ग्लोबलताको यस युगमा आजको मान्छेलाई आफ्नोबारे मात्र सोचेर पुगेको छैन । उसले विश्वलाई नै सोच्नु पर्ने भएको छ । यदि ऊ आफैँमा सीमित भयो भने उसको अस्तित्व नै समाप्त हुने अवस्था आएको छ । सीमितताले अब उसलाई पहिचान दिन नसक्ने भएको छ । आज ऊ कुनै सीमित भूगोलको मात्र नभएर विश्वकै नागरिक भएको छ । यस्तो बेला आफ्नो भाषा, धर्म, संस्कृति तथा राष्ट्रियताले निर्मित धारणाले मात्र उसको जीवन चल्दै नचल्ने भएको छ । आजको उसको विचार अब उसको मात्र होइन त्यो सबैको साझा भएको छ । यतिखेर ऊ कुनै देशमा रहेर जे सोचिरहेको छ, विश्वको अर्को कुनामा बस्ने मान्छेले पनि त्यस्तै केही सोचिरहेको हुनेछ या हुनसक्छ ।
आफ्नै देशमा समेत अहिले ऊ परिचय सङ्कटको अवस्थामा छ । किनकि उसलाई आफ्नो राष्ट्रियताले मात्र पुगेको छैन । अब उसलाई वैश्विक परिचयको खाँचो छ । अबदेखि मान्छेको जीवनभरको सङ्घर्ष केवल परिचयको लागि हुनेछ । परिचयहीन अवस्थामा उसको अस्तित्वकै अन्त्य हुनेछ जतिखेर बाँचेर पनि उसको बचाइको अर्थ रहने छैन । अर्थ त त्यसक्षण रहनेछ जतिखेर उसले वैश्विक दृष्टिकोण निर्माण गर्न सक्छ अर्थात् वैश्विक अवधारणाले निर्देशित हुनसक्छ ।
रैथाने जीवन बाँच्नेहरूको पहिचान समेत डगमगाउन थालेको बेला; डायास्पोरिक जीवनको पहिचान झन् कति सङ्कटमा होला ? त्यसैले त लक्ष्यभूमिमा आफ्नो भाषा, साहित्य, कला संस्कृति जगेर्नाको खातिर डायास्पोरिकहरू क्रियाशील भइरहन्छन् । कस्तो विरोधाभासी जीवन ? एकतिर आफूलाई छोडेर अरू सरह हुनु परेको छ, अर्कोतिर आफूलाई सम्हालेर अरूदेखि भिन्न हुनु परेको छ । यसरी आजको मानिस न आफूजस्तो हुन सकेको छ, न आफूलाई त्याग्न नै । ऊ अरूजस्तो हुन पनि सकेको छैन र आफूजस्तो पनि । न भित्र न बाहिरको अवस्थामा; जस्केलोमा उभिएर ऊ आफूलाई खोजिरहेको छ ।
अमेरिकाको व्यस्त जीवन शैली बाँचेका साहित्यकार लालगोपाल सुवेदीको ‘युरोपेली नेपाली स्रष्टा’ पढ्दै गर्दा मनमा यस्ता अनेक विरोधाभासी विचारहरू आए । स्वयं सुवेदीको जीवनमा पनि के यस्तै विरोधाभास छैन र ? त्यसैले त कतै छुटेको आफूलाई उनी भाषा साहित्य कला संस्कृति मार्फत क्षतिपूर्ति गर्न चाहन्छन् । यतिखेर उनी विभिन्न देशका डायास्पोरिक नेपाली स्रष्टा र तिनका सिर्जना चिनाउने अघोषित अभियानमा लागेका छन् । ‘युरोपेली नेपाली स्रष्टा’ त्यसकै एउटा दृष्टान्त बनेको छ । यसमा पैँतालीस जना युरोपियन नेपाली डायास्पोरिक स्रष्टा र तिनका कृतिबारे संक्षिप्त परिचय दिइएको छ । यसलाई सामान्यतः व्यक्तित्व र कृतित्वको आधारमा हेर्न सकिन्छ ।
आजको यस प्रतिस्पर्धी युगमा कसैले कसैलाई बुझ्ने फुर्सद छैन । यतिसम्म कि आफूले आफैँलाई बुझ्न समेत फुर्सद छैन । सबै कहीँ न कहीँ पुग्ने धावामा छन् । किन्तु पुग्ने कहाँ हो थाहा छैन, थाहै नभए पनि ऊ दौडिरहेको छ । यस्तो बेला साहित्यकार सुवेदीको कर्म देख्दा आश्चर्य लाग्छ । कुन चेतनाले उनी यसरी अभिप्रेरित भएका होलान् ? उनीबाट बडो प्रशंसनीय कर्म भएको छ । नेपाली भाषी एक डायास्पोरिक स्रष्टाले अन्य डायास्पोरिक स्रष्टाको सन्दर्भमा कृति तयार गर्नु, अनि ती स्रष्टाहरूलाई पाठकमाझ पुर्याउनु, तिनीहरूको कला साहित्यबारे परिचर्चा गर्नु; एक उदाहरणीय कर्म बनेको छ । हुन त यो आफैँमा सम्पूर्ण त होइन नै । जेहोस् उनले आरम्भिक कदम उठाएका छन् । उनको लक्ष्य ठूलो छ । नेपाली डायास्पोरिक सिर्जनालाई साहित्यको मूलधारमा ल्याउनु पर्छ भन्ने उनको अपेक्षा (उद्देश्य) छ । त्यसो त यो सबैको अपेक्षा हो किन्तु उनको र अरूको अपेक्षाबीच केही अन्तर छ । उनले आफ्नो अपेक्षालाई व्यवहारमा उतार्ने प्रयास गरेका छन् । एउटा संस्थाले गर्नु पर्ने सामूहिक काम यसरी उनीबाट शुरुवात भएको छ ।
सक्रिय साहित्यकार सुवेदी । उनको सर्जक परिचय अनेक विधामा फैलिएको छ । विद्यार्थी जीवनदेखि शुरु भएको त्यो साहित्यिक यात्रा अविराम चलिरहेको छ । कविता, काव्य, गीत, निबन्ध, समालोचना, बालसाहित्य, गीति नाटकजस्ता विधामा उनका एक्काइस वटा कृति प्रकाशित भइसकेका छन् । राष्ट्रिय प्रतिभा पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०) लगायत अन्य पुरस्कारले सम्मानित तथा विविध साहित्यिक संलग्नताले पनि उनको स्रष्टा व्यक्तित्वलाई परिभाषित गरेका छन् । स्नातकोत्तर तहका गोल्डमेडलिस्ट उनी विद्यार्थी उमेरदेखि नै पुरस्कृत हुँदै आएका देखिन्छन् । महेन्द्र विद्या भूषण तथा लारी स्वर्णपदक जस्ता सम्मान पनि उनले प्राप्त गरिसकेका छन् ।
कवि सुवेदीबारे म अहिले केही बोल्ने पक्षमा छैन । आजको लेखन ध्येय अर्कै छ । उनको ‘युरोपेली नेपाली स्रष्टा’मा केन्द्रीकृत भई केही लेख्नु छ । युरोपका विभिन्न देशमा जीवनको अस्तित्व खोज्दै कला, साहित्य, सङ्गीतमा लागेका व्यक्ति र तिनको कृतित्व चिनारी गराउने हेतु प्रस्तुत कृति तयार भएको छ; जसमा कतिपय स्रष्टा नेपाली साहित्यमा स्थापित भई पाठक प्रिय भइसकेका छन् भने, कति भर्खर भर्खरै पाठकमाझ पुग्ने क्रममा छन् । जसले भाषा साहित्यको सेवा मात्रै गरेका छैनन् । उनीहरूले देश बाहिर बसेर भाषिक, सांस्कृतिक तथा जातीय सीमाना पनि फैलाइरहेका छन्, जो प्रवासमा अझ बढी नेपाली भएर बाँच्दैछन् । विश्वको जुन ठाउँमा रहे पनि आखिर त्यो मन कहिल्यै अनेपाली हुन सक्दैन ।
डायास्पोरिक जीवनका अनेक चुनौतीसँग जुझेर गरिएको कला साहित्यलाई; यता मूलभूमिमा रहेका हामीले हार्दिकतासाथ सुन्नु पर्छ, मूल्याङ्कन गर्नुपर्छ । आखिर जहाँ रहेर कला साहित्य गरे पनि त्यो हाम्रै जातीय उपलब्धि हो । हाम्रै साझा आवाज र त्यस्तै साझा संवेदना पनि । लेखक सुवेदी यसै विचारले निर्देशित भई; डायास्पोरिक स्रष्टा र सिर्जनालाई मूलधारले सुनिदिओस् भन्ने अभियानमा लागेका हुनुपर्छ ।
उनले जे गरे त्यो स्वागत योग्य छ । अघिदेखिको एउटा गुनासो भनौँ या यथार्थ जे भनौँ त्यो एकदम सत्य छ । डायास्पोरिक स्रष्टालाई हामीले जति सुन्नु पर्ने हो त्यति सुन्न सकेका छैनौँ र पनि उनीहरू आशावादी छन्; कुनै दिन आफ्नो आवाज पक्कै सुनिएला । यही अपेक्षाले उत्साहित भई भाषा साहित्यको सेवामा समर्पित छन् । मैले यसै सन्दर्भमा अफ्रिकाको सेसेल्समा रहेका स्रष्टा गणेश खड्का सम्झिन पुगेँ । हिजो भर्खर उनलाई एक अन्तर्वार्तामा सुन्दै थिएँ । उनको पनि यस्तै केही अपेक्षा थियो । भविष्यले निश्चय केही उज्यालो ल्याउला भन्ने आशा थियो । हामीले त्यो आशालाई मर्न दिनु हुँदैन । आखिर यता मुलुक उनीहरूकै श्रम र पसिना (रेमिटेन्स) ले धानिँदै आएको छ ! हेर्नु त खड्काको ‘रेमिन्टेस राष्ट्रियता’ कति मार्मिक कविता छ—
घरमा अनिकाल लाग्दा
अनाज किन्ने पैसा
घरदेशमा भोकमरीले सताउँदा
राहत बाढ्ने रकम
भवितव्य र दैवीप्रकोपले जन्माएका अनेकौँ राष्ट्रिय विपद्हरूमा
चन्दा तथा मालसामान
शरीर बन्धक राखेर पठाउँछन् सपुतहरू
मुगलानकै भरमा चल्छ मुलुक
रेमिटेन्सको रिमोट कन्ट्रोलबाट … !
माथिको कविता सुनिसकेपछि ‘युरोपेली नेपाली स्रष्टा’लाई मैले अरू बढी श्रद्धाले पढेँ । म यिनै अक्षरका माध्यमबाट सम्झिन चाहन्छु; देश बाहिर रहनु भएका सम्पूर्ण नेपालीप्रति मेरो सतत नमन छ । यतिखेर उक्त पुस्तक मार्फत मैले एक्कैचोटि यति धेरै स्रष्टालाई चिन्ने, बुझ्ने मौका पाएँ । यसरी पुस्तकमा समेटिनु उहाँहरूको लागि एउटा अवसर हो । एकसाथ यति ठूलो सङ्ख्यामा स्रष्टाहरू पाठकमाझ पुग्नु, परिचित हुनु उपलब्धिपूर्ण कुरा छ ।
पुस्तकमा समाविष्ट कतिपय स्रष्टाहरूलाई म प्रथमपालि चिन्दैछु । त्यस्तै कति स्रष्टालाई पढ्दै आएको छु । शुरुकै पृष्ठमा रहेका छन् सक्रिय तथा लोकप्रिय नियात्राकार जीवा लामिछाने । केही समय अघि मैले उनको ‘अक्षत अन्टार्कटिका’ पढेको थिएँ । नेपाली साहित्यका पाठकलाई उनको प्रस्तुत कृतिले एउटा बेग्लै पठन अनुभूति दिएको छ । अहिले पुनः लामिछानेलाई पढ्दा; कवि सुवेदीका दृष्टिमा उनी कस्ता देखिएका छन् ? त्यो जान्न म उत्सुक भएँ जसमा साहित्यिक, व्यावसायिक र समाजसेवी जस्ता त्रिआयामिक व्यक्तित्वले निर्मित उनको छवि लोभलाग्दो देखिन्छ । उनका बारेमा थाहा नभएका कति कुराहरू ‘नेपाली पुस्तकमा नयाँ गोलार्ध: जीवा लामिछने’ शीर्षक निबन्धमा थाहा पाउन सकेँ ।
प्रायः यहाँ उल्लेख भएका कवि कलाकारले आफ्नो बहु आयामिक व्यक्तित्व निर्माण गर्दै आएका देखिन्छन् । हरिहर अर्याल त्यस्तै एक हुन् । गोरखामा जन्मिएका अर्याल प्रौढकालीन उमेरसँगै फ्रान्सेली नेपाली समुदायबीच अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली भाषा, साहित्य, कला, संस्कृतिलाई माया गर्ने उनी विशेषतः कवि हुन् । उनले साहित्यिक सिर्जनशील वातावरणको लागि सन् २०१८ देखि आफ्नो संयोजकत्वमा ‘नेपाली साहित्यिक मञ्च फ्रान्स’ स्थापना गरी, त्यसमा काम गर्दै आएका छन् । उनले अङ्ग्रेजी, नेपाली र फ्रेन्च भाषालाई जोड्ने योजकको भूमिका समेत निर्वाह गरेका छन् । उनकै प्रयासमा अनेसास फ्रान्सको गठन भएको छ ।
विविधताको अनुभूति हुने पुस्तक जसको अध्ययन गर्दा लाग्छ; कुनै पनि जाति जीवित हुनुको प्रमाण उसको भाषा, साहित्य, कला, संस्कृतिले दिने रहेछ । भूमण्डलीकरणको यस समयमा सांस्कृतिक साम्राज्यवादले; नगन्य अस्तित्वमा रहेका भाषा, साहित्य, संस्कृतिलाई प्रतिदिन विलीन गर्दैछ । यस किसिमको परिचय सङ्कटको आँधी चलेको बेला प्रत्येक जाति अत्यन्तै सचेत हुनुपर्ने परिस्थिति आएको छ । यस्तो संवेदनशील क्षणमा जातीय चिनारीको एक मात्र विकल्प भनेको उसको भाषा, धर्म, साहित्य, कला, संस्कृति विस्तार गर्नु हो, जुन कुरा नेपाली डायास्पोरिक जातिले एकदम तीक्ष्णतासाथ अनुभूत गरेको लाग्छ । सुवेदीको कृतिमा प्रत्येक स्रष्टा यही चेतले निर्देशित भएका लाग्छन् । त्यसै मध्येका अर्का स्रष्टा हुन् रूपक श्रेष्ठ । यतिखेर उनी बेलायती नेपाली जीवन बाँच्दै आएका छन् । उनी कथा, कविता, मुक्तक, हाइकुमा निरन्तर लागिरहेका छन् । अनुवाद र नाटकमा पनि उनको झुकाव देखिन्छ । उनको ‘बिगबेन र समय’ कवितासंग्रहमा प्रोफेसर माइकल हटले कहीँ भनेका छन्, ‘पहिलो कविता बिगबेन र समयदेखि अन्तिम कविता मृत्यु सौन्दर्यसम्मको यस संकलनमा नयाँ पुस्ताको एउटा सशक्त बेलायती कविको स्वर सुन्न पाइन्छ (पृ–१९) ।’
सुवेदीका पुस्तकमा जति पनि स्रष्टाहरू समावेश छन्, ती मध्ये नारी स्रष्टाको सङ्ख्या नगण्य लाग्छ । किन त्यसो भयो थाहा छैन । नारी स्रष्टाको सङ्ख्या नै न्यून भएर हो या लेखकको दृष्टि नपरेर त्यसो भयो कुन्नि ? तथापि उपस्थिति हुँदै नहुनुभन्दा थोरै भए पनि सही । अहिले यतिमै चित्त बुझाउनू होला नारीहरूले । अरू कुरा बिस्तारमा हुँदै जानेछ । यतिखेर त्यही नगण्य सङ्ख्यामा परेकी छन्– प्रतिमा केसी ‘प्रवासी’ । उनी कविता, मुक्तक र गजलमा सक्रिय देखिन्छिन् । बेलायती भूमिमा रहेर अझ विशेषतः मुक्तकका पङ्क्तिमा; उनले आफूलाई खोज्दै गरेको देखिन्छ । उनका अहिलेसम्म दुई वटा मुक्तकसंग्रह प्रकाशित भइसकेका छन् ।
‘युरोपेली नेपाली स्रष्टा’को लेखन हेतुलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । यसलाई स्रष्टाहरूको परिचयात्मक कृतिको रूपमा लिन सकिन्छ । त्यस्तै यसमा समीक्षात्मक चेत पनि मिसिएको छ । त्यस हिसाबले यसलाई व्यक्तित्व र कृतित्वको संयुक्त रूप भन्नु ठीक होला । हुन त यसलाई जसरी बुझे पनि अन्ततः कवि कलाकाको व्यक्तित्व प्रकाशित गर्नु नै यसको प्रमुख ध्येय रहेको छ । यसै क्रममा रहेका छन्—सागर फुयाँल । उनी नेपालको परराष्ट्र मन्त्रालयबाट नियोग उपप्रमुख तथा मिनिष्टर काउन्सेलरको रूपमा जर्मनी बस्दै आएका छन् । जर्मनी नेपाली राजदूतावासमा उनी कार्यरत छन्; त्यससँगै गीत तथा कविताका माध्यबाट आफूलाई खोज्ने सिलसिलामा छन् ।
एउटा सुखद संयोग नै भन्नुपर्छ । यहाँ कति स्रष्टाहरू कवि सुवेदीका विद्यार्थीकालीन मित्रहरू रहेका छन् । जोसँग लामो समयपछि उता गएर भेट हुन्छ । कला साहित्यले त्यसरी आपसमा जोडेको छ । त्यसैमध्येका हुन् बेल्जियमका राजकुमार पुडासैनी । उनी कथा, निबन्ध, एकाङ्कीमा बेलाबेलै भेटिने गर्छन् ।
कला साहित्यको क्षेत्रमा यी प्रत्येक स्रष्टाका आआफ्नै रुचि छन् र बेग्लाबेग्लै व्यक्तित्व । यति हुँदाहुँदै पनि सबैमा एउटा साझा विशेषता छ— साहित्यप्रतिको अनुराग र तृष्णा । यही साझा विशेषताले निर्मित मनोविज्ञान मार्फत यति धेरै स्रष्टा अक्षरका माध्यबाट एकै ठाउँ भेला भएका छन् अर्थात् सुवेदीले भेला गराएका छन् । तिनैमध्येका एक हुन् स्पेनको बार्सिलोनामा आफूलाई नेपाली जातिको रूपमा चिनाउन प्रयासरत ओमर गुरुङ । उनी एक व्यावसायिक पनि हुन् । ‘जर्मनीका सम्झनाहरू’ उनको एक संस्मरणात्मक कृति प्रकाशित भइसकेको छ र अरू केही प्रकाशनको पर्खाइमा छन् । त्यस्तै अर्का स्रष्टा रहेका छन् बेल्जियमका एक परिचित नाम विमल गिरी । उनका अहिलेसम्म झण्डै एक दर्जन कृति पाठकमाझ पुगिसकेका छन् । उनको लेखन रुचि गीत, हाइकु र मुक्तकमा विशेष रहेको छ ।
आजको मान्छे कुनै एउटा सीमित परिधिमा सिमाङ्कन भइरहन सक्दैन । ऊ जहाँ पुग्न पनि सक्छ । किन्तु उसको मन कहिल्यै प्रवासिन सक्दैन । ऊ त्यहाँ झन् बढी आफू भएर बाँचेको हुन्छ । यसै प्रसङ्गमा गीतकार विमल गिरीको भनाइ दृष्टान्तको रूपमा जोड्न मन लाग्यो, ‘म सपनामा नेपाली भाषा नै बोल्छु । म सपनामा नेपालकै गाउँबेसी गरिरहेको हुन्छु । नेपालकै हिमाल, पहाड र नदीहरू देखिरहेको हुन्छु (पृ–४७) ।’
जीवन भन्नु सङ्घर्षको अर्को नाम रहेछ । आफ्नै आमाको काखमा त आफूले चाहेजस्तो सहज हुँदैन भने पराई आमाको काख न हो; कहाँ सहज हुन सक्छ ? ‘युरोपेली नेपाली स्रष्टा’मा चुनौतीका कति अव्यक्त कथाहरू होलान् । कठोर सङ्घर्ष गरेर उठेका मित्रलाल पार्देको जीवन त्यस्तै एउटा उदाहरण लाग्छ । पोल्याण्डमा रहँदै आएका उनी नेपाली वाङ्मय सेवामा निरन्तर लागिरहेका छन् । नाटककार र कवि दुवै व्यक्तित्वबाट उनी परिचित छन् । साहित्यमार्फत सचेतता ल्याउने अभियानमा; विद्यार्थी जीवनदेखिको उनको सक्रियता लोभलाग्दो देखिन्छ । उनी एक व्यावसायिक पनि हुन् । यतिखेर उनी पोल्याण्डमा अन्तर्राष्ट्रिय स्तरको नेपाली पुस्तकालय स्थापना गर्ने प्रयासमा छन् । त्यस्तै अर्का क्रियाशील स्रष्टा छन् पूर्ण बस्नेत । हाल अनेसास डेनमार्कको अध्यक्ष रहेका बस्नेत; नेपाली हुनुको पहिचानलाई प्रखर बनाउन चेष्टारत छन् । उनलाई पढ्दै गर्दा आएको एक सन्दर्भले बडो खुशी दियो । डेनमार्कको विद्यालय स्तरमा नेपाली मातृभाषी नानीहरूलाई एउटा विषय नेपाली भाषामै पढ्न पाउने सुविधा दिनु कत्रो हर्षको कुरा ! त्यहाँको डेनमार्क सरकार कति उदारवादी रहेछ ।
त्यस्तै अर्का स्रष्टा रहेका छन्, बेलायती नेपाली डायास्पोराका एक प्रखर नियात्राकार कृष्ण बजगाईं । यस अघि पनि उनलाई पढ्दै आएको हो, फुटकर लेख रचनाहरूमा । नियात्रा बाहेक अन्य विधामा पनि उनको कलम चलेको देखिन्छ । उनको सिर्जना र स्रष्टा व्यक्तित्वलाई लिएर केही थेसिस समेत भएका छन् । पाठ्यक्रममा पनि उनका लेख रचनाहरू समावेश छन् । अहिलेसम्म उनका ‘युरोसियाको स्पर्श’, ‘उमिहोताहरू’, ‘दाइबुचु’, ‘भायासाक्रा’ र ‘युङफ्राउ’ जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् ।
बेलायतमै रहेकी त्यस्तै अर्की नारी स्रष्टा छिन् माया गुरुङ । खुशी लाग्छ यसरी महिलाको नाम सुन्दा मात्रै पनि । हाम्रो समाजमा महिला स्रष्टाबारे कसैले केही लेखिदिँदा या बोलिदिँदा पनि ठूलो उपलब्धि लाग्छ । हुन त कसैले लेखे पनि नलेखे पनि महिलाहरूले अग्रगामी कदम उठाइरहेका छन् । कसैले देख्दैन त के भयो ? त्यो उनीहरूको कमजोरी होइन । अरूको कमजोरीले आफूलाई कहिल्यै छुन सक्दैन । त्यसैले त माया गुरुङजस्ता नारीहरू लागिरहेका छन् । पेशाले एक स्वास्थ्यकर्मी गुरुङ जसका लेखनमा विविधतापूर्ण प्रस्तुतिहरू रहेका छन्; जस्तो गीत, गजल, हाइकु, मुक्तक अनि आख्यान, कविता र निबन्ध । भाषा साहित्यको सेवामा सिर्जना सँगसँगै संस्थागत रूपले उनी उतिकै लागिरहेकी छिन् ।
साहित्य, कला, सङ्गीत मानव अभिव्यक्तिको एक उत्कृष्ट मध्यम हो । हरेक व्यक्तिभित्र कलाको बास हुन्छ नै । भलै त्यो प्रस्फुटन हुनु नहुनु अलग कुरा । जसले आफूभित्र बास गरेको कला देख्छ साँच्चै त्यो एक विशेष मानव बन्न पुग्छ । त्यसरी विशेष हुनुदेखि अन्य अवस्थामा उसले कदापि आफूभित्रको कला चेत देख्न सक्दैन । जब उसले देख्छ अनि जस्तो अवस्थामा पनि ऊ कलामा लिप्त हुन थाल्छ । जस्तो दृष्टान्तको रूपमा राज श्रेष्ठलाई लिन सकिन्छ जो ब्रिटिस गोरखाका एक लडाकु । जसको हात बन्दुक सँगसँगै कलम चलाउन पनि उतिकै सक्षम छ । कस्तो विरोधाभासी जीवन ! जसले खेलाउने बन्दुक कति भयावह छ, जुन संहारको प्रतीक; त्यस्तै उसको कलम सिर्जनाको अर्थात् सृष्टिको प्रतीक । ऊ एकातिर संहारको गतिविधिमा संलग्न छ अर्कोतिर सृष्टिको … ।
त्यसो त एक लडाकुको मात्र होइन । सबैको जीवन विरोधाभासमै चलेको छ । स्वयं जीवन नै एउटा विरोधाभास लाग्छ । अझ स्वयं सृष्टि नै विरोधाभासको एक निरन्तरता लाग्छ । यस्तै विरोधाभासबीच राज श्रेष्ठ गीत, कविता तथा मुक्तकका माध्यमबाट आफ्ना भावनाहरू प्रकट गर्दै आएका छन् । उनका कतिपय गीतले स्वर सङ्गीत पाइसकेका छन् । त्यस्तै अर्का रुसी नेपाली स्रष्टा छन् मधु माधुर्य अर्थात् डा. मधुकृष्ण श्रेष्ठ जो एक बौद्धिक कविको रूपमा परिचित छन् । एक समय अध्ययनको सिलसिलामा नेपालको इन्जिनियरिङ कलेजबाट उनी रुस पुगेका थिए । उनले त्यहाँ भाषा साहित्यको लागि गरेको उन्नत गतिविधि प्रशंसनीय लाग्छ । अहिलेसम्म उनका दुई कृति प्रकाशमा आइसकेका छन् ।
मैले यसअघि पढ्दै आएको त्यस्तै अर्का बेलायती नेपाली कवि तथा गीतकार छन्, घनबहादुर थापामगर । उनको सिर्जनामा एकदमै राष्ट्रप्रेमको भाव पाइन्छ । त्यस्तै जातिप्रेम तथा संस्कृतिप्रेमको भाव पनि । कला कर्मले निर्मित उनको व्यक्तित्वले जुन उचाइ लिएको छ; त्यो भन्दा पनि अझ उचाइ लिएको छ उनको समाजसेवी व्यक्तित्वले । जातीय चिनारीप्रति अत्यन्तै सचेत थापाका गीत तथा कविताका झण्डै आधा दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । त्यस्तै केही गीति एल्बम पनि बजारमा आएका छन् ।
आज हाम्रो मुलुक एकदम सङ्कटकालीन अवस्थामा छ । युवाहरूले देश छोड्नै पर्छ, उनीहरू विदेश जानैपर्छ भन्ने संस्कार प्रतिदिन निर्माण हुँदैछ । नेपालीहरूले देशमा सम्भावित भविष्य देख्न छोडिसके । कतै मुलुक नै रित्तिने त होइन ? यसरी सबै रित्तिँदै जाने हो भने भोलि के हुन्छ ? बडो डरलाग्दो प्रश्न छ । यसबीचमा चित्त बुझाउनकै लागि एउटा कुरा के भने विश्वको कुनाकुनामा फैलिएको नेपाली जाति अब ग्लोबल नागरिक हुँदैछ । यसमा हामी खुशी हुने कि दुःखी ? कस्तो अप्ठ्यारो कुरा ? जे भए पनि वैश्विक नेपालीहरू आफ्नो जातीय एकताको लागि जुट्दैछन् । भाषा, साहित्य, कला र संस्कृतिले उनीहरूलाई एक सूत्रमा बाँधेको छ । यस सन्दर्भमा बेल्जियमका डिल्ली अम्माईको भनाइ बडो दूरगामी लाग्छ, ‘यदि हामीले हाम्रो पहिचानलाई साँच्चै नै दोस्रो तेस्रो पुस्तामा हस्तान्तरण गर्ने हो भने विगतको सोचलाई समयानुकूल परिवर्तन गर्नुपर्छ । भाषा र साहित्यका बुँदामा मात्रै नअल्झेर कला, संस्कृति र अध्यात्मलाई पनि अनेसासमा जोड्नुपर्छ । यसो गरेमा अनेसास परिवार स्वतः ठूलो र फराकिलो बन्दै जान्छ । हाम्रो भावी पुस्तालाई हाम्रा चाडपर्वका बारेमा जानकारी गराउनु जरुरी छ … (पृ–८९) ।’
त्यस्तै कवि अम्माईले उठाएको अर्को प्रसङ्ग पनि उस्तै विचारणीय लाग्यो; कोही पनि व्यक्ति पदीय लोलुपतामा आसक्त भई जातीय एकता धराशायी पार्ने मार्गमा लाग्नु हुँदैन । यो कुरा हामी सम्पूर्णले बुझ्न आवश्यक छ । त्यसपछि आउँछन् बेलायतका स्रष्टा केदार संकेत । बृटिस सेनाबाट निवृत्त एक प्रखर साहित्यकार । विशेषतः नियात्राकार सँगै आख्यानकार पनि । उनका केही सिर्जना युद्ध तथा अभिघात सिद्धान्तका दृष्टिले हेर्नुपर्ने खालका छन्, जस्तो ‘अफगानी रणमैदान’ लाई त्यसरी हेरिन जरुरी छ । स्रष्टा केदार संकेत यदाकदा समीक्षा समालोचनामा पनि भेटिने गर्छन् । उनका ‘बुद्धल्याण्ड टु स्विटजरल्याण्ड’, ‘एथेन्सको झरी’ जस्ता कृतिहरू पाठकमाझ लोकप्रिय छन् । त्यस्तै उनका केही रचना पाठ्यक्रममा समेत पढाइ हुन्छन् ।
केही महीनाअघि मात्रै मैले साहित्यकार गोपी सापकोटाको ‘चिसो बाफ’ (उपन्यास) अडियो बुक सुनेको थिएँ । राम्रो लाग्यो । त्यसभन्दा पहिले पनि म उनलाई चिन्दथेँ । उनी साहित्यका विद्यार्थी । स्कूले जीवनदेखि नै साहित्यमा उनको गहिरो रुचि देखिन्छ । नाटक लेख्ने, निर्देश गर्ने र सँगै अभिनय पनि । सडक नाटक तथा बालसाहित्यमा पनि उनको योगदान देखिन्छ । कवि सापकोटाका ‘कमिलाको सपना’, ‘ब् क्गष्अष्मभ ल्ण्तभ’, ‘लन्डन अनप्लग्ड’ र ‘काँचो कागज’लगायत एघार वटा कृतिहरू पाठकमाझ आइसकेका छन् । त्यस्तै अठार वर्षकै उमेरमा उपन्यास लेखेर साहित्यमा प्रवेश गरेकी अर्की स्रष्टा छिन् संगीता स्वेच्छा । उनका एकल र संयुक्त गरेर तीनवटा कथासंग्रह प्रकाशन भइसकेका छन् । उनको एक कृति अङ्ग्रेजीमा समेत अनुवाद भइसकेको छ । मुक्तकमा रुचि भएका फेरि त्यस्तै अर्का स्रष्टा छन्, सौरभ कारञ्जित । एक समय उनले अनेसास बेल्जियमको सदस्य भएर काम गरेका थिए । उनको एउटा कृति प्रकाशनमा आइसकेको छ ।
जीवनमा कुनै पनि कामको लागि पहिलो कदम उठाउनु ‘त्यो कदम’ मात्र होइन एउटा क्रान्ति पनि हो । हरेक प्रथम कदम आफैँमा एउटा क्रान्ति हुनेगर्छ । यतिखेर ईश्वर मानन्धरलाई सम्झिन पुग्दा त्यस्तै एउटा आरम्भिक कदम उठाउने क्रान्तिनायक लाग्छ । बेलायती भूमिमा नटराज रेष्टुराँ खोलेर गोराहरूको समुदायमा नेपाली खानाको चिनारी गराउने उनी पहिलो नेपाली हुन् । साहित्यिक, सामाजिक, प्रशासनिक व्यक्तित्वसँगै उनी एक समाजसेवी पनि हुन् । कथा, उपन्यास, निबन्ध तथा नियात्रा विधामा उनका आधा दर्जन कृतिहरू प्रकाशित छन् । अहिले उनको भौतिक उपस्थिति नरहे पनि उनी अक्षरमा सदा जीवित छन् ।
‘युरोपेली नेपाली स्रष्टा’मा प्रायः बहुव्यक्तित्व निर्माण गरेका स्रष्टा तथा कवि कलाकारहरू रहेका छन् । समाजसेवी तथा व्यावसायिक व्यक्तित्व पनि रहेका छन् । ब्रह्मदत्त वाग्ले त्यस्तै एक व्यक्तित्व हुन् । विद्यार्थीकालमा स्वतन्त्रताको लागि लडेका, जेलनेल भोगेका उनी अहिले बेल्जियममा एक व्यावसायिक जीवन बाँच्दैछन् । उनको लेखन विधा चाहिँ कविता रहेको छ ।
को कहाँ जन्मिन्छ र कहाँ पुग्छ ? मानिसको जीवनमा यो अति जटिल प्रश्न छ । जुन कि उसलाई कहिल्यै थाहा नहुँदो रहेछ । जस्तो ‘युरोपेली नेपाली स्रष्टा’मै हेरौँ न जसमा ती स्रष्टाहरू कति भिन्नभिन्न भूगोलका छन् र कति भिन्नभिन्न ठाउँ पुगेका छन् । यसै क्रममा गुल्मीकी चेली मन्जु भण्डारी लण्डन पुगेकी छन् । साहित्यमा उनी त्यहाँ आफ्नो देश खोजिरहेकी छन् । कथा, कविता र गीतमा कलम चलाउँदै आएकी मन्जुको ‘प्रतिविम्बन’ एक निबन्धसंग्रह प्रकाशित भइसकेको छ । त्यस्तै अर्का प्रतिभाशाली युवक छन् राजेश सापकोटा जो नर्वेको भूमिमा बाँचेर नेपाली माटोको सुवास लेख्छन् । उनी तीक्ष्ण बुद्धिका एक कवि हुन् । अध्ययनको सिलसिलामा बेलायत हुँदै पोर्चुगल पुगेकी अर्की नारी साहित्यकार छिन् सबी श्रेष्ठ । उनी प्रायशः मुक्तक लेख्न मन पराउँछिन् । उनको ‘अपरिभाषित आभा’ एक संग्रह प्रकाशित भइसकेको छ ।
यतिखेर युरोपेली नेपाली स्रष्टा पढ्दा यस्तो लाग्दैछ; मातृभूमि छोड्दाको विरह र डायास्पोरिक भूमिमा गर्नु परेको अव्यक्त सङ्घर्षले कवि कलाकार अरू बढी जन्माउँदै गएको छ । मनको आवेग, संवेग तथा कुण्ठा कला साहित्यको माध्यम भएर प्रस्फुटित हुने रहेछ । आखिर जसरी होस् डायास्पोरिक जीवनले खुशी लाग्दो गरी स्रष्टा जन्माइरहेको छ । त्यसैमध्येका एक हुन् सुसन बर्देवा । भाषा साहित्यमा उनले गरेको सेवा प्रशंसनीय छ र उनले अनेक विधामा कलम चलाउँदै आएका छन् । त्यस्तै अर्का युवा लेखक छन् पञ्चम अधिकारी । उनको ‘प्रवासीको देश हुन्न’ कथासंग्रहले डायास्पोरिक नेपाली जीवनको मर्मलाई गहिरो गरी छोएको छ, ‘… जो बाकसभित्र छ ऊ लास हो । जो जिउँदो छ प्रवासमा फर्किंदा, आफ्नो देशले आफैँलाई नचिन्दा ऊ पनि जिउँदो लासजस्तै भएको छ । उसले मात्र देश सम्झेर के गर्ने जब देशले नै उसलाई चिन्दैन (पृ–१४५) ।’ त्यस्तै उनको ‘पथिक प्रवासन’ उपन्यास पनि रहेको छ ।
वास्तवमा मानव जीवन त्यसबखत सार्थक हुने रहेछ जतिखेर उसले अरूको लागि बाँच्न जानेको हुन्छ । जसले जान्दछ उसले नै भोलिको लागि सम्झनाहरू छोड्ने रहेछ । उच्च शिक्षा आर्जन सँगसँगै बृटिस सेनामा भर्ती भएका एक योद्धा; जो साहित्य जगत्मा चिमखोले काइँलाका नामले परिचित (दुतबहादुर पुन मगर) त्यस्तै एक व्यक्ति लाग्छन् । उपकारी मन भएका उनी साहित्यकारसँगै एक समाजसेवी पनि हुन् । उनका अहिलेसम्म एकजर्दन जति कृति प्रकाशित भइसकेका छन् । उनी एक चलचित्र निर्माता पनि हुन् ।
यसअघि चर्चा गरिएका कवि कलाकारका बीच एक जना यस्ता अर्का व्यक्ति छन् गोपाल दाहाल; जसले ती स्रष्टाहरूको सिर्जनालाई पर्गेल्ने काम गर्दै आएका छन् । त्यस्तै अर्का गीतकार सूर्यराज गिरी उस्तै ऊर्जावान् व्यक्ति लाग्छन् । उनका कतिपय गीतहरू रामकृष्ण ढकाल तथा राजेशपायल राईजस्ता मूर्धन्य गायकबाट गाइएका छन् ।
समयको गतिमा सम्भावित भविष्य खोज्दै इजरायल, युके हुँदै डेनमार्क पुगेकी अर्की नारी साहित्यकार छिन् सीता बराल । उनी विदेशमा रहेका नेपाली चेलीहरूले भोग्नु परेको कठिनाइलाई कथामा उतार्ने गर्छिन् । उनको ‘भुन्टी’ कथासंग्रह त्यसैको एउटा नमुना बनेको छ ।
‘युरोपेली नेपाली स्रष्टा’मा त्यसपछि ‘समाज रत्न अलङ्कार’बाट सम्मानित लारा (लक्ष्मी राई)को जीवन आउँछ । साहित्यकारसँगै उनी एक समाजसेवी हुन् । अनि त्यसपछि आउँछिन् शारदा पौडेल ‘निशा’ । नवरत्नबाट पुरस्कृत पौडेलका एकल र संयुक्त गरी नौवटा कृति प्रकाशनमा आइसकेका छन् ।
अन्तः प्रेरणाबाट सानैदेखि सिर्जनात्मक भएका अर्का युवा साहित्यकार छन्, स्पन्दन विनोदी । कला साहित्यमा समर्पित उनको व्यक्तित्व लोभलाग्दो देखिन्छ । एकल र संयुक्त गरी उनका झण्डै एक दर्जन कृति पाठकमाझ आइसकेका छन् । उनका केही म्यूजिक भिडियो पनि छन् । नेपालीत्वमा गौरव गर्ने दीपेन्द्र के.सी. त्यस्तै अर्का व्यक्ति छन् । लेखक सुवेदीले उनलाई बेल्जियमका मोतीराम भनेर चिनाएका छन् । उनको एक कवितासंग्रह र खण्डकाव्य प्रकाशित भइसकेको छ । स्रष्टा व्यक्तित्वकै सिलसिलामा फेरि अर्का छन् गीत सङ्गीतका साधक सुनिल संगम । गजल, मुक्तक तथा उपन्यासमा पनि उनको कलम चल्दै आएको छ । उनका गीति एल्बम र गीतसंग्रह गरी पाँचवटा कृति सार्वजनिक भइसकेका छन् र केही प्रकाशोन्मुख अवस्थामा छन् । अनेसास जर्मन च्याप्टरको संस्थापक अध्यक्ष रहेकी सुजाता घिमिरे राउत पनि उतिकै तत्परतासाथ लागिरहेकी छन् । कृतिगत र संस्थागत दुवै पक्षबाट भाषा साहित्यलाई सेवा पुर्याउँदै आएका सुमन गुरुङ उस्तै श्रद्धेय व्यक्ति छन् । लुम्ले कृषि अनुसन्धान केन्द्र तथा बेलायताका वरिष्ठ सुरक्षा अधिकृत समेत भएका गुरुङ पछिल्लो समय समाजसेवामा सक्रिय भएर लागेका छन् । कस्तो उज्यालो छवि भएका मानिस; उनका आधा दर्जन कृति छापिइसकेका छन् भने केही छापिने क्रममा छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेकी संस्थापक अध्यक्ष विष्णुमाया विभुको व्यक्तित्व पनि उस्तै प्रभावकारी छ । कति सक्रिय नारी ! जसले कथा, कविता, निबन्धमा कलम चलाउँदै आएकी छन् । संस्थागत रूपमा एकदमै सक्रिय एन बी अन्जान उस्तै जुझारु युवा छन् । भाषा साहित्यप्रति उनको कति ठूलो त्याग ! अनेसास पोर्चुगलका महासचिव समेत भएका अन्जानको लेखन विधा विविध रहेका छन्— गीत, गजल, हाइकु, रुवाइ, गीति चलचित्र, नाटक, अभिनय, सम्पादन, चलिचित्र लेखन सँगै उनी एक निर्देशक पनि हुन्; त्यस्तै ग्राफिक डिजाइनर पनि ।
साहित्यको सेवा सिर्जनाबाट मात्र होइन अरू धेरै किसिमले गर्न सकिन्छ । जस्तो स्रष्टाहरूलाई साहित्यिक प्रेरणा दिएर, उनीहरूको कृति पढेर, संघसंस्थाका माध्यमबाट साहित्यिक परिवेश निर्माण गरेर । आर.एल. श्रमजीवी अर्थात् राजन लुइँटेल त्यस्तै एक साहित्यसेवी स्रष्टा हुन् । उनका अहिलेसम्म दुई कृति प्रकाशमा आइसकेका छन् । पत्रकारितासँगै साहित्यमा उतिकै रुचि भएका अर्का स्रष्टा छन् नारायण गाउँले । उनी गीत, कविता, समीक्षा, समालोचनामा बराबर कलम चलाइरहन्छन् । त्यस्तै अर्का सर्जक छन् खड्ग न्यौपाने । नेपालको गाउँ गाउँमा शैक्षिक तथा सांस्कृतिक चेतना फैलाउने उनी एक अभियन्ता समेत हुन् । नेपाली समाजमा उनी चेतनाको पर्यायका रूपमा परिचित छन् । पछिल्लो समय जर्मनीमा त्यसरी नै जातीय पहिचानको अभियानमा लागिरहेका छन् । त्यस्तै कला, साहित्य, संस्कृति तथा गीत सङ्गीतमा उदाहरणीय कर्म गर्दै आएका छन् संस्थागत रूपमा ।
‘युरोपेली नेपाली स्रष्टा’ भित्रका प्रत्येक कवि कलाकारले आआफ्नो ठाउँमा रहेर; नेपाली वाङ्मयमा आफूसक्दो योगदान गर्दै आएका छन् । जुन एकदम स्तुत्य छ । त्यस्तै स्तुत्य कर्ममा लाग्दै आएका अर्का स्रष्टा छन् प्रकाश सापकोटा । अनेसास डेनमार्कको पूर्व अध्यक्ष समेत रहेका सापकोटाको यस पहिले नै ‘आस्था ओढेको मन’ उपन्यास बजारमा आइसकेको छ र अरू केही कथा उपन्यास प्रकाशनको उज्यालो पर्खिएर बसेका छन् ।
पुस्तकको अन्त्यमा रहेका अर्का सक्रिय स्रष्टा छन् प्रशान्त उप्रेती । उनको गतिविधि उस्तै स्मरणीय छ । जातीय अस्तित्व रक्षाका खातिर जागरुकताका साथ लाग्ने युवा कवि; उनी अनेसास फ्रान्स च्याप्टरको अध्यक्ष समेत रहेका छन् । उनका सिर्जना मार्मिक छन् । एक ठाउँ उनी भन्छन्–
मानिसले कृत्रिम सूर्य बनाइसक्यो
तर मनभित्रको अँध्यारो हटाउन
अझै कुनै प्रविधि जन्मेको छैन (पृ–२३७) ।
आफ्नो जातीय चिनारीको लागि भाषा साहित्य कला संस्कृतिमा कर्मठ भएर लाग्ने यी प्रत्येक स्रष्टालाई पढ्दा एउटा यस्तो सम्मानपूर्ण भाव जागृत भयो, जसले डायास्पोरिक भूमिमा जातीय पहिचानको लागि सङ्घर्ष गर्दै आएका छन् ।
अब अन्त्यमा कुरा के भने एउटै कृतिमा एकसाथ यति धेरै कवि कलाकारलाई पढ्न पाउँदा अध्ययन सार्थकताको मीठो अनुभूति भयो । लेखक सुवेदीको लेखन उद्देश्यले यसरी निरन्तरता पाउँदै जाओस् । शुभकामना ।

