मात्र होइन गहिरो ध्यानले निर्वाणसम्म पनि पुर्‍याउँछ ।

AI र ध्यानको सान्दर्भिकतामा आजको जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छ । पहिले मानिसले निर्णय लिन धेरै समय खर्च गर्थ्यो तर आज AI ले ठूलो डेटा छिटो विश्लेषण गरेर सही विकल्प सुझाव दिन्छ । कुनै पनि निर्णय केवल तथ्यमा आधारित मात्र हुँदैन; त्यसमा नैतिकता, संवेदनशीलता, र सृजनात्मकता पनि आवश्यक हुन्छ । ध्यान अभ्यासले मानिसलाई सजग, सचेत र मानसिक रूपमा स्थिर बनाउँछ, जसले AI को सहयोगलाई अझ प्रभावकारी बनाउँछ ।

ध्यान र AI को संयोजनले मानिसको जीवनमा बहुआयामिक लाभ पुर्‍याउँछ । AI ले कार्य र जिम्मेवारी सजिलो बनाउँछ भने ध्यानले मानसिक तनाव घटाउँछ, एकाग्रता बढाउँछ र भावनात्मक सन्तुलन कायम राख्छ । यसले व्यक्तिगत जीवनमा सन्तुलन ल्याउने मात्र नभइ तर पेशागत क्षेत्रमा पनि निर्णय क्षमता र रचनात्मकता वृद्धिमा सहयोग पुर्‍याउँछ । यसैले आजको युगमा केवल प्राविधिक दक्षता मात्र पर्याप्त छैन; मानसिक स्वास्थ्य, सजगता र नैतिक सोच पनि उत्तिकै आवश्यक छ ।

अत: AI र ध्यान दुवैको संयोजनले मानिसलाई पूर्ण र सक्षम बनाउँछ । AI ले जीवनलाई सरल र द्रुत बनाउँछ भने ध्यानले मानिसलाई मानसिक, भावनात्मक र सिर्जनात्मक रूपमा बलियो बनाउँछ । दुवैको मिलनले मानिसलाई भविष्यका चुनौतीसँग सामना गर्न सजिलो बनाउनेछ र जीवनलाई सन्तुलित, बुद्धिमानीपूर्ण तथा सृजनात्मक बनाउने मार्ग प्रदर्शन गर्दछ ।

एआई (कृत्रिम बुद्धिमत्ता) सम्बन्धमा विश्वका विभिन्न विद्वानहरूले गहिरा र चेतावनीपूर्ण विचार व्यक्त गरेका छन् । स्टेफन हकिङले एआई मानव इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुन सक्ने तर गलत दिशामा गयो भने सबैभन्दा ठूलो खतरा पनि बन्न सक्ने बताएका छन्, जसले मानव जिम्मेवारी र नियन्त्रणको आवश्यकता देखाउँछ । एलन मस्कले एआईलाई “न्यूक्लियर हतियारभन्दा पनि खतरनाक हुन सक्ने शक्ति” भनेर उल्लेख गर्दै यसको विकासमा कडा नियमन र सावधानी आवश्यक भएको तर्क गरेका छन् । अर्कोतर्फ, एन्ड्र्यू एनजी जस्ता विद्वानले एआईलाई बिजुली जस्तै आधारभूत प्रविधि मानेका छन्, जसले स्वास्थ्य, शिक्षा र उद्योग सबै क्षेत्रमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्छन् । युभाल नोआह हरारीले एआईले मानव चेतनाभन्दा छिटो निर्णय गर्न सक्ने भएकाले भविष्यमा शक्ति र नियन्त्रण कसको हातमा रहने भन्ने प्रश्न गम्भीर बन्ने चेतावनी दिएका छन् । उनी भन्छ्न्–“एआईको युगमा भावनात्मक सन्तुलन र आलोचनात्मक सोच सबैभन्दा ठूलो शिक्षा हुनेछ ।”

त्यस्तै, आइज्याक आसिमोभले आफ्ना “रोबोटका तीन नियम” मार्फत् एआई सधैँ मानवको हित र सुरक्षामा केन्द्रित हुनुपर्ने नैतिक आधार प्रस्तुत गरेका थिए । यी सबै भनाइले एआई केवल प्रविधि मात्र नभइ मानव सभ्यताको भविष्यसँग जोडिएको गहिरो दार्शनिक र नैतिक विषय हो भन्ने स्पष्ट हुन्छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै शिक्षा क्षेत्रमा गहिरो र अपरिहार्य परिवर्तन देखिन थालेको छ । “एआईले शिक्षक विस्थापन गर्छ, सिक्ने–सिकाउने प्रक्रिया, विद्यालय र विद्यार्थीलाई उत्कर्षमा पुर्‍याउँछ र यसले नयाँ परिवेश तथा परिस्थितिको सामना र स्वीकार गर्न बाध्य बनाउँछ; अन्ततः शैक्षिक प्रणाली नै परिवर्तन हुन्छ” भन्ने भनाइ भावनात्मक अनुमान होइन, समकालीन यथार्थ हो । इतिहासले देखाएको छ कि प्रत्येक ठूला प्रविधिगत परिवर्तनले शिक्षा प्रणालीलाई नयाँ ढाँचामा रूपान्तरण गरेको छ र एआई यस प्रक्रियाको सबैभन्दा शक्तिशाली चरण बनेको छ ।

शिक्षामा एआईले गरेका पाँच काम:

पहिलो, एआईले शिक्षकलाई पूर्ण रूपमा विस्थापन गर्छ भन्ने बुझाइभन्दा यसले शिक्षकको परम्परागत भूमिकालाई विस्थापन गर्छ भन्ने कुरा बढी यथार्थपरक छ । ज्ञान प्रसारण मात्र गर्ने, पाठ्यपुस्तक पढाउने र एकै ढाँचामा सबै विद्यार्थीलाई सिकाउने शिक्षकको आवश्यकता क्रमशः घट्दै जान्छ किनकि यस्ता काम एआईले छिटो, सस्तो र प्रभावकारी रूपमा गर्न सक्छ । तर यसले शिक्षकको अस्तित्व अन्त्य गर्दैन; बरु शिक्षकको भूमिका ज्ञानदाताबाट मार्गदर्शक, प्रेरक, नैतिक प्रशिक्षक र मानवीय संवेदना दिने व्यक्तित्वतर्फ रूपान्तरण हुन्छ । परिवर्तन स्वीकार नगर्ने शिक्षक विस्थापित हुन सक्छन् तर एआईलाई सहायकका रूपमा प्रयोग गर्ने शिक्षक अझ सक्षम र प्रभावकारी बन्छन् ।

दोस्रो, एआईले सिक्ने–सिकाउने प्रक्रियालाई गुणात्मक रूपमा उत्कर्षमा पुर्‍याउँछ । परम्परागत कक्षामा सबै विद्यार्थीलाई एउटै गति र तरिकाले पढाइन्छ, जसले कसैलाई पछि पार्छ भने कसैलाई सीमित बनाउँछ । एआईले भने विद्यार्थीको क्षमता, रुचि, कमजोरी र सिकाइको गतिअनुसार व्यक्तिगत सिकाइ सम्भव बनाउँछ । यसले रटानमुखी शिक्षालाई विस्थापन गरी बुझाइ, प्रयोग र आलोचनात्मक सोचमा आधारित शिक्षा प्रणालीलाई मजबुत बनाउँछ, जुन मानव शिक्षकले एक्लै गर्न कठिन थियो ।

तेस्रो, एआईको प्रवेशसँगै विद्यालयको स्वरूप नै परिवर्तन हुँदै जान्छ । विद्यालय अब केवल भौतिक भवन वा सूचना दिने केन्द्र मात्र रहने छैन । हाइब्रिड, अनलाइन र एआई–समर्थित शिक्षण प्रणाली बढ्दै जान्छन् । कक्षाकोठा सूचना सुन्ने ठाउँ होइन, छलफल, प्रयोग, सहकार्य र सिर्जनाको प्रयोगशाला बन्छ । विद्यालयले विषयगत ज्ञानभन्दा बढी जीवन कौशल, सामाजिक जिम्मेवारी र सोच्ने तरिका विकास गर्ने संस्थाको भूमिका निर्वाह गर्छ ।

चौथो, एआईले विद्यार्थीलाई उत्कर्षमा पुर्‍याउने सम्भावना बोकेको भए पनि यो सशर्त सत्य हो । एआई आफैँले विद्यार्थीलाई उत्कृष्ट बनाउँदैन; विद्यार्थीमा आत्मअनुशासन, नैतिकता, जिज्ञासा र आलोचनात्मक सोच भएमा मात्र एआई विकासको साधन बन्छ । यी गुणहरूको अभावमा एआई सजिलो बाटो, निर्भरता र सतही ज्ञानको माध्यम मात्र बन्न सक्छ । त्यसैले मानवीय मूल्य र चरित्र निर्माण झन् महत्त्वपूर्ण बन्छ ।

पाँचौँ, एआईले सिर्जना गरेको नयाँ परिवेश र परिस्थितिको सामना र स्वीकार गर्नु अपरिहार्य भइसकेको छ । इतिहासमा छापाखाना, बिजुली र इन्टरनेटलाई रोक्न नसकिएझैँ एआईलाई पनि रोक्न सकिँदैन । अस्वीकार गर्ने शिक्षा प्रणाली क्रमशः अप्रासंगिक बन्छ, जब कि स्वीकार गरी रूपान्तरण गर्ने प्रणाली बलियो र समयसापेक्ष बन्छ । यस सन्दर्भमा शिक्षक, विद्यालय, अभिभावक र नीति निर्माताले मानसिक, संरचनागत र नीतिगत परिवर्तन गर्नैपर्छ ।

अन्ततः एआईको प्रभावले शैक्षिक प्रणाली मौलिक रूपमै परिवर्तन हुन्छ । भविष्यको शिक्षा पाठ्यक्रम केन्द्रित होइन, सीप र सोच केन्द्रित हुन्छ; परीक्षा केन्द्रित होइन, क्षमता र व्यवहार मूल्याङ्कन केन्द्रित हुन्छ; शिक्षक केन्द्रित होइन, विद्यार्थी केन्द्रित हुन्छ; र केवल पेशामुखी होइन, जीवनमुखी हुन्छ । निष्कर्षतः एआईले शिक्षा नष्ट गर्दैन, बरु पुरानो र अप्रभावकारी शिक्षा प्रणालीलाई विस्थापन गर्छ । मानव चेतना, विवेक र मूल्यसँग जोडिएको नयाँ शिक्षा प्रणाली निर्माण गर्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।

ध्यान केवल आध्यात्मिक अभ्यास मात्र होइन, आफैँमा एउटा सिकाइ प्रक्रिया, विज्ञान, आधुनिक सिकाइको शक्तिशाली साधन–साध्य र यसको मूल स्वरूप हो भन्ने मान्यता आज विश्वव्यापी रूपमा स्थापित हुँदै गएको छ । त्यसैले भविष्यको शिक्षामा ध्यान अनिवार्य बन्दै जानु संयोग होइन, आवश्यकता र अनिवार्यता हो । ध्यानलाई यदि सिकाइको दृष्टिले हेरियो भने यो ध्यान–नियन्त्रण, चेतनाको प्रशिक्षण र अनुभूतिमा आधारित ज्ञान प्राप्ति हो ।

आधुनिक शिक्षा धेरै हदसम्म बाह्य सूचना, तथ्य र प्रविधिमा केन्द्रित रह्यो तर सिकाइको मूल आधार भनेको ध्यान दिन सक्ने क्षमता नै हो । ध्यान अभ्यासले विद्यार्थीको एकाग्रता, स्मरण शक्ति, आत्मनियन्त्रण र बुझाइको गहिराइ बढाउँछ, जसले कुनै पनि विषयको सिकाइलाई गुणात्मक बनाउँछ । ध्यान बिना सिकाइ सम्भव भए पनि गहिरो र दीर्घकालीन सिकाइ सम्भव हुँदैन भन्ने कुरा आजको संज्ञानात्मक विज्ञानले पनि देखाएको छ ।

वैज्ञानिक रूपमा ध्यान अब विश्वास वा आस्थाको विषय मात्र रहेन । न्युरोसाइन्सका अध्ययनले ध्यानले मस्तिष्कको संरचना र कार्यप्रणालीमा सकारात्मक परिवर्तन ल्याउने पुष्टि गरेका छन् । प्रिफ्रन्टल कोर्टेक्सको सक्रियता,

ध्यान–नियन्त्रण क्षमता, भावनात्मक सन्तुलन र तनाव न्यूनीकरणमा ध्यानको भूमिका प्रमाणित भइसकेको छ । यस अर्थमा ध्यान आधुनिक विज्ञानकै एक प्रयोगात्मक विधि हो, जसले मन, मस्तिष्क र व्यवहारबीचको सम्बन्धलाई स्पष्ट बनाउँछ ।

आधुनिक सिकाइ सिद्धान्तहरू—जस्तै कन्स्ट्रक्टिभिज्म, सामाजिक–भावनात्मक सिकाइ (SEL) र माइन्डफुलनेस–आधारित शिक्षा—सबैको केन्द्रमा चेतनशील उपस्थिति र आत्मबोध रहेको छ । ध्यानले विद्यार्थीलाई केवल “के सोच्ने” होइन, “कसरी सोच्ने” सिकाउँछ । थाहा छैन भविष्यमा के हुन्छ तर एक हिसाबमा आलोचनात्मक सोच, सिर्जनशीलता र नैतिक निर्णय क्षमता विकास गर्न ध्यान एक आधारभूत अभ्यास बन्छ, जसलाई एआईले प्रतिस्थापन गर्न सक्दैन ।

एआई युगको शिक्षा अझ बढी सूचना–भरिएको, छिटो र विचलित बनिरहेको छ । यस्तो अवस्थामा ध्यान विद्यार्थीका लागि मानसिक प्रतिरक्षा प्रणाली जस्तै हुन्छ । एआईले जानकारी दिन सक्छ तर ध्यानले त्यस जानकारीलाई आत्मसात् गर्ने क्षमता दिन्छ । त्यसैले ध्यान आधुनिक सिकाइमा केवल सहायक साधन होइन, सिकाइ सम्भव बनाउने आधारभूत पूर्वशर्त बन्दै गएको छ ।

यसकारण, भविष्यको शिक्षामा ध्यान वैकल्पिक अभ्यास होइन, अनिवार्य आधार बन्ने दिशातर्फ अग्रसर छ । ध्यान बिनाको शिक्षा अधुरो हुन्छ; प्रविधि बिना शिक्षा कमजोर हुन्छ । दुवैको सन्तुलनले मात्र पूर्ण, मानवीय र दीर्घकालीन शिक्षा प्रणाली निर्माण सम्भव हुन्छ । निष्कर्षतः ध्यान नै आधुनिक शिक्षाको मौन आधार, वैज्ञानिक साधन र मानव चेतनाको मूल स्वरूप हो र यही कारणले अबको शिक्षामा यसको समावेश अपरिहार्य छ ।

आइन्स्टाइनले अन्तिममा भने- जीवनलाई सुरक्षित राख्न सतर्क हुनुपर्छ, म जागरूक भएर, आफैँलाई जितेर, आफैँलाई चिनेपछि यस संसारबाट बिदा हुन चाहन्छु ।

उनी गहिरो ध्यानको साधना र आध्यात्मिक विज्ञानमा बेलैमा नलागेकोमा अफसोच भएको कुरा कतै कतै पढ्न पाइन्छ ।

हामी भविष्यवाणीमा धेरै कमजोर सावित त भएकै छौँ । के थाहा ? भोलि फेरि आलोचनात्मक सोच नै गणित, गहिरो वैज्ञानिक बुझाइ ,भौतिक विज्ञान, आध्यात्मिक विज्ञान, सुपर इन्टेलिजेन्स र एआईभन्दा पनि बढी काम लाग्ने ठहरिन सक्छ कि ! हामी प्रोसेस फुटबाट अर्गानिकमा झरेका छौँ, त्यहाँबाट पनि नेचुरलमा झरिसक्यौँ ।

निष्कर्ष

अबको शिक्षा केवल 4C (Critical Thinking, Creativity, Communication, Collaboration) मा सीमित रहनु पर्याप्त छैन किनकि यी सबै सीप एआईले आंशिक वा पूर्ण रूपमा सहयोग गर्न थालेको वर्तमान यथार्थ हाम्रो सामु ऐना जस्तै स्पष्ट छ । एआई युगमा शिक्षा अझ गहिरो, मानवीय र चेतनात्मक आधारमा उभिनुपर्छ । यस सन्दर्भमा AIAM (Artificial Intelligence–Assisted Mindfulness) शिक्षा प्रणालीको उपयुक्त र अपरिहार्य वैचारिक ढाँचा बन्छ । AIAM ले एआईको शक्तिलाई प्रविधिगत साधनका रूपमा मात्र होइन मानव बौद्धिकताको स्वीकार गर्दै ध्यान, आत्मबोध र नैतिक चेतनालाई शिक्षाको मूल केन्द्रमा राख्छ । यसले विद्यार्थीलाई केवल सक्षम उपभोक्ता वा कामदार वा यान्त्रिक मात्र बनाउने होइन, सचेत, जिम्मेवार र विवेकशील मानव बनाउने लक्ष्य राख्छ । आफूलाई चिन्ने र मार्गदर्शन गर्ने कुरामा सचेतता दिन्छ ।

AIAM आधारित शिक्षाले सिकाइलाई सूचना–केन्द्रितबाट चेतना–केन्द्रित बनाउँछ, प्रतिस्पर्धाबाट सह–अस्तित्वतर्फ लैजान्छ र बाह्य सफलताभन्दा आन्तरिक सन्तुलन र आत्मबोधलाई मूल्य दिन्छ । एआईले विश्लेषण, सूचना र गति दिन्छ भने ध्यानले अर्थ, दिशा र मानवता दिन्छ । यही सन्तुलनले मात्र एआई–सशक्त तर मानवीय समाज निर्माण सम्भव हुन्छ । त्यसैले अबको शिक्षा 4C मा मात्र सीमित रहने होइन, AIAM मा रूपान्तरण हुनैपर्छ किनकि भविष्यको शिक्षा केवल के जान्ने भन्ने प्रश्न होइन, कसरी चेतनशील भएर बाँच्ने र प्रविधि चलाउने मात्र नभएर मानवीयता प्रयोग कसरी गर्ने भन्ने मूल प्रश्नसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण छ ।

अबको शिक्षा 4C कि AIAM ? कि दुवै होइन ? यहाँलाई के लाग्छ ?

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.