साहित्यपोस्ट डट कम

आफूभित्रको सौन्दर्य गजबले फुलिबस्दा

आफूभित्रको सौन्दर्य गजबले फुलिबस्दा

गत जनवरीको १० देखि १४ सम्म भावनायुक्त चित्रहरू प्रदर्शनीमा आयो । नेपाल आर्ट काउन्सिलमा भएको यो ब्लुम अफ द इनरशिप नामक कलाहरू डा. सविना श्रेष्ठको थियो । आफू स्वयं आँखाको डाक्टर । बाह्य आँखाले खोतल्न नभ्याएका अवयवहरू जब उनले भित्री आँखाले महसूस गरे अनि यी चित्रहरू यसैको प्रतिबिम्बको रूपमा जन्मन पुगेका हुन् । आफूभित्र पूर्ण सौन्दर्यका साथ फुल्नुको अर्थमा देखा परेका यी चित्रहरू भौतिक रूपमा भन्दा पनि भावनायुक्त रूपमा सौन्दर्यताले वशीभूत भएका देखिन्थे ।

अर्थात् मनभित्रका भावनाले मान्छेलाई कोट्याउन थालेपछि सिर्जनाहरू पनि कसरी फुर्न थाल्दो रहेछ । यसको ज्वलन्त उदाहरण अलि पहिले नेपाल आर्ट काउन्सिलमा देख्न सकिन्थ्यो । अहिले यो कला प्रदर्शनी त सकिसकेको छ । तर पनि जसले यी कलाहरूलाई अवलोकन गर्न भ्याए, सम्भवतः उनले अहिले पनि यसलाई राम्ररी स्मरण गर्न भ्याएका होला । जहाँ बगुन्द्रो किसिमकिसिमका चित्रहरू प्रदर्शनमा आएका थिए । अनगिन्ती चित्रहरूले भित्ताहरू भरिँदै गर्दा यत्रो विघ्न चित्रहरू यति व्यस्त मान्छेले कसरी गर्न भ्याए होला भन्ने चाहिँ जसकसलाई पनि लाग्यो होला ।

अझ उनले लेखेका कविताहरू, कति त पुस्तककै रूपमा पनि आइसकेका छन् । मनको स्पर्श, आफूलाई भुलाइ, अकथनको प्रतिध्वनि, जिन्दगी एक प्रश्नचिन्ह, सविना श्रेष्ठया चिनाखँ, एउटा जीवन छामेर हेर्दा, आदि आदि । अनि उनले गाएका गीत आदि हेर्दा त समयलाई राम्रैसँग व्यवस्थापन गर्न सिपालु पनि रहिछन् भन्ने लाग्छ । यसर्थ उनी गायक, कवि, चित्रकार, संगीतकार, डाक्टर नजाने के के हुन् । समग्रमा भन्दा थुप्रै कुरा हुन् भन्न पर्ने हुन्छ ।

कला मनको भाव नै हुँदा यसले समय जसरी पनि निकाल्दो रहेछ भन्ने लाग्दछ । वास्तवमै कलाहरू दीर्घामा देखिएपछि वा प्रदर्शनमा ओर्लिएपछि भावनालाई राम्ररी नै छाम्न सकिँदो रहेछ । मान्छेका भावनाहरू क्यानभासमा छताछुल्ल भएर पोखिँदा के के जातिका विम्ब बोकेर देखा पर्दा रहेछन् । हुन त भोगेका कुराहरू नै क्यानभासमा झर्दछन् । यसमा सत्यता पनि छ । तापनि बाह्य स्वरूपमा नबुझिने जस्तो भएर देखा पर्ने रहेछ । यो अर्को यथार्थ हो, फेरि । तर कल्पना जस्तो अनि कहीँ देखेको, सुनेको, भोगेको जस्ता आदि इत्यादिलाई डोर्याएर हिँड्ने भनेको यही भावना त रहेछ । उनका कविता वा कविताका पुस्तकमा पनि अर्को तिर कवितालाई सुहाउने गरी चित्रहरूले भरिएका हुन्छन् । वा उनी दृष्टान्तचित्रहरू पनि बनाउँछिन् । जताबाटै भए पनि भावना नै त बटुल्ने रहेछ । उनका चित्रहरू हेर्दै गर्दा यस्तै अनुभूति हुन्छ ।

उनका विशेष गरेर दृश्यचित्रहरू हेर्दै गर्दा प्रकृतिका हरेकजसो अवयवहरूलाई अचम्म प्रकारले सङ्गठित गरेको देखिन्छ । प्रकृतिका सबैजसो अवयवहरू आत्मसात् गरेको छ । तर पनि देखिँदा अलि नबुझिने जस्तो भएर देखा पर्दछ । यसकारण पनि कलालाई बुझ्न खोज्ने होइन, महसूस गर्नुपर्छ भन्न पनि थालिएको होला । जस्तो कि एउटा चित्रमा पारि सुनौलो परिदृश्य देखिन्छ । अनि अग्रभागमा चाहिँ श्वेतश्याम रूखहरू लस्करै बसेका देखिन्छन् । हुनुपर्ने रूखहरू हरिया छैनन् । तर पनि यी रुखै हुन् । आँखाले जेजस्तो देखे पनि मनले त यसलाई स्वाभाविक दृश्यचित्र नै देख्दछ । यही नै उनको खूबी पनि हो । वा अर्को चित्रमा ऐनाको गोलाकारबाट पारि हिमालका चुचुराहरूलाई अवलोकन गर्दै गर्दा पर हिमालजत्तिकै घरहरू पनि देखिन्छन् । दूरीको निर्वाह भइरहनुपर्छ जस्तो आवश्यकता नभएजस्तो । वा कलामा भावना कै बढी जोड चल्छ जस्तो । कल्पनामा बसेका यी अवयवहरू यसर्थ पनि यथार्थ छैनन् वा देखिँदैनन् । अनि कल्पनाले कुदाउँदा अचानकमा निस्केका यी चित्रहरू हुन् भन्नुपर्ने हुन्छ । यसैले त उनका चित्रहरू भावनाहरूले बढी चलखेल गर्ने गर्दछन् भन्नुपर्ने हुन्छ ।

सहृदय, अलि बोलिरहनुपर्ने, मीठो बोली बोल्ने सविना स्वयं पनि फूल जस्तै कोमल छिन् । स्वाभाविक रूपमा उनका कलाहरू पनि यसैको प्रतिफल हो भन्दा अतिशयोक्ति हुन जाने छैन । कलाकारले भावलाई कसरी चित्रपटमा उतार्छ, रङ र आकारहरूले भावलाई कसरी बोकेर देखा पर्दछन्, यसलाई अनुभव गर्न मन लागे यी कलाहरूलाई हेरे पुग्छ ।

यसो हुँदा पनि यी चित्रहरू प्रविधिगत भन्दा पनि बढी मात्रामा यस्तै यस्तै भाव–अभिव्यञ्जनाले छोपिएका देखिन्थे । मूलतः यी चित्रहरू प्राडा सविना श्रेष्ठले बनाएका हुन् । उनी डाक्टर हुन्, आँखाका डाक्टर । त्यो पनि बालबालिकाका । यसो हुँदा पनि बालबालिकाको मनोविज्ञान उनको कलामा छिर्न भ्याएको छ । परोक्ष रूपमा बाल–मनोविज्ञान उनको कलामा छिरीबस्दा देखा परेको प्रभावलाई उनले आफ्ना कलामा राख्न भ्याएका छन् । झट्ट हेर्दा यौवनावस्थाका भावहरू ज्यादा परिलक्षित हुन्छन् । तापनि मानवको अन्तरहृदयको मर्मलाई समातेर बस्दा के बच्चा के युवा, सबैले महसूस गर्ने भावलाई उनले आफ्नो कलामा सर्लक्कै उतारेका छन् । यसैले गर्दा पनि मानवका अन्तरमनका कथाहरूलाई उनका कलामा मज्जाले समाउन सकिन्छ ।

उनको कलामा खोलानालाको कलकलदेखि फूल र प्रकृतिसँग रमाउँदै गरेको परिदृश्य देखिनु पनि स्वाभाविक देखिन्छ । फूलैफूलका अनगिन्ती चित्रहरूले सौन्दर्यलाई यथेष्ट रूपमा छर्न भ्याएको छ । फूलभित्रै अचानकमा गणपति आफै समायोजन हुँदै, बस्दै गरेको अलौकिक चित्रहरू पनि यहाँ देख्न सकिन्छ ।

फूल स्वयं पनि भगवानको रूप हो । फूल र गणपतिको एकाकारले भक्तले भक्तिभावका साथ एकाग्र भई लीन भएजस्तै फूलमा पनि यसरी लीन हुन सकिन्छ भन्ने अर्थ पनि निस्कन्छ । यो अलि अस्वाभाविक कला संयोजन जस्तो लाग्न सक्छ । तापनि कलाकारको भावको हस्तक्षेप नभएर के हो त ? भन्ने चाहिँ लागिरहन्छ । अर्को एउटा चित्र छ जुन चाहिँ फूलको लहरालाई सङ्गालेर यौवनमा उन्मुक्त महिलाले सिङ्गारको प्रतिबिम्ब बन्न खोजेकी देखिन्छन् । फूलसँग तुलना गर्दै उनी पनि फूल जस्तै बन्दैछन् । आदि इत्यादिको कल्पना अनि यस्तै यस्तै कलागत संयोजनले पनि उनका कलाले भावकलाई आकर्षण गरेको देखिन्छ ।

अर्थात् सौन्दर्यमाथि भक्तिभावको यो अनौठो परिकल्पना उनका चित्रमा यथेष्ट रूपमा अवलोकन गर्न सकिन्छ । अझ यसमाथि उदाएकोले सौन्दर्यगत वितृष्णाहरूलाई पनि उनले पस्केका छन् । यस्तै यस्तै अनेक प्रकारका चित्रहरूले भावकहरूलाई राम्ररी नै समातेको देखिन्छ । यसो हुँदा पनि बगुन्द्रो भावकहरू उनका चित्रमा रमाएर अवलोकन गरिरहेको पनि देखिन्छन् ।

अर्को एउटा चित्र छ, जहाँ पहेँलपुर फूलैफूलहरूले झ्यालढोका टम्मै ढाकेर बसेका दृश्य देखिन्छ । अनि उनका चित्रमा फूलैमाथि परीहरू नाच्दै रमाइलो गरिरहेको परिदृश्य पनि देखिन्छ । फूललाई नै केन्द्रमा राखेर अनेकानेक अवयवहरूलाई खेलाउँदै जानु पनि उनको अलग्ग विशेषता देखिन्छ । शिल्प–दक्षतालाई अलिकता थप हेर्नुपर्ने चाहिँ हुन्छ । तापनि मनभित्रको अथाह आवेगलाई जसरी उनी लिँदै अगाडि बढ्छन्, यो चाहिँ उनको खूबी नै हो । यसको साथै उनका कलामा मनका आकाङ्क्षाहरू पनि लोभलाग्दा भएर बसेका देखिन्छन् । हरिया पातहरूले घेरीएका सेता कोमल फूलहरू अझ आकर्षक भएर उदाएको देखिन्छ । चित्रपटभरि टम्म भएर बसेका यी ठूला अजङ्गका फूलहरू लोभलाग्दा भएर देखा परेका छन् । यस्तै यस्तै अनेकानेक फूलका चित्रहरू अनि यसैमा आध्यात्मिक चिन्तन आदि इत्यादिले वास पाउँदा पनि उनका यी चित्रहरू रमाइला देखिन्छन् । उनलाई फूलले किन यतिमात्रमा लोभ्यायो होला ? एउटा अलग्ग प्रश्न त छँदैछ । रङको बिगबिगी उनको अर्को विशेषता हो । उनका रङ्गीबिरङ्गी दृश्यचित्रहरू पनि यहाँ अवलोकन गर्न सकिन्छ । यी यथार्थ देखिँदैनन्, कतै प्राकृतिक दृश्यचित्र बगैँचा जस्तो भएर अनि कतै जंगल सपनामा देखेजस्तो देखिन्छ । आदि इत्यादि प्रकृति पनि उनकै भावनाले बनाइबस्दा चाहिँ थोरै अनौठो देखिन्छ । अधिकांश कपीवर्क पनि होला, तापनि कपीजस्तो पनि नभएर उनकै कल्पनामा दगुरेका देखिन्छन् ।

उनलाई कतैकतै आध्यात्मिक देव–देवीले पनि गहिरो प्रभाव पारेको देखिन्छ । यसो हुँदा सौन्दर्यको अनुभूति प्रवाहित गर्दागर्दै पनि देव–देवीहरू अचानक झुल्कनु पुग्नु अझ चाखलाग्दो पाराले संयोजन भएको देखिन्छ । अझ एउटा देव–गणेशको घतलाग्दो चित्र छ, जहाँ तल अग्रभागमा ब्राह्मण पूजा–होममा व्यस्त देखिन्छन् । जपमन्त्र मधुर ध्वनि बन्दै आकाश उदी स्वर्गतर्फ लागिरहेको दृश्य पनि देखिन्छ । अनि माथि देव–गणेश कौतूहलका साथ विराजमान देखिन्छन् । यो अनौठो स्वैर काल्पनिक कथा उनले निर्माण गर्दै गर्दा उनले लेखेका कविताहरूको याद आउँछ । किनकि उनी राम्रा कवि पनि हुन् । धर्म–संस्कारमा आम मान्छेको आस्था, विश्वास अनि यो एउटा अर्कै प्रकारको सौन्दर्यलाई प्रत्याभूत गराउनुले पनि उनका कलाहरू एक अलग्ग पाराले झल्कन पुगेका देखिन्छन् ।

अबोधपन, निस्वार्थ अनि आफूलाई जता कुद्न मन लाग्यो उतै कुदीबस्न मन पराइबस्ने बालबालिका वा युवा अवस्था टेक्नै लागेका युवा–युवतीका चञ्चलता, सरलता, सहजता पनि उनका कलामा छाम्न सकिन्छ । युवा–युवतीका थुप्रै चित्र यो प्रदर्शनीमा प्रदर्शित छन् । ती चित्रहरूमा युवा अवस्थाको बेलामा घुमिबस्ने रहर बोकेका युवाहरू जताततै फैलिएर बसेका देखिन्छन् । सुन्दर बगैँचामा एकान्तमा रमाउँदै गरेको युवा जोडिलाई पनि उनको कलामा देख्न सकिन्छ । मनभरी दुःखकष्ट झेली आँखाभरी आँसु बगाइरहेका युवतीहरू पनि उनको कलामा उदाएका छन् । कति ठाउँमा त बालबालिकाको अबोधपनकै अभिव्यञ्जना छताछुल्ल पोखिएजस्तो देखिन्छ । अनि बालबालिका स्वयं अहम पात्रको रूपमा उभिएका चित्रहरू पनि देखिन्छन् । बालबालिकाकै रङ र रेखाहरू पनि उनको चित्रपटमा ओर्लन भ्याएको देखिन्छ । अलिकता अपूरो जस्तो लोककलाको विशेषताले छोएजस्तो पारामा उनका कला बन्दै गर्दा पनि मूलतः यी जम्मै कलाहरू चाहिँ आधुनिक कला नै हुन् । किन पनि भने यसमा उनका मनका आवेग, अनुभव अनि सुख र दुःखका अनेकानेक अवयवहरू परिलक्षित भएका छन् । यी र यस्तै यस्तै कलागत संरचनाले भरिएका चित्रहरू केही होइन, छैन भन्दा भन्दै पनि बाल–मनोदशाका, युवा मनोदशाका अनेक पाटाहरूलाई उजागर गरेजस्तो पनि महसूस हुन्छ । यही नै उनको कलागत विशेषता पनि हो ।

निक्यौलमा भन्नुपर्दा

उनी साहित्यकार पनि हुन् । यसो हुँदा उनका चित्रमा कवितात्मक लय बगेको पनि देखिन्छ । कलाको भौतिक स्वरूपमा लय बगेको त्यति देखिँदैन तर महसूस हुने गरी उनका कलालाई लयले समातेको चाहिँ देखिन्छ । उनी गायक हुन् । अर्थात् उनी थुप्रै कुराहरू हुन् । एउटै व्यक्तिमा यति धेरै गुण, शिल्पी क्षमता, प्रतिभा हुनु–रहनु पनि दुर्लभ नै मानिन्छ । यसअर्थले गर्दा पनि उनी पृथक देखिन्छन् । यसो हुँदा पनि उनीमा व्यस्तता त छँदै होला । तापनि यत्ति विघ्न चित्रहरूको सिर्जना गर्नु चाहिँ कलामा निमग्न भएर लागेकै मान्न पर्छ ।

उनैकै अनुसार पनि गत चार वर्षमा गरेका यी कामहरू हुन् रे । अर्थात् पहिलो एकल कला प्रदर्शन गरेलगत्तै उनले अर्को प्रदर्शनीका लागि कला बनाउन सुरु गरिहालेको भन्ने बुझ्न सकिन्छ । यो एउटा निरन्तरताको मोहले गर्दा पनि उनका कलामा यथेष्ट मात्रामा भावना बगेको देखिन्छ । यसर्थ पनि थुप्रै कलाहरू अर्थात् १२५ वटा चित्रहरू प्रदर्शनी कक्षमा प्रदर्शन भइराख्दा भावकमा अनौठो अनुभूतिले समात्छ ।

आफैभित्रको पूर्ण सौन्दर्य अर्थात् यौवनावस्थाको सौन्दर्यलाई सम्हालेर प्रस्तुत भएका चित्रहरू साँच्चै पनि एक तमासका देखिन्छन् । शान्त वातावरणमा थोरै मान्छेको हुलहालमा सम्पन्न भएको यो कार्यक्रममा कलाको चर्चा चाहिँ राम्रै रूपमा भयो । यो उनको दोस्रो एकल कला प्रदर्शनी हो । पहिलो कला प्रदर्शनी चाहिँ चार वर्ष अगाडि यही भएको थियो । एकल कला प्रदर्शनीमा रमाएका सविना मनमा एउटा भावनाले समाएपछि यसलाई पोखिहाल्न क्यानभासको अगाडि बसिहाल्छिन् अनि हेर्दाहेर्दै एउटा कलाले जन्म लिन्छ । यो उनको कलागत स्वभाव रहेछ ।

यथार्थदेखि अमूर्ततासम्म कलागत शैलीमा काम गर्ने रहर बोकेका सविनाले एउटै विषयलाई समाएको भने देखिँदैन । यसर्थ पनि हिजो चलनचल्ती हुने गरेको प्रवृत्ति उनको कलामा देखिँदैन तापनि आफ्नै ढङ्गले आफू जता जान मन लाग्छ वा जे बनाउन मन लाग्छ उतैतिर लागिपर्दा पनि किसिमकिसिमका चित्रहरू देखा परेका हुन् । कलाकारको एउटा अलग्ग प्रकारको स्वभाव हो । उहिले उहिले नेपालमा आधुनिक कलाले प्रवेश पाइसकेपछि पनि औपचारिक कलाका प्रवेश नलिएका कलाकारहरू यसरीनै एउटै विषयमा लाग्दैनथे । हिजोआज चाहिँ कलाकार स्कूलहरूले मेन्टोरिङ गर्ने चलन बढेको छ । यसो हुँदा पनि एउटै विषयमा बढी खोजतलास गर्ने गर्दछन् । तापनि कला भनेको त कला नै हो, जसरी गरे पनि मनका भावलाई क्यानभासमा उतार्न कलाकारलाई छुट छ । यसो हुँदा पनि यी सबै कलाकारहरू अलग अलग धारमा देखा परेका हुन् ।

दृश्यचित्र, अनि व्यक्तिचित्रदेखि कम्पोजिसनलाई पनि एउटै लयमा समात्न पुग्दा उनका हरेकजसो चित्रले अलग अलग स्वाद दिन्छन् । अनि भावले अलग अलग स्वादलाई रसस्वादन गर्ने कला बनाइदिन्छ । उनका चित्रहरूले मनमा उठेका अनेक भावलाई समात्दा कलागत संयोजन पनि पृथक रूपमा देखा पर्दछ । यी आदि इत्यादि नै उनका कलागत विशेषता हुन् ।

कलाकार, कला समीक्षक

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.