साहित्यपोस्ट डट कम

आमाको सपना र साहस बोकेको एउटा कविता

आमाको सपना र साहस बोकेको एउटा कविता

कविताको कुरा हुँदा कवि गोपालप्रसाद रिमाललाई छुटाइन्न । उनले नेपाली कवितालाई आधुनिकताको शिखर चढाएको हुनाले आज पनि रिमालको चर्चा उत्तिकै हुनेगर्छ । उनी नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । एक धारमा हिँडिरहेको साहित्यलाई उनले बेग्लै धारमा लौजान खेलेको भूमिका साँच्चै नै सम्झन योग्य छ ।

उनको चर्चा हुनु र भइरहनुमा उनले छन्द परम्परा तोडेर गद्य कविता लेख्नु नै मुख्य कारण हो । छन्द परम्परा तोडेकै कारणले उनलाई धेरैले क्रान्तिकारी कवि पनि भनेका थिए । आज हामी उनैको एक गद्य कविता प्रस्तुत गरेका छौँ:

‘आमाको सपना’

आमा, त्यो आउँछ र ?

“हो, बा, त्यो आउँछ ।

त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।

त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने

तिमी एक हतियार देख्नेछौ;

त्यसैले ऊ अधर्मसित लड्नेछ !

त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर

छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि

बढ्ता छोइने भएर आउँछ ।”

हो र आमा ?

“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा

त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;

तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि,

तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि,

तर त्यो मीठो गीतले तिमीलाई

आफ्नो बाँसुरी बनाएनछ !

त्यो तिमी नै हौला भन्ने

मेरो यौवनभरीको सपना थियो ।

जे होस् त्यो आउँछ

म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर

म भन्न सक्तछु,

त्यो आउँछ,

मैले यो कुनै अल्छी सपना देखेको होइन !

त्यो आएपछि तिमी यसरी

मेरो काखमा आएर घोप्टिने छैनौ;

सत्य कुरालाई तिमी यसरी

चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;

तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र

ग्रहण गर्न सक्ने हुनेछौ;

मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा

लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई

सान्त्वना दिँदै बिदा हुनेछौ;

मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल

मुसारिरहनुपर्ने छैन !

हेरौँला, त्यो हुरी भएर आउनेछ,

तिमी पात भएर पछयाउनेछौ !

उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा

सारा जडता सग्बगाएको थियो, बा,

त्यो आउनेछ, तिमी उठ्नेछौ !”

त्यो आउँछ कि आमा,

मधुर उषाले चराहरूको कण्ठलाई जस्तै

त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !

“हो, त्यो आउँछ,

त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।

अब म उठेँ, गएँ ।”

“तर त्यो तिमी नै हौला भन्ने

मेरो यौवनभरिको सपना थियो !”

(शारदा, वर्ष ९, अङ्क ७, कात्तिक, २०००)

“आमाको सपना” कवितासङ्ग्रह कवि रिमालको एक मात्र कवितासङ्ग्रह हो । यसमा २८ वटा कविताहरू सङ्कलित छन् । यसै कृतिबाटै २०१९ सालमा ‘मदन पुरस्कार’ जस्तो साहित्यिक सम्मान तथा पुरस्कार पाएका रिमालको यो कृति नेपाली साहित्यको लागि सञ्जीवनी नै हो भने पनि हुन्छ । माथि प्रस्तुत कविता उनको एकमात्र कविता सङ्ग्रहमा रहेको छ ।

राणाकालीन समयमा लेखिएको यस कवितालाई क्रान्तिको बिगुल फुक्ने कविता हो भनेर पनि चिन्दछन् ।

“आमाको सपना” एउटा साहस बोकेको कविता हो । यो कविता कुनै नारा होइन, क्रान्तिलाई डाकिएको विद्रोहको स्वर हो । यस कविताले राणा शासन विरुद्ध औँला उठाएको छ । नेपालको निसासिँदो राजनैतिक अवस्थाबाट वाक्क भएका कवि रिमालले उठाएको प्रश्न नै आमाको सपना कविता हो ।

मार्टिनको कलमबाट युरोपमा पोपविरोधी अभियान शुरु भएको थियो । यता चीनमा शिक्षक, साहियत्यकार र विचारकहरूलाई अझै पनि पुज्छन् । भारतीयलाई स्वतन्त्रताको पाठ सिकाउनको लागि भारतीय साहित्यकारको भूमिका अहम् छ । त्यसैगरी नेपालमा १०४ वर्षसम्म एकतन्त्रीय राणा शासनबाट नेपाल आमा र नेपाली जनतालाई मुक्त गराउन र राणाहरूको राजनैतिक तथा प्रशासकीय उपद्रोलाई ठीक पार्न, प्रजातन्त्रको स्थापना गर्न, अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नयाँ राजनैतिक चेतना तथा व्यवस्थाबाट उत्प्रेरित भएर लेखिएको कविता हो –“आमाको सपना” ।

कवि रिमाल द्रष्टा हुन्, संवेदनशील र सचेत कवि हुन् । राष्ट्रिय भावनाले ओतप्रोत उनी प्रगतिवादी तथा प्रतीकवादी कविको रूपमा परिचित छन् । ‘आमाको सपना’ कवितासङ्ग्रहमा तिनी प्रकृति प्रेमी, वैयक्तिक प्रेमी, यौनवादी र आशावादी देखिन्छन् ।

समालोचक डा. केशवप्रसाद उपाध्याय भन्छन्, “मानिसको मानसिक र भौतिक विकासका लागि उपयुक्त राजनैतिक वातावरण अपेक्षित हुन्छ । यस्तो अनुकूल परिस्थिति नभएमा मानव श्रम र प्रतिभा त्यसै ठिङ्गुरिएर खेर जान्छ । यसै सत्यलाई आत्माले अङ्गीकार गरेर कवि रिमालले राजनैतिक जागरण र चेतना फैलाउन कलमलाई जोतिदिए ।”

२००७ सालको क्रान्तिलाई लक्षित गरी लेखिएको उक्त कविताबारे डा. उपाध्याय घोषणा गर्दछन्, “तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ । कविको कल्पनाशक्ति यहाँबाट बुझ्न सकिन्छ । क्रान्ति अधर्मसँग लड्नेछ वा क्रान्ति खतरनाक हुनेछ ! यसले ऐतिहासिक कालखण्ड छुट्याउनेछ । यो व्यापक हुनेछ र यसले सबैलाई प्रत्यक्ष छुनेछ । हो, उनी २००७ सालको क्रान्तिप्रति विश्वस्त थिए ।

एउटा क्रान्तिकारी कविले लेखेको जस्तो नभएर क्रान्तिको बारेमा थाहै नपाएको व्यक्तिले लेखेको कविता जस्तो छ आमाको सपना । पुरुषलाई मात्र शक्तिशाली ठान्ने, पुरुषले मात्र क्रान्तिको शुरुवात गर्नसक्ने, नेतृत्व गर्नसक्ने, पुरुषले मात्र युद्ध, लड्न सक्ने ? कविताले प्रश्नहरु जन्माएको छ ।

सूर्य आउनु जति निश्चित छ, त्यत्तिकै निश्चित क्रान्तिपुरुष आउने कुरा छ । यहाँ क्रान्तिपुरुषलाई प्रतीकको रुपमा लिइएको छ । क्रान्तिपुरुष सपूत हुन् ।

“हेरौंला, त्यो हुरी भएर आउनेछ र तिमी पात भएर पछ्याउने छौ” को रूपमा यो कविता लेखिएको छ । यो यथार्थवादी विज्ञानसम्मत विचारधारा होइन । यो त अस्वस्थकर पुरुषवादी विचारधारा हो ।

आमालाई प्रत्येक पटक सन्तान जन्माउँदा कुनै सुपुत्र जन्मला र उसले आफ्नो दुःख सङ्कट हटाइदेला भन्ने आशा हुन्छ । त्यसैले प्रत्येक नवप्रसूत बालकलाई जन्माउना साथ उनी त्यो उही चिरप्रतिक्षित सन्तान हो कि भनेर मुखमा हेर्ने गर्छिन् । तर त्यो सन्तान पनि कपुतहरूकै लहरमा उभिने खालको देखेपछि उनको मन अवश्य नै दुःखी हुँदो हो । तर पनि “कुपुत्री जायेत कवचिदपि कमाता न भवति” झैँ त्यस सन्तानलाई उनी न सराप्छिन्, न त्यससित घृणा गर्छिन् । त्यसलाई काखमा राखी आगामी वीर सन्ततिको आशामा बस्छिन् । शिशुलाई पनि उज्यालो भविष्यको कथा सुनाउँछिन् । हाम्रो देशमा क्रान्ति पुरुषहरू नजन्मिउञ्जेल नेपाल आमाको स्थिति यही थियो । जस्तोसुकै विपत्तिमा धैर्य राखेर भविष्यको आशामा सन्तान जन्माइरहेकी नेपाल आमाको यस्तो सचिव चित्र हाम्रो अगाडि राखिदिने रिमाल कविको रुपमा कति वरेण्यु छन् ।’ सूर्यझैं उज्यालो छर्दै आउँछ, समेटेर आउँछ । सूर्य आउनु जति निश्चित छ, त्यत्तिकै निश्चित क्रान्तिपुरुष आउने कुरा छ । यहाँ क्रान्तिपुरुषलाई प्रतीकको रुपमा लिइएको छ । क्रान्तिपुरुष सपूत हुन् ।”

यसबाट प्रष्ट हुन्छ कि कवि रिमाल कति क्रान्तिचेत भएका कवि थिए भन्ने । सङख्यात्मक दृष्टिले थोरै कृतिहरू लेखे तापनि आफ्ना उच्चत्तम कृतिहरूका कारण गोपालप्रसाद रिमाल नेपाली साहित्यको ठूलो कवि र ठूला नाटककार हुन् । नेपाली साहित्यको श्रीवृद्धिमा उनको योगदान महत्त्वपूर्ण छ ।

(पहिलोपटक प्रकाशित मितिः भाद्र १८, २०७७)

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.