तमाम रिश्तों को मै घर पे छोड आया था
फिर उसके बाद मुझे कोई अजनबी न मिला ।
– डा. बशीर बद्र
मेरा दिल–अजीज शायर महोदय डा. बशीर बद्र साहिबको यो शेर किन किन मलाई अत्यन्त प्रिय लाग्दछ । उहाँ भन्नुहुन्छ –
तमाम नाता–सम्बन्धलाई मैले घरमै थन्क्याएर आएको थिएँ, अनि त्यसपछि मैले कुनै पनि अजनबी भेटिनँ ।
नाता–सम्बन्धका बारे कविको यो कथन अद्भुत छ, अनौठो छ अनि तलस्पर्शी छ ।
प्रश्न हो – नाता–तत्त्व के हो ? सम्बन्ध–सूत्र के हो ?
आम जन–जीवनमा आमा–बाबु, छोरा–छोरी, दाजु–भाइ, दिदी–बहिनी, काका–भतिजा, मामा–भाञ्जा आदि अनेक किसिमको सम्बन्ध–जालो फैलिएको पाइन्छ । तिनै सम्बन्ध–सञ्जालबाट बन्धु–बान्धवको लोक आलोकित हुने गर्दछ । मान्दछौं – यिनै हुन् हाम्रा आफन्त । तर आफन्तको मूलमा रहेको आफ्नोपन यिनमा के–कति अनुपातमा रहेको छ भन्ने विषय सन्देहास्पद छ, विवादशील छ र विश्वासद्वेषी नै छ । एकजना मेरा प्रिय नेपाली शायरको अनुभव यस्तो छ –
कस्लाई आफ्नो भनी मानूँ, कस्लाई म पराई ठानूँ
आफन्तका बीच कतै आफ्नोपन पाइएन,
किन किन उनीछेउ आउनचाहिं आइएन
उनलाई छोडी अन्त कतै मायाँ पनि लाइएन !
आफन्त र पराइको मानदण्ड के हो ? जहाँ आफ्नोपन पाइन्छ ऊ आफन्त । जसमा पाइन्न ऊ पराया । यहाँ गजलस्रष्टाम मेरा प्रिय शायरको अनुभव वैपरीत्यवादी बनेको छ । आफन्त मानिएका नाता–सम्बन्ध त जीवनमा छन् प्रशस्त । तर, तिनमा आफ्नोपनको सर्वथा अभाव छ । अनि प्रश्न खडा हुन्छ नै – आफ्नो भनी कसलाई मानूँ ?
वस्तुतः पारिवारिक नाता–सम्बन्ध हामीले आर्जन गर्न पर्दैन । ती पूर्व–निर्धारित यद्वा अन्य–निर्धारित हुन्छन् । ती नाताहरू हामीमा अरू कसैले टाँसिदिएका लेबल मात्र हुन् । ती सम्बन्ध जोडिनमा तपाईं हाम्रो कुनै योगदान वा देय–दातव्य केही हुन्न । ती समाज–व्यवस्थाका लागि सुनियोजित, पूर्वनिर्धारित पद हुन् । नभन्दै आफूले सिन्को पनि नभाँची हामी लोग्ने–स्वास्नी, दाजु–भाइ, दिदी–बहिनी, काका–भतिजा, मामा–भाञ्जा आदि अनेक सम्बन्ध–सञ्जालले जेलिएकै हुन्छौं । ती नितान्त प्राविधिक र निष्प्राण कनेक्सन हुन् ।
हो, तर जब हामी ती नाता–सम्बन्धमा आफू र आफ्नोपन जोड्दछौं अनि तिनमा जीवन्तता, प्राणवत्ता र रमणीयताको आधान अवश्य हुने गर्दछ । वस्तुतः आफ्नोपन हाम्रो नितान्त आत्मीय आर्जनबाट सम्पन्न हुने आनन्दमय सम्बन्ध–सुवास हो । त्यो पूर्व–निर्धारित हुन्न, तात्कालिक हुन्छ, स्वानुभूतिमय हुन्छ र आत्म–निर्मित हुन्छ ।
अब अर्को आयामबाट विचार्दा आफ्नोपनका लागि कुनै नाता–सम्बन्धको कृत्रिम जालो कदाचित् असान्दर्भिक प्रतीत हुन्छ । बरु ती नाताहरू आफ्नोपनका मामलामा साधक नभएर बाधक साबित हुने प्रबल सम्भावना दूर क्षितिजमा झुल्किन्छ । किनभने ती सबै नाताहरू अत्यन्त साँगुरो फ्रेममा जडिएका हुन्छन्, जहाँ नितान्त सीमित एवम् आभिनयिक सम्बोधन र आवरणिक मुस्कानादि कुशल–क्षेमान्त संवाद अभिनीत हुन्छन् । प्रत्यक्षमा आलोक–विम्ब र परोक्षमा छाया–प्रतिविम्ब सञ्चारित भइरहन्छ मनोलोकमा । विविध छाया–प्रतिच्छायाहरूको भाव–शबलता एवम् विश्वास र अविश्वासको लोकालोक तिनको शाश्वत स्वभाव हो ।
यहाँ प्रारम्भमै उल्लिखित ती महान् शायरको अनुभव छ –
त्यस्ता सबै कृत्रिम घरायसी सम्बन्धलाई जब घरैमा थन्क्याएर, चटक्क छोडेर जब म निस्किएँथें अनि मैले यस विशाल जगतमा, यो उदार उदात्त मुक्त विश्व–ब्रह्माण्डमा कोही पनि अजनबी भेटिनँ ।
यो अद्भुत कथन देखेर म तिनीप्रति फिदा हुन्छु –
वाह वाह, बशीर साहब !
वास्तवमा जब ती स–साना नाताका संकीर्ण घेराहरूबाट म पर भएँ अनि पो थाहा पाएँ सारा जगत् र तिनका निवासी तमाम प्राणीहरू नै मेरा असली आफन्त रहेछन् ।
किनभने तिनमा कुनै अभिनीत मुस्कान थिएन, कृत्रिम भला–कुसारी थिएन र घस्रिएको खिइएको धसिंगरे नाता–रिश्ताको संकीर्ण चौखट थिएन ।
…
मानवीय सम्बन्धका बारे, गहन जीवनाध्यायी ओशो भन्नुहुन्छ : मानवीय अस्तित्वका तीन प्रमुख केन्द्र छन् : मस्तिष्क, हृदय र नाभि । तदनुकूल सम्बन्धका पनि तीन चरण छन् ।
पहिलो हो मस्तिष्कगत सम्बन्ध । यो हुन्छ – तर्कशील, हिसाब–किताब–प्रधान र लेन–देनमा साभार । नितान्त व्यावसायिक, लाभ–हानिका पलडामा नाप–तौल गरेर राखिने सम्बन्ध । अधिकतर दुनियावी व्यवहार यसैमा अडेसिएको हुन्छ । यो भौतिकतामा आधृत हुन्छ । एक किसिमको डील हो । लाभ–दर्शनमा यस्तो सम्बन्ध स्नेहातिरेकले अनायास प्रगाढ हुन थाल्दछ, हानि–सम्भावनाले अविलम्ब पातलिंदै जान्छ, अझ विपरीतमार्गी बन्दै नफरताऽनुयायी समेत बन्न सक्दछ । यो सम्बन्धको चमकदार र आवरणीय रूप हो । समाजको आवोहबामा प्रायः यसै सम्बन्धको चाप हामी अनुभव गर्दछौं ।
सम्बन्धको दोस्रो चरणमा हामी मस्तिष्कबाट अलिकति गहिराइमा उत्रिएर हृदयसम्म पुग्दछौं । यहाँ अनुरागको मगमगाउँदो सुवास पाइन्छ । नर–नारीका बीच उब्जिने हृदयगामी व्यवहार यसको मूल स्वभाव हो । यसमा भावावेग, भावोत्तेजना, भावोदय, भावशान्ति र भाव–शबलताका अनेक तरंगहरूको रिंगण चलिरहन्छ । परस्पर समर्पणशीलता र प्रीत्यभिमानको प्रतीति यसको आभा हो । सर्वदा साहचर्य–कामिता एवं उभयानुरागको प्रत्याभूति यस सम्बन्धको शक्ति अनि सीमा पनि हो । परिणामतः यसमा जीवन्त प्रीत्यनुभूति, इन्द्रियसंवेद्य सन्तृप्तिको लोभनीय आस्वादका साथै पर–पक्षप्रति आशंका, सन्देहशीलता एवम् अनुराग–वृत्तिमाथि एकाधिकारको दावी पनि रहने गर्दछ । अन्ततः समय–गतिका साथै यसको तीव्रता निरन्तर ह्रासशील हुँदै जान्छ र अन्ततः विपरीतधर्मी पनि हुन पुग्दछ । किनभने मानवीय चेतनाको नितान्त नैसर्गिक वृत्ति स्वतन्त्रता–अक्सिजनको मात्रामा ह्रास आउँदै गएपछि अन्ततः सम्बन्ध उकुसमुकुसिन पुग्दछ । परस्परापेक्षा नै यसको पाश्र्वप्रभाव हो, अनुरागमाथिको एकाधिकारवादिता नै यसको प्रतिपक्ष हो र अनुरागशीलतामाथि परेको सन्दिग्ध–दृष्टि नै यसको तिक्तता हो, परिणामतः यहाँ पनि कुनै न कुनै मनो–कुहरबाट लाभ–हानिको लेखा–जोखा र प्राप्तव्यको दाबी हुन थाल्दछ, अन्ततः दिलमा दिमागको दवाब परिहाल्दछ ।
तेस्रो चरणमा हामी नाभिगत सम्बन्धको गहन आयाममा अभिव्यक्त हुन्छौं । नाभि हाम्रो आस्तित्विकताको मूलाधार हो । यस भूतलमा अवतरित हुनुभन्दा अगिदेखि नै हामी मातृसत्ताको भौतिक अस्तित्वसँग एकाकार भएर गर्भाशयको शान्त सुरक्षित निर्मक्षिक एकान्तमा, परमानन्दमयतामा चुर्लुम्म डुबेका हुन्छौं । यसरी जीवनको प्रत्यूष–वेलादेखि नै हामी नाभि–सम्बन्धको नूतनोदयले आलोकित एवं जीवन्त बनेका हुन्छौं । वस्तुतः हाम्रो नितान्त नैसर्गिक सम्बन्धको केन्द्र नाभिस्थल हो । नाभिस्थलीय सम्बन्ध प्रगाढ प्रेम, परमविश्वास र सहजानुभूतिले उल्लसित अवस्था हो । जहाँ यस्तो ढुक्कपन, स्वच्छन्दानन्द र सिर्जनशील सक्रियता रहन्छ जसमा जीवनलाई अंकुरित, पल्लवित र पुष्पित बनाउने समग्र आबोहवको सुव्यवस्था हमेशा कायम रहेको हुन्छ । ओशो भन्नुहुन्छ : मूलतः सन्मित्रताको सम्बन्ध र गुरु–शिष्यताको सम्बन्धमा नाभिगत नाताको परिपूर्णानुभूति हुने गर्दछ । यहाँ स्वार्थको लेश मात्र पनि रहन्न, बन्धनको क्षुद्र तन्तु पनि पाइन्न र चेतनाको निर्बाध उडानमा किंचिन्मात्र पनि अंकुश लगाइन्न । वस्तुतः सम्बन्धको आत्यन्तिक शुद्ध स्वरूप यही हो ।
तर, उत्कृष्ट जीवनका अनुभवी अझ एक कदम अगि बढेर भन्दछन् – सम्बन्धको चौथो आयाम तुरीय अवस्था हो । चोखो आत्मीयताको सम्बन्ध हो । यथार्थमा मानिसको मानिससँग जुन सहज, अकृत्रिम, निर्लेप र आत्मीय शाश्वत सम्बन्ध छ त्यसको यथार्थानुभूति कृत्रिम सम्बन्धको निस्सासिँदो घेरोबाट बाहिर निस्किएर खुला पञ्च–महाभूतमा गहिरो मुक्त श्वास–प्रश्वासको सुस्वागतमा मात्र सम्भव रहने गर्दछ ।
त्यो सम्बन्ध नै हाम्रो वास्तविक आस्तित्विकता हो जहाँ हामी निर्भार हुन्छौं, ग्रहणशील हुन्छौं र स्वतःस्फूर्त ऊर्जाले प्राणवान् बन्दछौं, वस्तुतः सही अर्थमा हामी बाँचिरहेका हुन्छौं, आफ्नो परिपूर्णतामा सास फेरिरहेका हुन्छौं । त्यहाँ त्यो सम्बन्धवान् मन र वचनभन्दा पनि पर, हृत्केन्द्रमा, श्रद्धामयतामा, नगिच भन्दा नगिचमा मौजूद रहेको अनुभूत हुन्छ, वस्तुतः सच्चिदानन्दमय स्वरूपमा विद्यमान हुन्छ ! यहाँनेर नेपाली कविकुलगुरु कविशिरोमणि लेखनाथ पौड्याल अनायास संस्मरणीय बन्नुहुन्छ, यथा –
यसो हेर्दा श्रद्धासित नगिचभन्दा नगिचमा
दुवै ती दोटैको हृदय–बिचको बिन्दु–बिचमा ।
उसो हेर्दा टाढा मन वचनभन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ।।
– तरुण तपसी : १–२०
त्यो तबमात्र सम्भव छ जब हाम्रो चेतना–लोक उदात्त आयाममा फैलिएको हुन्छ । सर्वत्र फुक्का, अप्रतिरुद्ध एवम् अव्याहत–गति । जब हामी सर्वत्र आफ्नोपनको प्रगाढतामा आबद्ध हुन्छौं, यस्तो प्रगाढता जहाँ आफ्नोपन आफ्नै विस्तार बन्दछ, आत्म–विस्तृतिमा हामी सर्वत्र समाविष्ट हुन्छौं । अझ भनूँ – सर्वत्र स्वयं हुन्छौं, अर्को कोही हुन्न ।
हजारौं वर्षपहिले हाम्रा पूर्वज मन्त्रद्रष्टा ऋषिले यही देखेछन् र भनेछन् :
यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति
सर्वभूतेषु चात्मानं ततो न विजुगुप्सते ।
ईशोपनिषद्–६
जसले सबैलाई आफूमा देख्दछ अनि सबैमा आफूलाई नै देख्दछ, उसले कसैप्रति घृणानुभव गर्र्दैन ।
अनि फेरि –
यस्मिन् सर्वाणि भूतान्यात्मैवाभूद् विजानतः
तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।
ईशोपनिषद्–७
सर्वत्र आत्मीयतानुभूतिमा समाहित भएपछि, एकत्व–पश्यतामा के मोह र के शोक ?
मोहको आच्छादन र शोकको आवाहन दुवै त्यस अवस्थामा अप्रासंगिक ठहर्दछन् । सर्वत्र एकत्व–बोधमा मोह कसका प्रति र शोक केका लागि ?
मोह कुनै पर–वस्तुका सम्बन्धमा सञ्चित हुन्छ र शोक कुनै अप्राप्त वस्तुका सम्बन्धमा प्ररोहित हुने गर्दछ । जब पर–वस्तु कुनै छैन र अप्राप्त वस्तु केही छैन भने अनि सर्वत्र आफू छ भने मोह र शोकको अत्यन्ताभाव हुने नै भयो ।
प्रिय बन्धु !
वस्तुतः यो मेरो निजी अनुभूति होइन नै । हाम्रा तपोनिष्ठ पूर्वज ऋषिको आत्मदर्शन हो । यो त्यस अवस्थाको बयान हो जब सर्वत्र ईश्वरदर्शन हुने गर्दछ :
ईशा वास्यमिदं सर्वम् !
ईशोपनिषद्–१
समग्र जगतमा उही ईश, उही परमचेतनाकै साम्राज्यको विद्यमानताले हाम्रो चेतनालोकमा समभावको सुवास फैलिन्छ । हरेक प्राणवान्मा रहेको उही परमप्राण महाप्राण सर्वत्र रहेपछि को पराई ?
सर्वत्र आफू, सर्वत्र आफ्नोपन ।
यही हो वास्तविक आत्मीयताको सम्बन्ध – हरेक आत्मवान्का बीच विद्यमान,
आत्मबोध नभई वस्तुतः आत्मीयताको आवाहन कहाँ हुन सक्छ र ?
……..
२०८३ असार ८ गते सोमवार
ॐ अक्षरालयः ।

