साहित्यपोस्ट-नपढी सुखै छैन...

आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम

आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम

काठमाडौं । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित दोस्रो विश्वव्यापी खुला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’मा खोटाङका कवि शुभचन्द्र राई प्रथम हुनुभएको छ ।

प्रतियोगितामा मकवानपुरका तुलसी घिमिरे दोस्रो तथा भरतपुरका परिवेश मुन्छे तेस्रो हुनुभएको छ । उत्कृष्ट पाँचभित्र सिन्धुलीका रमेश दाहाल र काठमाडौंकी संगीता खरेल पनि पर्नुभएको छ ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी विज्ञप्तिअनुसार वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित निर्णायक समितिले नतिजा सार्वजनिक गरेको हो ।

प्रतियोगिताका विजेतामध्ये प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट २५ कविलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १०८ कविता प्राप्त भएका थिए । यसअघि उत्कृष्ट २५ कविताको सूची सार्वजनिक गरिएको थियो । उक्त सूचीमा ‘एकलव्यको दोस्रो प्रहार’ (शुभचन्द्र राई), ‘कवितामा देश’ (तुलसी घिमिरे), ‘मैले कविता लेख्न सकेको छैन’ (परिवेश मुन्द्रे), ‘मुखौटाहरूको महोत्सव’ (रमेश दाहाल) र ‘आवाजहरूको विद्रोह’ (संगीता खरेल) लगायतका कविता परेका थिए ।

प्रतियोगिताका लागि अमेरिकामा रहनुभएकी समाजसेवी सपना राउतले पुरस्कार राशिको प्रायोजन गर्नुभएको थियो ।

सङ्घका अनुसार प्रतियोगितामा समसामयिक विषयमा आधारित, अप्रकाशित कविता मात्र सहभागी गराइएको थियो । प्रतियोगीको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको थियो भने कविता बुझाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकिएको थियो ।

साहित्यिक पत्रकार सङ्घले यसअघि निबन्ध प्रतियोगिता पनि आयोजना गरिसकेको छ ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.