साहित्यपोस्ट डट कम

आन्तोन चेखवको बालमनोविज्ञान कथा: भान्का

आन्तोन चेखवको बालमनोविज्ञान कथा: भान्का

(विश्व प्रसिद्ध कथाकार आन्तोन चेखवको बाल मनोविज्ञान कथा ‘भान्का’, संसारका बग्रेल्ती भाषामा अनूदित भएका छन् । खस भाषामा पनि धेरैले यस कथालाई उल्था गरेका छन् । तर के नपुगेको नपुगेको जस्तो मलाई सधैँ लागिरह्यो । चेखवको त्यो मिठास शैली, त्यो अनुवादमा नखुलेको आभास भयो, जुन रस टप्कनु पर्थ्यो, त्यो नटप्केको अनुभूति भयो । चेखवीय शैलीलाई जस्ताको तस्तै नेपाली पाठक माझ पुर्‍याउन, मैले रुसीबाटै अनुवाद गर्ने जमर्को गरेको छु : सन् १८८६ मा लेखिएको हो यो कथा पढौं नेपाली भाषामा ।)

===

कथाकार : आन्तोन चेखव -१८८६

अनुवाद : ससांग लामा

नौ वर्षीय बालक भान्का जुकोभ, जसलाई तीन महिनाअघि मोची अल्याखिनकहाँ काम सिक्न पठाइएको थियो, क्रिसमसको पूर्व सन्ध्यामा नसुती बसेको थियो । मालिकहरू र अन्य कामदारहरू बिहानको प्रार्थना (चर्च) का लागि गएको मौका छोपी उसले मालिकको दराजबाट मसीको सानो बट्टा र एउटा खिया लागेको निब भएको कलम निकाल्यो । आफ्नो अगाडि एउटा खुम्चिएको कागजको पाना फैलाएर ऊ लेख्न बस्यो । पहिलो अक्षर कोर्नुभन्दा अघि उसले धेरै पटक डराउँदै ढोका र झ्यालतिर हेर्‍यो, भित्तामा रहेको अँध्यारो मूर्ति (भगवानको तस्वीर) तिर पुलुक्क हेर्‍यो, जसको दुवैतिर जुत्ताका फर्माहरू राखिएका दराजहरू थिए, र लामो सुस्केरा हाल्यो । कागज बेन्चमा राखिएको थियो र ऊ आफैं त्यस बेन्चको अगाडि घुँडा टेकेर बसेको थियो ।

“मेरो प्यारो बाजे ! कोन्स्टान्टिन माकारिच !” उसले लेख्यो, “म तिमीलाई यो चिठ्ठी लेख्दैछु । म तिमीलाई क्रिसमसको शुभकामना दिन्छु र भगवानसँग तिम्रो भलोको प्रार्थना गर्दछु । मेरो न त बा छ, न त आमा नै, अब मेरो भन्नु नै तिमी मात्र हौ ।”

भान्काले आफ्नो आँखा अँध्यारो झ्यालतिर घुमायो, जहाँ उसको मैनबत्तीको प्रतिबिम्ब झल्किरहेको थियो । उसले स्पष्टसँग आफ्ना बाजे कोन्स्टान्टिन माकारिचको कल्पना गर्‍यो, जो जिभारेभ बाबुसाहेबको महलमा रात्रिकालीन पाले (चौकीदार) थिए । ६५ वर्ष उमेरका, होचा र दुब्ला, तर असाध्यै फुर्तिला र चञ्चल वृद्ध थिए उनी, जसको अनुहार सधैँ हँसिलो र आँखाहरू मातेका जस्ता देखिन्थे । दिउँसो उनी भान्साघरमा सुत्थे वा भान्छेनीहरूसँग ठट्टा-मजाक गर्थे । राती भने, एउटा ठूलो भुवादार ओभरकोट (तुलुप) लगाएर, हवेलीको वरिपरि घुम्दै आफ्नो काठको ढकढके (कोलोतुष्का) भित्ताहरूमा हिर्काउँदै, आवाज दिंदै महलको पहरेदारी गर्थे ।

उनको पछि-पछि टाउको झुकाएर काष्टान्का र ‘भ्युन’ नाम गरेका कुकुरहरूले पछ्याउन्थे । भ्युनको शरीर न्याउरी मुसा जस्तै लामो र रङ कालो भएकोले उसलाई त्यसो भनिएको थियो । यो भ्युन असाध्यै विनीत र मायालु देखिन्थ्यो, आफ्ना र पराया दुवैलाई समान रूपले विनम्र नजरले हेर्थ्यो, तर कसैले पनि उसलाई विश्वास गर्दैनथे । उसको नम्रता र विनम्रताको पछाडि अत्यन्तै कपटी र दुष्ट स्वभाव लुकेको थियो । कसैलाई थाहा नदिई बिस्तारै पछिबाट गएर खुट्टामा टोक्न, चिसो भण्डार (आइसबक्स) मा छिर्न वा किसानको कुखुरा चोर्न उसलाई कसैले जित्न सक्दैनथ्यो । कयौँ पटक उसको पछिल्लो खुट्टा भाँचिएको थियो, दुई पटक त उसलाई झुन्ड्याइएको पनि थियो र हरेक हप्ता मरेतुल्य हुने गरी कुटिन्थ्यो, तर ऊ सधैँ बाँच्थ्यो ।

“अहिले शायद बाजे गेटमा उभिएर गाउँको चर्चका चम्किला राता झ्यालहरूतिर आँखा खुम्च्याएर हेर्दै छन् होला । चिसोले गर्दा आफ्ना ऊनी जुत्ता (भालेन्की) भुइँमा बजार्दै नोकर-चाकरहरूसँग ठट्टा-मजाक गर्दै होला । उहाँको काठको ढकढके (कोलोतुष्का) कम्मरको पेटीमा बाँधिएको छ । उहाँ, जाडोले गर्दा हातहरू मुसार्दै, शरीर खुम्च्याउँदै र खित्का छोडेर हाँस्दै छन् होला ।”

“के हामी अलिकति सुर्ती सुँघ्ने कि ?” — उनी आइमाईहरूतिर आफ्नो सुर्तीको बट्टा सार्दै भन्छन् । आइमाईहरू सुँघ्छन् र हाच्छ्युँ गर्छन् । बाजेको खुशीको सीमा रहन्न, ठूलो स्वरले हाँस्छन् र कराउँछन् ।

जमेको नाक बल्ल खुल्यो …

कुकुरहरूलाई पनि सुर्ती सुँघ्न दिइन्छ । काष्टान्का हाच्छ्युँ गर्छे, आफ्नो थुतुनो बटार्छे र अपमानित महसूस गर्दै एकतिर लाग्छे । भ्युन भने, आफ्नो विनम्रता देखाउन हाच्छ्युँ गर्दैन र पुच्छर हल्लाइरहन्छ ।

निकै रमाइलो मौसम ! कञ्चन, ताजा र शान्त हावा, अँधेरी रात, सेता छानाहरू भएको पूरा गाउँ, घरका धुरीबाट निस्किरहेको धुवाँको सानो मुस्लो, तुसारोले चाँदी झैँ टल्किएका रूखहरू र हिउँका थुप्राहरू स्पष्ट देखिन्छन् । सारा आकाश खुशीले टिम्टिमाइरहेका ताराहरूले भरिएको छ, र आकाशगंगा यति सफा देखिएको छ कि मानौँ चाडपर्व अघि त्यसलाई धोएर हिउँले माझिएको होस्…!

भान्काले सुस्केरा हाल्यो, मसिदानीमा कलम डुबाएर फेरी लेख्न थाल्यो :

अस्ति नराम्रोसँग पिटाई खाएँ । मालिकले मेरो कपालमा समातेर आँगनमा घिसार्दै निकाले र मलाई छालाको पेटीले हिर्कायो, किनभने उनारुको बच्चालाई कोक्रोमा हल्लाउँदा-हल्लाउँदै म भुसुक्कै निदाएछु । अनि यो हप्ता मालिक्नीले मलाई ‘सेलेड्का’ माछा सफा गर्न लगायो । मैले पुच्छरबाट सफा गर्न शुरू गरेछु । उसले त्यो माछा समातेर त्यसको टाउको मेरो मुखैभरि कोचिदिएको थियो । अरू कामदारहरू मलाई जिस्काउँछन्, रक्सी किन्न भट्टीमा पठाउँछन् र मालिकको काँक्रो चोर्न लगाउँछन् । अनि मालिकले जे भेट्टायो त्यसैले मलाई कुट्छ । खानलाई त यहाँ केही पनि छैन ।

बिहान अलिकति रोटी दिन्छन्, दिउँसो जाउलो र बेलुका फेरि त्यही रोटी… चिया, सुपहरू हाम्लाई दिँदैनन्, मालिकहरू आफैं हसुर्छन् । मलाई भने दलानमा सुत्न भन्छन्, र जब उनीहरूको बच्चा रुन्छ, म पटक्कै सुत्न पाउँदिनँ, कोक्रो नै हल्लाएर बस्नुपर्छ । मेरो प्यारो बाजे ! भगवानको नाममा ममाथि दया गर, मलाई यहाँबाट घर, गाउँमा लगिदेऊ, अब यहाँ बस्न सक्दिन … म तिम्रो खुट्टामा ढोग्छु र सधैं भगवानसँग प्रार्थना गर्नेछु, मलाई यहाँबाट लैजाऊ, नत्र त म मर्नेछु…!”

भान्काले आफ्नो मुख बंग्यायो, आफ्नो मुठ्ठी कसेको फोहोर हातले आँखा मिच्यो र सुँक्क सुँक्क रुन थाल्यो ।

“म तिम्रो लागि सुर्ती माडिदिनेछु,” उसले लेख्दै गयो, “तिम्रो लागि भगवानसँग प्रार्थना गर्नेछु, र यदि केही गल्ती गरें भने मलाई जे सजाय दिए पनि हुन्छ । यदि तिमीलाई, मलाई दिने कुनै काम छैन जस्तो लाग्छ भने, भगवानको नाममा, म्यानेजरसँग जुत्ता सफा गर्ने काम माग्नेछु वा फेदकाको ठाउँमा गोठालोलाई सघाउन सक्छु । प्यारो बाजे ! म यहाँ अब पिटिक्कै बस्न सक्दिन, मरे तुल्य जस्तै छु । म पैदलै गाउँ भाग्न चाहन्थेँ, तर मसँग जुत्ता छैन र जाडोदेखि डर लाग्छ । जब म ठूलो हुनेछु, म तिमीलाई पाल्नेछु र कसैलाई पनि तिमीलाई दुःख दिनेछैन । अनि जब तिमि बित्छौ, म तिम्रो आत्माको शान्तिको लागि मेरी आमा पेलागेयाको लागि गरेको जस्तै प्रार्थना गर्नेछु ।”

“मस्को शहर ठूलो छ । यहाँ धनीका घरहरू छन् र घोडाहरू धेरै छन्, तर भेडाहरू छैनन्, यहाँका कुकुरहरू झम्टिहाल्ने खालका छैनन् । यहाँ केटाहरू, ‘तारा’ लिएर हिँड्दैनन् (क्रिसमसमा गाइने भजन) र चर्चमा गाउन कसैलाई अनुमति दिँदैनन् । एकपटक मैले एउटा पसलको झ्यालमा माछा मार्ने बल्सीहरू बेच्न राखेको देखें, ती धागोसहितका थिए र हरेक प्रकारका माछाका लागि थिए, धेरै राम्रा थिए । त्यहाँ एउटा यस्तो बल्सी पनि थियो जसले १६ केजीको माछा (पुदोभोय सोम) थाम्न सक्छ । अनि मैले यस्ता पसलहरू पनि देखें जहाँ मालिक कहाँ भए जस्तै अनेक खाले बन्दुकहरू राखिएका थिए, ती पक्कै पनि सय रूबल जतिका होलान्… मासु पसलहरूमा वनकुखुरा, तित्रा र खरायोहरू पाइन्छन्, तर ती कहाँ सिकार गरिन्छन् भन्ने कुरा पसलेहरू बताउँदैनन् ।

प्यारो बाजे ! जब मालिकहरूको घरमा क्रिसमसको रूख (योल्का) सजाइनेछ र उपहारहरू बाँडिनेछ, मेरो लागि एउटा सुनौलो ओखर लिएर मेरो हरियो सन्दुकमा लुकाएर राखिदिनुहोला । मैसाप ओल्गा इग्नात्येभ्नासँग माग्नुहोला र ‘भान्काको लागि हो’ भनिदिनुहोला ।”

भान्काले एउटा लामो सुस्केरा हालेर फेरि झ्यालतिर टोलायो । उसले सम्झ्यो — बाबुसाहेबहरूका लागि क्रिसमसको रूख काट्न, बाजे सधैं जङ्गल जानुहुन्थ्यो र नातिलाई पनि साथै लैजानुहुन्थ्यो । कस्तो रमाइलो समय थियो त्यो ! पाइतालामुनि बरफ चर्मराएको आवाजसँगै बाजेले पनि खुशीले त्यस्तै चर्मराएको आवाज निकाल्थे, भान्का पनि त्यस्तै आवाज निकाल्थ्यो । रूख काट्नुअघि मज्जाले सुल्फी तान्नुहुन्थ्यो, सुर्ती सुँघ्नुहुन्थ्यो र जाडोले कामिरहेको भान्कालाई जिस्काउँदै हाँस्नुहुन्थ्यो… तुसारोले ढाकिएका साना सल्लोका रूखहरू कुन चाहिँ काटिने हो भनेर चकमन्न परेर कुरिरहे जस्ता देखिन्थे । अचानक हिउँमाथिबाट एउटा खरायो फुत्त उफ्रेर भाग्थ्यो… अनि बाजे चिच्याउँदै भन्थे :

‘समात्, समात्… समात् ! त्यो बुच्चे बदमासलाई !’

काटेको (योल्का) रूख, बाजेले घिसार्दै बाबुसाहेबको घरमा ल्याउँथ्यो, अनि सबै मिलेर त्यसलाई सजाउन थाल्थे… त्यति बेला भान्कालाई असाध्यै मन पर्ने मैसाप ओल्गा इग्नात्येभ्ना सबैभन्दा धेरै खटिनुहुन्थ्यो । भान्काकी आमा पेलागेया जीवित छँदा, बाबुसाहेबको महलमा भान्सामा काम गर्थिन । ओल्गा मैसापले भान्कालाई किसिम किसिमका मिठाई दिनुहुन्थ्यो । आफ्नो गर्ने काम केही नभाकोले मैसापले भान्कालाई पढ्न, लेख्न, सयसम्म गन्न र काड्रिल नाच्न समेत सिकाउनुभएको थियो । तर जब पेलागेया बितिन्, टुहुरो भान्कालाई महल बाहिरको भान्छाघरमा हजुरबासँग बस्न पठाइयो, अनि पछि त्यहाँबाट मस्कोस्थित मोची अल्याखिनकहाँ पठाइयो…

“मेरो प्यारो बाजे ! जसरी भएपनि मलाई लिन आउनु है,” भान्काले लेख्दै गयो, “भगवानको नाममा बिन्ती गर्छु, मलाई यहाँबाट लगिदेऊ । म अभागी टुहुरोलाई दया गर, यहाँ सबैले मलाई कुट्छन् । खाना दिंदैनन्, एक्लो भाको छु, म सधैं रोइरहन्छु । अस्ति भरखर मालिकले, जुत्ता बनाउने साँचो-काठले मेरो टाउकोमा हिर्कायो, म त थचक्कै बसें, मुस्किलले होस आयो । मेरो जीवन त कुकुरको भन्दा पनि खत्तम छ … अनि एलेना, कानो इगोर र ड्राइभर दाइलाई मेरो सेवा ढोग भनिदिनू । मेरो बाजा (हार्मोनियम) चाहिँ कसैलाई नदिनु है ।

-तिम्रो नाती इभान जुकोभ। प्यारो बाजे !, पक्कै आउनु है ।”

भान्काले त्यस पानालाई चार पटक दोबार्‍यो र अघिल्लो दिन एक पैसामा किनेको खामभित्र राख्यो… एकछिन सोचेपछि उसले कलम मसीमा डुबायो र ठेगाना लेख्यो:

गाउँमा, बाजेलाई ।

त्यसपछि उसले टाउको कन्यायो, अलिबेर सोच्यो र थप्यो: “कोन्स्टान्टिन माकारिचलाई ।” कसैको पनि रोकटोक नभई चिठ्ठी लेख्न पाएकोमा खुशी हुँदै उसले टोपी लगायो र कोट समेत नलगाई, कमिजकै भरमा सुत्त बाहिर दौडियो…

अघिल्लो दिन मासु पसलेहरूलाई सोध्दा उनीहरूले भनेका थिए— चिठ्ठीहरूलाई पत्रमन्जुसा (लेटर बक्स) मा खसाल्नुपर्छ, अनि त्यहाँबाट मातेका चालकहरूले घण्टी बजाउँदै घोडागाडीमा चढाएर संसारभरि पुर्‍याउँछन् । भान्का दौडिँदै पहिलो लेटर बक्स भएको ठाउँमा पुग्यो र आफ्नो त्यो अनमोल चिठ्ठी बाकसको प्वालभित्र खसाल्छ ।

मीठो आशामा रमाएर ऊ एक घण्टापछि नै गहिरो निद्रामा पर्‍यो… उसले सपनामा एउटा पेच्छका (ठूलो अग्लो चुह्लो) देख्यो । चुह्लोमाथि बाजे खाली खुट्टा झुन्ड्याएर बसेका थिए, भान्छेनीहरूलाई त्यो चिठ्ठी पढेर सुनाउँदै थिए … चुह्लोको वरिपरि भ्युन् (कुकुर) पुच्छर हल्लाउँदै घुमिरहेको थियो …

कथाकार : आन्तोन चेखव -१८८६

उल्थाकार : ससांग लामा

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.