कुनै पनि व्यक्ति स्मृतिमा आउँदा ऊ मात्रै आएको हुँदैन । ऊसँगै अरू धेरै कुरा स्मृति बनेर आउने गर्छन् । उसप्रति आफूले बनाएका धारणादेखि लिएर ऊसँग सम्बन्धित घटनाहरू सबै आउँछन्, एकपछि अर्को गरी आउँछन् । ती केही अमूर्त भाव भएर आउँछन्, केही वस्तुकरण भएर आउँछन्, जेहोस् आउँछन् । यदि कोही व्यक्तिप्रति त्यसरी स्मृति आउँदैन भने बुझ्नूस् कि उसलाई सम्झिनु पर्ने कुनै कारण रहँदैन । त्यसरी कारण नरहनु भनेको उसलाई सम्झिनु पर्ने कुनै विशिष्टता नहुनु हो ।
म अहिले साहित्यकार पोष चापागाईंलाई सम्झिनुको कारण खोज्दै छु । उनलाई सम्झिँदा केही पटकको भेटघाट स्मरणमा आउने गर्छ । परन्तु यतिखेर त्यो भेटघाट सम्झिनु मेरो लक्ष्य होइन । अरू नै केही कारण छ । विशेषतः उनलाई उनको लेखनका; मूर्त अमूर्त भावहरूमा सम्झिन चाहन्छु । त्यस्तै उनको लेखन शैलीलाई सम्झिन चाहन्छु ।
विशेषतः म साहित्यकार चापागाईंलाई नियात्रा लेखनमा एकदम रुचि भएका; स्रष्टाका रूपमा ज्यादा चिन्ने गर्छु । हुन त उनका वाङ्मयिक विशेषता अरू पनि छन् । त्यस्तै लेखन विधा पनि । नियात्रा सँगसँगै उनी आफू हाइकु पथको अनुयायी स्रष्टाका रूपमा चिनिन चाहन्छन् । त्यसैको प्रभावमा हुन सक्छ उनको प्रस्तुति शैली बेग्लै लाग्छ । उनको विचलनयुक्त सरल छोटा वाक्यमा; काव्यिक लय भेटिन्छ । कतिपय अवस्थामा उनको एउटै शब्दले वाक्यलाई पूर्णता दिन्छ । साहित्य लेखनमा भाषा तथा शब्दको प्रयोग मितव्ययी तरिकाले हुनुपर्छ भन्ने उनको प्रमुख धारणा रहेको छ ।
नियात्रा लेखनमा स्रष्टा चापागाईंको आफ्नै सिद्धान्त छ । सूचना, कला र संवेगको सन्तुलित संयोजनमा उत्कृष्ट नियात्रा सिर्जिन्छ भन्ने उनको मान्यता छ । यी तीन तत्त्व बेगरको नियात्रा केवल यात्रा वर्णन हुनेछ भन्ने उनको धारणा छ ।
अवकास प्राप्त पछिल्लो समय यात्रामा निस्किएर; साहित्यकार चापागाईंले जीवनलाई रमाइलो बनाउने प्रयास गरेका छन् । जेहोस् उनी रमाउन जान्ने खालका छन् । जीवनलाई यात्रामय बनाई; त्यस यात्रालाई भाषामा रूपान्तरण गर्न उनी खप्पिस छन् । अन्ततः भाषामा अनूदित भई उनका यात्राले नियात्राको स्वरूप धारण गरेका छन् । देश विदेशका गरी अहिलेसम्म उनका बाह्रवटा नियात्रा प्रकाशित भइसकेका छन् । त्यस्तै अन्य विधाका आठ कृति पनि प्रकाशित छन् । उनका केही कृतिमाथि शोधकार्य पनि भएका छन् ।
यतिखेर म उनको पछिल्लो कृति ‘सेतो मृग’सँग सम्बन्धित भई समीक्षाजस्तो केही लेख्दै छु । नेपालका विभिन्न जिल्लाको यात्रा समेटिएको प्रस्तुत कृतिमा विशेषतः धार्मिक, सांस्कृति, ऐतिहासकि तथा प्राकृतिक दृष्टिकोणले प्रसिद्ध ठाउँहरू रहेका छन् । जस्तो मुगु, हुम्ला, सुर्खेत, बर्दिया, नुवाकोट, रसुवा, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, लमजुङ, तनहुँ बाग्लुङ, कास्की लगायत धेरै जिल्लाका भ्रमणीय स्थलहरू समाविष्ट छन् । त्यस्तै काठमाडौँ नजिकैका पर्यटकीय स्थल पनि ।
स्रष्टा चापागाईंको नियात्रामा केही बेग्लै विशेषताहरू रहेका छन् । उनले आरम्भमै यात्राको उद्देश्य, पुग्नु पर्ने गन्तव्य जस्ता कुरा सूचित गराई; पठन छनोटको सुगमता सिर्जना गरेका छन् । त्यसो गर्दा पाठकले आफ्नो रुचि अनुसार पठन छनोट गर्न सक्छ । कृतिको अभिप्राय जान्न उसले अन्त्यसम्म पर्खिरहनु पर्दैन । त्यस्तै अर्को कुरा के पनि छ भने त्यस ठाउँ विशेषको जानकारी लिन उसले सिङ्गै आलेख अध्ययन गर्नु पर्दैन । आफूलाई चाहिएको कुरा मात्रै उसले अध्ययन गर्न सक्छ । खण्ड, उपखण्ड र कतिपय ठाउँमा बुँदागत शैली अपनाइएको हुँदा पाठकलाई त्यो सुविधा प्राप्त छ ।
प्रकृतिप्रेमी लेखक । यात्रामा उनले प्रकृतिलाई विशेष ध्यान दिएका छन् । यसै सिलसिलामा उनको एउटा यस्तो धारणा छ— सिङ्गो नेपाल चिनाउन सबै राष्ट्रप्रेमी नियात्राकारले देश दर्शन गर्नुपर्छ । स्वदेशको नियात्रा लेखिनुपर्छ । अमेरिका, अष्ट्रेलियाजस्तो समृद्ध मुलुकको प्रशंसा गरिएको साहित्यले नेपाल र नेपालीको श्रीवृद्धि हुनसक्दैन । हामीले आफ्नै गौरव लेख्नुपर्छ । आफ्नो गौरव निर्माण गर्दै जानुपर्छ ।
‘सेतो मृग’का प्रायः सबै यात्राहरू समूहमा गरिएका छन् । सरल स्वभावका लेखक; उनी एक अबोध बालकजस्तै निष्कपट लाग्छन् उनका सिर्जनामा । त्यसैले उनी निर्बाध रमाउन सकेका छन् । कुनै काम विशेषले नभई घुम्नकै लागि गरिएका उनका यात्रा प्रायः प्रकृतिकेन्द्री रहेका छन् ।
नियात्रामा अनावश्यक गन्थनबाट लेखक मुक्त छन् । विषयलाई नतन्काई संक्षिप्त हुनुपर्छ अर्थात् पाठक मैत्री हुनुपर्छ भन्ने उनको अभिप्राय छ । उनको कृति पढ्दै गर्दा यस्तो लाग्छ जीवनलाई यति बिघ्न माया गर्ने मान्छे कम्ती नै हुन्छन् होला । यहीँनेर मेरो एउटा बुझाइ छ, जीवनप्रति मान्छे जति धेरै आसक्त हुन्छ त्यति नै धेरै काँतर हुन्छ, शायद । जीवनसँग लेखकको कति धेरै आसक्ति छ भने नि ! उनी बरु ट्वाइलेट नगई खपेर बस्न सक्छन् । तर पनि त्यो ट्वाइलेट जान उनलाई मन हुँदैन । किनकि त्यो ट्वाइलेट भीरमा टाँसिएको छ । त्यस्तै यात्रामा कुनै सङ्कटको परिस्थिति आउन खोज्यो भने उनलाई डर आइहाल्छ । त्यो आउँछ टर्छ भन्नेतिर उनको मन जाँदैन ।
हिजोआज विज्ञान प्रविधिले सुगम बनाउँदै लगेको जनजीवन भौतिक उत्कर्षमा छ । सम्पन्न मुलुकका नागरिक मङ्गल ग्रहमा बस्ती बसाउने योजनामा छन् । कृत्रिम सूर्य बनाउने चेष्टामा छन् । परन्तु हामी नेपालीहरू भने आज पनि उही गाँसबासको सङ्घर्षमा जुझिरहेको देख्दा बडो उदेकले छोप्छ । चापागाईंको कृतिमा त्यस्ता केही दृश्यले मन भरङ्ग हुन्छ । हेर्नु त आजको युगमा पनि हामी कस्तो जीवन बाँचिरहेका छौँ ? कालीकोटका ती दृश्यहरू आफैँ बोलिरहेका छन् । त्यहाँ कति धेरै विकटता छ, अभाव छ, गरिबी छ । त्यस कुरालाई दृश्याङ्कन गरी लेखकले निरीह देखिने जीवनबारे केही झल्को दिएका छन् ।
नियात्रामा लेखक जतिसक्दो पाठक प्रिय हुने चेष्टामा छन् । उनको पृथक् शैलीले त्यो बताउँछ । परन्तु उनको पृथकतालाई पाठकले कतिको मन पराउँछ; त्यो उनको विषय होइन । विषय त उनको केवल लेख्नु हो, जति सकिन्छ कलापूर्ण बनाउने प्रयास गर्नु हो । उनी घरीघरी लेखनमा हास्य रस मिसाइरहन्छन् । उनका शब्द छनोट त्यसरी हसाउने खालका छन् । परन्तु त्यति प्रखर हास्य चेतले लेख्न खोजिएको भने होइन ।
त्यस्तै पाठकलाई नीरस हुनबाट जोगाउन उनले कहीँ कतै शृङ्गार रस पनि मिसाएका छन् । भिलेज हेरिटेज एन्ड रिसोर्टमा चिसोले आत्थु आत्थु पार्दा उनको मन छट्पटिँदै भन्छ, ‘म न्यानो खोज्दै श्रीमतीलाई खोज्छु । उनी मसँगै छिन् । छुन हुन्न । पानी बाराबार । किनकि त्यहाँ अरू दुई छन् । हामीजस्तै । मजस्तै न्यानो खोजिरहेका । म जन्म–जीवन–जरादेखि माथि उठेर अझ माथिमाथि जाँदैछु । तत्वमसिको मृदुङ्ग बजाउँदैछु … (पृ–१३) ।’
‘सेतो मृग’मा भ्रान्ति तथा स्वैरकल्पनाले बेलाबेला पाठकलाई द्विविधामा पार्छ । विश्वास गरूँ कि नगरूँको भ्रम सिर्जना गर्छ । त्यसरी भ्रम सिर्जना गर्न मिथकीय तथा वेद पुराणकालीन ती पात्र र परिवेश दृश्य बनेर आउँछन् अनि कहिले ऐतिहासिक पात्र र परिवेश । राराको सौन्दर्यमा लेखक स्वयं गहिरो भ्रान्तिमा छन् । त्यस भ्रान्तिभित्र कति गहिरा अर्थहरू लुकेका छन् ।
सुदूर पहाडी जीवन वास्तवमै कति कठीन छ । भू–बनावटले त्यसरी कठीन बनाएको छ । परन्तु त्यस कठिनतासँगै त्यहाँको प्राकृतिक सम्पदा भने कति मूल्यवान् ! गरीब देशको निरङ्कुश शासकले अझ पनि त्यस सम्पदाको महत्त्व बुझ्न सकेको छैन । नागरिक जीवनको कठिनतालाई केही सहज बनाउने चासो पनि ऊ राख्दैन । उसलाई केवल शासक हुन पाए पुगेको छ । जनतालाई सेवा सुविधा किन चाहियो ? सहजता किन चाहियो ? विकास किन चाहियो ? समृद्धि किन चाहियो ? ऊ समृद्ध भए पुगिगयो नि ! सम्पूर्णको सुविधा ऊ आफैँले भोग गरे भयै गयो नि !
यसरी देशको बेथितिले खिन्न भएको बेला; प्राकृतिक सौन्दर्यले उतिनखेरै खिन्नतालाई भुसुक्कै बिर्साइदिन्छ । तब मन केही पख्राउन खोज्छ । त्यस सौन्दर्यमा सर्जकको दृष्टि तीक्ष्णताले पनि यसो भएको छ, ‘नीलनयना मृदुमुस्कानवाली राराजति सुन्दरी युवती संसारभरि घुम्दा पनि भेटिन्न होला । रारातिर हेर्दै म घुटुघुटु थुक निलिरहेको छु । आहा ! अवर्णनीय परम सौन्दर्यवती सुकुमारी रारा … (पृ–१९) ।’
राराको यस्तो सौन्दर्य उपासना पश्चात् जुम्लाको यात्रा आउँछ । अनि काँक्रेविहार, बुलबुले ताल हुँदै सुर्खेत आउँछ । चन्दननाथ मन्दिर परिसर पुग्दा आश्चर्य लाग्छ । कहीँ काठको पनि घण्ट हुन्छ ? यस प्रसङ्गमा लेखकको वैचारिक मनस्थिति दार्शनिक हुन्छ, ‘… यो पूर्वेली बाहुनबाजे काठको घण्ट हेर्दाहेर्दै एकैपटक अजस्र कल्पनामा डुब्यो । के बज्छ ? के बज्दैन ? जे पनि बज्छ । जे पनि बज्दैन । बजाउन जान्नुपर्छ । काठको घण्टजस्तै हो मानव जीवन (पृ–२२) ।’
अब यात्रा राष्ट्रिय निकुञ्ज पुगिसकेको छ । बाटामा भेटिने स्थानीयहरूको मलिन अनुहार, झुम्रिएको शरीर, उत्साह विहीन जीवन देख्दा स्रष्टा मनमा उठेको भावना; लाग्छ यो हामी सम्पूर्ण नेपालीको भावना हो, ‘… हाम्रो गाउँमा बस्ने गाउँलेको जीवन पढ्नुहोस् । अनि भन्नुहोस् । सुन्दर भूमि र प्राकृतिक स्रोत भएका नेपालका जनतालाई कसले यति निरीह बनायो (पृ–३२) ?’
यथार्थमा हामी नेपाली कोही पनि निर्धन छैनौँ । निर्धनता त हाम्रो चेतनामा छ । यदि हाम्रो विचार निर्धन हुनबाट जोगियो भने आजैदेखि हाम्रो समृद्धिले गति लिने छ । समृद्ध हुन चाहने हाम्रो विचारले मूर्तता लिन थाल्नेछ । परन्तु हामी चाहँदैनौँ । यसरी चाहनु नचाहनुले हरेक कुरा निर्माण भएका हुन्छन् । वास्तवमा हामी हाम्रै चेतनाको प्रतिरूप बाँचिरहेका छौँ । हाम्रै चेतनाको मूर्ततामा हाम्रो परिवेश निर्माण भएको छ ।
अग्रगामी चेत लिएर बाँच्न; हामीले अझै धेरै अभ्यास गर्नु छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने सन्दर्भमा नेपाली र विदेशीबीच कति ठूलो भिन्नता देखिन्छ । पशुपक्षीको आरक्षण केन्द्रमा बाधा पुर्याउनु हुँदैन भन्ने नेपाली र विदेशीको अभिप्राय कति फरक फरक लाग्छन् । पशुपक्षीलाई बाधा पुर्याउँदा आफ्नो दृष्टिबाट ती भाग्ने छन् । तब अवलोकन प्रतिकूल हुनेछ । त्यही सोचेर हामी मौनता लिने गर्छौं । तर विदेशीहरू पशुपक्षीको हक हित गुम्न सक्छ भनेर त्यसो गर्छन्, सचेतता लिने गर्छन् । आखिर दुवैको लक्ष्य त मौन रहनु नै हो । परन्तु मौनताका अर्थहरू कति भिन्नभिन्न रहेका छन् । यही भिन्नताले नै जीवनका दृष्टिकोणहरू फरक परेका छन् ।
कृतिमा केही नियात्रा एकपछि अर्को गरी निरन्तर भएका छन् । केही दीर्घ अवधि पश्चात्का त केही एक दिने भ्रमणका नियात्रा रहेका छन् । लेखक टोली त्यस यात्रामा लमजुङ पुगेको छ । आफ्नो गाउँ ठाउँमा कोही यात्री भएर गएको पढ्दा बडो रमाइलो लाग्ने रहेछ । आफूले चिनेजानेको ठाउँ अरूले पनि चिन्दा खुशी लाग्दो रहेछ । यात्रीहरू डुम्रे हुँदै बेसीशहर जाँदैछन् । म उत्सुक हुन्छु । भ्रमण टोलीलाई लमजुङ कस्तो लाग्ने हो ? गन्तव्य पुग्ने सिलसिलामा एक दुई ठाउँको सन्दर्भ अलिक अस्पष्ट भएको लाग्छ । लेखकले बन्दीपुरदेखि बेसीशहरको दूरी नौ कि.मि. भएको बताएका छन् । शायद यो झुक्किएको गल्ती हुनुपर्छ । तर ठ्याक्कै दूरी कति छ त्यो त मलाई पनि थाहा भएन ।
जेहोस् आनन्द लाग्यो । स्रष्टा चापागाईंलाई लमजुङ मन परेछ । घले गाउँको आतिथ्यमा राम्रैसँग रमाएछन् । त्यसपछिको यात्रा आउँछ उच्च प्राकृतिक वैभव भएको बाग्लुङ कालिका परिसर । त्यस परिसरको अनुपम छटामा विभोर भई लेखक प्रकृतिको अनन्त आवाज सुन्न लाग्छन्, ‘ए मान्छे ! फोटो खिचेर, मन्दिर धाएर, बत्ती बालेर आफू पूर्ण भएँ नठान । आऊ, हामी हजारौँ वर्षदेखि नबोली, नहाँसी, फोटा नखिची, कुनै हत्याहिंसा नगरी उभिएका छौँ । केवल मानव हितका लागि । जन्मदेखि मृत्युसम्म हामी प्राणी मात्रको हित सोच्छौँ । अहित होइन । भोकै नाङ्गै, मौन बस्नुपरे पनि चिन्ता नगर । जीवन आफ्ना लागि होइन, अरूका लागि हुनुपर्छ (पृ–५६) ।’
लेखकलाई पढ्दै गर्दा थाहा पाउँछु उनमा गहिरो संवेदना छ । त्यसैले त प्रकृतिलाई उनी यसरी सुन्न सक्छन् । कृतिमा एक दुई आलेखको क्रमिकता भङ्ग भएको लाग्छ । जस्तो कि घले गाउँभन्दा पहिले बन्दीपुरको यात्रा राखिएको भए सिलसिला मिल्ने थियो । किनकि लेखक टीम बन्दीपुर हुँदै घलेगाउँ पुगेको छ । बन्दीपुरको यात्रा पढ्दा मलाई एक किसिमको ग्लानिजस्तो अनुभूति भयो । म त्यहीँ नजिकै भएर पनि बन्दीपुर पुगेको छैन । लेखकलाई एक दुई महीना डेरा गरेर त्यतै बसौँ जस्तो भएको छ । भनेपछि कति सुन्दर रहेछ त बन्दीपुर !
यात्रामा लेखकले जति सक्दो त्यस ठाउँ विशेषको जाति, समुदाय, जीवन र जीवन शैलीसँगै सामाजिक, सांस्कृति पक्षलाई पनि ख्याल राखेका छन् ।
मानिसको वर्तमान समय साँच्चै सुखद हुँदै आएको छ । विज्ञान प्रविधिले सहज बनाउँदै ल्याएको छ । परन्तु हामी सुखद अनुभूति गरेर जीवनको आनन्द लिनभन्दा बढी देखावटी जीवन बाँच्न अभ्यस्त भएका छौँ । त्यसैको परिणाम यन्त्रले हामीलाई रोबोट बनाउँदै लगेको छ । तब हामी अरूलाई देखाउनकै लागि बाँच्ने भएका छौँ । हाम्रो हरेक गतिविधिको अन्तिम आशय नै आफूलाई अरू समक्ष प्रदर्शित गर्नु भएको छ । यस कुराले दिक्क हुँदै लेखक भन्छन्, ‘फोटा ! हौ फोटा । वर्तमान युग भनेकै फोटाको युग हो भन्छु म । पानी छुँदा फोटा । पानी अर्चदा फोटा । दान गर्दा फोटा । स्नान गर्दा फोटा । हिँड्दा फोटा । ए कलियुग ! कति फोटा खिच्छस् (पृ–९६) ?’
लेखक चापागाईंले वर्णन गरेको धुन्चे पुग्दा; मलाई रसुवागढी जाँदाको आफ्नै यात्राको सम्झना भयो । भित्तामा टाँगिएको धुन्चे बजार देख्दा मलाई पनि त्यस्तै केही लागेको थियो जस्तो अहिले लेखकलाई लागेको छ । भीर कान्लामा कसरी अडिएको होला त्यो बजार ! कुनै कलाकारको चित्रकारिताजस्तो लाग्ने धुन्चे सम्झिँदा आँखामा पुनः त्यही दृश्य भएर आयो ।
साहित्यकार चापाईंलाई नेदेखको पाठकले निश्चय सोच्ने छ; उनी भर्खरको युवा स्रष्टा हुनुपर्छ । नक्कले स्वभावको निस्फिक्री मान्छे हुनुपर्छ । उनको लेखनमा त्यस्तो छवि झल्किरहन्छ । प्रत्क्षयतः उनी फेरि त्यस्तो लाग्दैनन् । लेखनमा भने उनी बडो बेफिक्रीका छन् । उनलाई त्यस दृश्यले फेरि उही दिनमा पुर्याइदिन्छ । लाग्यो मानिस त प्रायः अतीत स्मृतिमै बाँचेको हुने रहेछ । ऊ त्यही अतीतको ऊर्जाले परिचालित हुँदो रहेछ । बाटामा भेटिएको प्रेमिल जोडीले उनलाई पुनः आफ्नै यौवनको अनुरागमा फर्काइदिन्छ, ‘आफूले लभ खेल्दा त न पैसा थियो । न मोटरसाइकल । न रेस्टुराँ चहार्ने । अनुहार हेर्यो । हाँस्यो । हँसायो । सुन्यो । सुनायो । यत्ति । अचेलका लभखेलाइ र पुरानु प्रेमकथाको तुलना गर्छु म … (पृ–११०) ।’
हाम्रा वेद पुराण तथा धर्मशास्त्रमा वर्णित पौराणिक स्थलहरू आज पनि कुनै न कुनै किसिमले विशेष रहेका छन् । अहिले पनि कति ठाउँ उतिकै पूजनीय छन् । लाग्छ त्यस हिसाबले नेपाल भूमि आफैँमा एक पवित्र तीर्थस्थल हो । त्यस्तै अर्को कुरा के छ भने ती वेद पुराणमा उल्लेखित स्थानको विशेषता तथा महत्त्वको अवशेष अहिले पनि कुनै न कुनै रूपले बाँकी रहँदा लाग्छ; ती पौराणिक घटनाहरू यथार्थ नै थिए । सतीदेवीको दाहिने मुटु पतन भएको ठाउँ अहिले कागेश्वरी नामले परिचित भएको प्रसङ्गमा पुग्दा; ममा यस्तो तर्क आयो । विश्वकै ठूलो कागप्रतिमा बनाएर गिनिजबुकमा नाम लेखाइएको त्यो ठाउँ कस्तो होला ?
‘सेतो मृग’ पढ्दै गर्दा प्रस्तुत कृतिमा साहित्यकार चापागार्इं विशेषतः चेतनाले नियन्त्रित लेखक हुन् लाग्छ । उनका यी नियात्रा हार्दिकताभन्दा ज्यादा सचेतताले सिर्जिएका छन् । यसमा केही भावावेग थपिएको भए हार्दिक पक्ष पनि उतिकै सबल हुने थियो । हृदयमाथि मस्तिष्कले नियन्त्रण गरेको हुँदा कृति विश्वसनीयताको नजिक रहेको छ । पाठकले सन्देह गर्ने ठाउँ पाउँदैन । किन्तु अलिकति सन्देह गर्ने ठाउँ रहेको भए पनि कुनै आपत्ति हुने थिएन । आखिर सिर्जना भनेको त हृदय पक्ष उठेर केही भ्रान्ति उत्पन्न गर्नु पनि त हो । ती अक्षरहरूमा आवेग संवेग मिसिनु पनि त हो । सिर्जनामा विश्वास गरूँ कि नगरूँजस्तो स्थिति आउनु पनि राम्रै कुरा हो । आखिर जस्तै भावोत्तेजक स्थितिमा पनि स्रष्टा आधार विहीन त्यसरी उड्न सक्दैन । उच्च भावावेगमा, उत्तेजनामा, कल्पनामा पनि सत्य त बाँकी रहेकै हुन्छ । त्यसरी उड्न केही न केही आधार त चाहिन्छ नै । त्यस आधारलाई पक्डिएर त्यसमा संवेदना खन्याउँदा पनि सत्यता त जीवितै रहन्छ ।
अहिले यसरी संवेदनाको कुरा गरिरहँदा नियात्रा तथ्यपूर्ण नभए पनि हुन्छ भन्न खोजेको चाहिँ होइन । तथ्यलाई ख्याल राखेर आवेग संवेगलाई पनि केही सन्तुलनमा राख्न सकिन्छ भन्ने एउटा मान्यता व्यक्त गरेको मात्र हुँ । यति भन्दाभन्दै लेखक चापागाईंको सिर्जनामा संवेदनशील पक्षमाथि प्रश्न उठाउन खोजेको भने होइन तर कता कता हार्दिकता कम भएको लाग्छ । त्यति मात्रै ।
संवेदनाको कुरा गरिरहँदा उनको नियात्रामा भ्रान्ति तथा तन्द्रामा घट्ने स्वैरकाल्पनिक दृश्य तथा घटनालाई मैले भुल्नु हुँदैन । स्वैरकल्पना तथा तन्द्रा पनि संवेदनाकै एउटा पक्ष हो । तिनले पनि अन्ततः सत्यकै आभास दिएका छन् र त्यसमा केही न केही सत्यकै प्रतीकात्मक अर्थहरू रहेका छन् ।
आजका हामी नेपालीलाई ज्यादा विदेशकै मोह छ । त्यसो हुँदा हाम्रा सुन्दर पक्षहरू ओझेल पर्दै गएका छन् । हामीलाई आफ्नो सम्पदामा गौरव हुन छोडेको छ । त्यसैले चुनौती थपिएको छ । हाम्रो गौरवको परिचय सङ्कटमा परेको छ । त्यो सङ्कट तीव्र हुँदै गएको छ । यस्तो बेला ‘सेतो मृग’ले हामीलाई आफ्नो परिचयमा फर्काउन केही सहायता गरेको छ । धेरैजसो विदेशको नियात्रा लेख्दै आएका लेखक चापागाईं आज आएर भन्छन्, ‘नेपालका लोभलाग्दा ठाउँहरू धेरै छन् । ती ठाउँ पुग्न, हेर्न, घुम्न सत्कर्म गरेको हुनुपर्छ ।’
लेखनमा भरिसक्य संयम राम्रो कुरा छ । दृश्य र दृष्टिकोणलाई उनले समान प्राथमिकतामा राखेका छन् । कुनै एउटा दृश्य या विचारलाई जोड दिएर त्यसलाई विशेष नबनाई सप्पैलाई समान विशेष बनाएका छन् । यस्तो अवस्थामा पाठकले कुन कुरालाई बढी ध्यान दिने अनि कुन कुरालाई कम ध्यान दिने ? उसलाई ठम्याउन कठिन पर्छ । कृति पढ्दै जाँदा कुन दृश्य या घटनाप्रति प्रखर अवधारणा बनाउने ? त्यो अप्ठ्यारो कुरा छ । लेखकलाई कुन कुराले बढी छोयो भनेर हेर्ने आधार भनेको त्यस घटनाप्रति लेखकको संवेदना कस्तो छ ? त्यसले निर्धारण गर्ने कुरा हो । यहाँ लेखक समान संवेदनामा अभिव्यक्त भएका छन् ।
उमेरले मानिसलाई बिस्तारै धार्मिक बनाउँदै लैजाने रहेछ कि कुन्नि । परिपक्वताको एउटा चरण पार गरेपछि जस्तै नास्तिक मान्छे पनि आस्तिक हुन्छ भन्छन् । साहित्यकार चापागाईंमा मैले यस्तै केही परिवर्तनको महसूस गरेँ । ‘आनन्द’ नामक एक नियात्रा कृतिमा उनले आफूलाई नास्तिक भनाउन बडो रुचि राखेका थिए । तर ठ्याम्मै नास्तिक हुन पनि सकेका थिएनन् । परन्तु आस्तिक हुँ भन्न त उनलाई झनै मन परेको थिएन । त्यतिखेर उनी त्रिशङ्कुको स्थितिमा थिए । अहिले आएर ‘सेतो मृग’मा उनको नास्तिक स्वर केही मधुरिएको पाएँ । उनको स्वर आस्तिकतामा बलिँदै गएको लाग्छ । यद्यपि आस्तिक हुँ भन्न उनमा अझ केही दकस बाँकी नै रहेको छ । जेहोस् उनी अन्त्यसम्मा आस्तिक भइसकेका हुनेछन् ।
अर्को दिन नियात्राकार चापागाईं स्रष्टा पदयात्रामा निस्किएका छन् । छ सात जना लेखकहरू मिलेर साँखु हुँदै सुन्दरीजल पुगेका छन् । शीतल गिरी, भक्त राई, शान्ति सापकोटा, नेत्र एटम, डिल्ली सुवेदी, शशि पण्डित, टङ्क सुब्बाको समूह हिँडेरै त्यहाँ पुगेको छ ।
यात्रामा लेखक प्रायः प्रकृतिसँग संवाद गर्न मन पराउँछन् । रुखपात, खोलानालासँग उनको संवाद भइरहन्छ । एक ठाउँमा उनी रुख रोइरहेको देख्छन् । अर्को ठाउँमा पानी कुलकुलाइरहेको खोल्सो बोलेको सुन्छन्, ‘आज एक रात भए पनि यतै बस्नुहोस् । म कति मीठो गीत गाएर तपाईंहरूलाई सुनाउँछु । घर फर्किन नआत्तिनुहोस् । यो ठाउँमा जोकोही आइपुग्दैन । सत्कर्म गर्नेहरू मात्रै आइपुग्छन् (पृ–१७१) ।’
त्यस्तै अर्को यात्रा छ पनौती जाँदाको । लेखक अनि मनोचिकित्सक डा. अनन्त अधिकारी लगायतको एउटा ग्रुप त्यहाँ पुगेको छ । डा. अनन्त हप्ताको एक दिन आफ्नो मातृभूमिमा निशुल्क सेवा दिन गइरहन्छन् । उनको त्यो सेवा भाव देखेर निकै खुशी लाग्यो । उनी एक आदर्श पुरुष रहेछन् । सबैमा यस्तै केही सेवा भाव, मानवताको भाव जागृत हुने हो भने कस्तो हुन्थ्यो होला ! उनलाई मेरो हार्दिक नमस्कार छ । उनीबाट हामी सबैले ‘सेवा नै मानव धर्म हो’ भन्ने पाठ सिक्न आवश्यक छ । नेपालमा स्वास्थ्य सेवा व्यापारीकरण हुँदै गएको बेला उनी जस्तो आदर्श चिकित्सक फेला पार्नु बडो दुर्लभ कुरा लाग्छ ।
लेखक चापागाईंको नियात्रा कृतिमा त्यस्तै अर्का सम्झिन लायक पात्र छन् हरि मञ्जुश्री । नेपाली भाषा साहित्य तथा कला संस्कृतिको क्षेत्रमा उनको जुन योगदान छ, त्यस किसिमको योगदान सरकारको तर्फबाट हुन सकेको छैन । उनको लक्ष्य कति ठूलो छ । निजी प्रयासमा वाङ्मयिक अनुसन्धान केन्द्रको सपना देख्नु सामान्य कुरा होइन ।
कृतिमा लेखकका प्रायः सबै यात्राहरू रमाइला छन् । स्मरणीय छन् । त्यस्तै स्मरणीय छ सिन्धुपाल्चोक स्थित पाँचपोखरी थाङपालधाम गएको दिन । मनोज गजुरेल, देवीप्रसाद चापागाईं, अच्युत घिमिरे, प्रवीण जोशी, सुशीला मानन्धर, प्रेम गुरागाईं, नरेन्द्रराज पौडेल लगायतका व्यक्तित्व थाङपालधाम मा.वि. को स्वर्ण महोत्सवमा काठमाडौंदेखि गएका छन् । लेखकलाई जहाँ जाँदा पनि आफ्नो जन्मभूमि दिङ्लाको सम्झनाले छोइरहन्छ । उनी बडो स्वच्छन्द छन्, आफूलाई लागेको कुरा लेख्न ।
मानिस उमेरले पाको भए पनि अतीत स्मृतिले उसलाई कहिल्यै बुढिन नदिँदो रहेछ । केही ससानो उद्दीपक परिवेशले समेत यौवनको सम्झना गराउँदो रहेछ । त्यसैले त लेखक मन बेला बेला उत्ताउलिन खोज्छ । तब शरमको वास्ता नगरी त्यो मन निर्धक्कले बोल्छ, ‘धारोतिर मुख फर्काएर अधोवस्त्र मात्रै लगाएर नुहाउन ठिङ्ग उभिएकी देखिन्छिन् ग्रामीण षोडशी बाला । ढाड हामीतिर फर्काएकीले हामीले उनको रूपसोमरस पान गर्न पाएनौँ । ठगियौँ हामी पुण्यविहीनहरू । उनको पाउ, ढाड, शिरले भन्थ्यो पक्कै उनी मखमली हुनुपर्छ … (पृ–२२८) ।’
जीवनप्रति उनको एउटा प्रमुख धारणा छ । त्यो के भने जीवनमा उत्सव गर्न जान्नुपर्छ । परन्तु उत्सव पैसाले, उमेरले, रूपले प्राप्त हुने कुरा होइन । त्यो त आफैँले आर्जन गर्ने एउटा कला हो, जीवनको प्रमुख कला । जोसँग कला छ उसले मात्र उत्सव गर्न जान्दछ उनी यही भन्छन् । यस किसिमको कला आफूसँग भएकै कारण जीवन बोधको निष्कर्षमा उनले यस्तो दृष्टिकोण निर्माण गरेको हुनुपर्छ । जीवनको अनुभूतिमूलक धारणा बोलेको हुनुपर्छ ।
स्रष्टा चपागाईं उनी लेखक मात्र होइनन्, एक यात्री पनि हुन् । त्यसो त हामी सप्पै यात्री हौँ । यात्री हुनकै लागि त जन्म पाएका हौँ । के स्वयं जीवन पनि एक अविरल यात्रा होइन र ? परन्तु हामो बुझाइको यात्रा अलिक भिन्न छ । यात्री पनि भिन्न छन् जस्तो पोष गापागाईं छन् । उनीसँग देश विदेशका यात्रा अनुभूतिहरू धेरै छन् । यात्रालाई नियात्रा बनाउन पनि उतिकै जागरुक छन् । यात्रा उपासनामा उनको ठूलो शौख छ । उनका यी यात्राहरू आनन्द प्राप्तिका लागि गरिएका छन् ।
त्यसपछिको अर्को यात्रामा भ्रमण दल खोटाङको हलेसी महादेवको दर्शन गरी भेडेटार, धरान, फिक्कल हुँदै चतरालाई प्रमुख गन्तव्य बनाएर हिँडेको छ । यात्रामा कति–कतिखेर दृश्य तथा घटनाले छोइएर लेखक चिन्तनको गहिराइमा डुब्न पुग्छन् ।
मानिस जस्तै अधुनातन युगमा बाँचे पनि वास्तवमा उसलाई वर्तमान समयले सम्पूर्णतः निर्देशन गर्न नसक्दो रहेछ । ऊ त हजारौँ लाखौं वषदेखिको आदिमताले सञ्चालित हुँदो रहेछ । कस्तो अचम्म ! मरेर परमधाम भइसकेका पुर्खाले जीवित पुस्तालाई कसरी शासन भनौँ या मार्ग निर्देश गर्दा रहेछन् । मानिस जहिल्यै पुर्खाबाट शासित हुँदो रहेछ । विज्ञानले पनि यही भन्छ—हामी पुर्खाकै चेतनाको निरन्तरता हौँ । यो निरन्तरता त्यतिखेर मात्रै विखण्डित हुनेछ जतिखेर प्रलय भएर अर्को नव सभ्यताको उदय हुनेछ । निरन्तरतामा यदि अचानक कुनै विच्छिन्नताको सङ्केत आयो भने निश्चय त्यो खतराको पूर्व तयारी हुनुपर्छ । सृष्टि नित्य निरन्तरतामा मात्रै सम्भव हुनसक्छ । विखण्डनमा त्यसको अस्तित्व विलीन हुनेछ । त्यति मात्र होइन समाप्त नै हुनेछ ।
मानव मनोविज्ञानले यसरी अदृश्य चेतना बोकेर हिँडेको हुने रहेछ । मानव सृष्टि हुँदादेखिको चेतना हामीभित्र अझ पनि बाँचिरहेको छ । यतिसम्म कि हाम्रा ती बाँदर पुर्खाको स्वभाव हामीसँग अझै कायम छ । के अहिले पनि हामीसँग बाँदरको जस्तै उद्दण्ड चरित्र छैन र ? हामी बलजफ्ती मानव हुन खोजे पनि, उच्च आधुनिक जीवन भोगे पनि हामीभित्रको बाँदरीय प्रवृत्ति आज पनि उस्तै छ ।
निरन्तरतामा यसरी मानव चेतना थपिँदै बनिँदै जाने रहेछ । जगत् हर निमेष परिवर्तनशील भए पनि एकछिन अघिको परिस्थितिबाट टुक्रिएर ऊ भिन्न हुन नसक्दो रहेछ । ऊ प्रत्येक निमेषसँग जोडिएर मात्रै अघि बढ्न सक्ने रहेछ । अक्षुण्णताको सिद्धान्तले मात्रै अस्तित्वमा रहने रहेछ ।
आज आएर हामीले पुरातन सोचको जति विरोध प्रदर्शन गरे पनि, निर्मूल गर्न खोजे पनि हामीभित्र त्यसको प्रतिछायाँ निर्मूल हुन सक्दैन । त्यसको लागि धेरै युग खर्चिनु पर्नेछ । त्यसो त खर्चिए पनि त्यो अर्को रूपमा प्रकटित हुनेछ । यद्यपि समाप्तै भने हुने छैन । जस्तो उदाहरणकै लागि हेरौँ न हामी दास युगको अन्त्य भयो त भन्छौँ नै ! तर के दास युगको कहिल्यै अन्त्य छ ? बरु त्यसले नव संस्करणको रूप लिँदै आएको छ ।
‘सेतो मृग’मा यस्ता धेरै दृष्टान्तहरू फेला पर्दा उक्त प्रसङ्ग म यहाँ जोेड्दै छु । लाग्छ लेखकले आफूलाई जति परिष्कृत मानव ठहर्याए पनि; उनीभित्र उही अपरिष्कृत मानवले बास गरिरहेको छ अहिले पनि र त झस्किँदै एक ठाउँ उनले भनेका छन्, ‘तन्त्रवत् । यन्त्रवत् । कुदिरहेको छ जीप । समयजस्तै । भित्र बसेर गफिरहेका छौँ हामी । मस्तराम । हामी बोडे पुग्यौँ । उताबाट हामीतिर हल्लिँदै रित्तो गाग्री आउँदै थियो । हेरेँ । मुन्टो बटारेँ । भित्रतिर हेर्न थालेँ । रित्तो गाग्री छेलियोस् भनेर । अँ, बाटो हिँड्दा रित्तो गाग्री देख्यो कि बर्बाद हुन्छ भन्ने कुराले मेरो मनभित्र अझै कताकता अदृश्य घर बनाएको रहेछ (पृ–२५८) ।’
वर्तमान अवस्थालाई हेर्दा नव पुस्ताको सोचाइमा अकस्मात् ठूलो परिवर्तन आएको लाग्छ । यसरी एकदम अस्वाभाविक किसिमले आएको परिवर्तन निकै खतरापूर्ण हुनेगर्छ । आजको पुस्तामा यस्तो मानसिकता निर्माण हुँदै गएको छ, जसले अत्यन्तै डरलाग्दो हुने गरी तीव्रता लिएको छ । ‘स्वदेशमा बसेर केही हुँदैन । विदेश जानुपर्छ’ भन्ने धारणाले देशप्रतिको आस्था घट्दै गएको छ । आफ्नै मातृभूमिप्रति एक किसिमको वितृष्णा निर्माण हुँदै छ ।
यस्तो बेला हामीले आफ्नो भाषा, धर्म, संस्कृति तथा गौरवयोग्य सम्पदाको मूल्य बोध गराउने अभियान ल्याउनु पर्छ । आफूलाई माया गर्यौँ भने मात्र आफ्नो पहिचान कायम रहन्छ भन्ने शिक्षाको हामीलाई खाँचो छ । त्यस्तै हाम्रा ऐतिहासिक, सामाजिक, धार्मिक तथा प्राकृतिक दृष्टिकोणले पर्यटकीय गन्तव्य बनेका ठाउँहरूको चिनारी गराई; आफ्नो माटोप्रति गौरवबोधको वातावरण सिर्जना गर्न जरुरी छ ।
लेखकको ‘सेतो मृग’ले अघोषित रूपमा त्यही अभियानको काम गरेको प्रतीत हुन्छ । त्यस किसिमले पनि कृतिको आफ्नै महत्त्व रहेको छ । यदि यो कृति काम विशेषले गरिएको यात्रा हुन्थ्यो भने यसलाई हेर्ने दृष्टिकोण अर्कै हुने थियो । केवल घुम्नकै लागि, देश बुझ्नकै लागि गौरवपूर्ण मन लिएर गरिएको यात्रा हुँदा; यसको आफ्नै विशेषता छ । फेरि फेरि पनि लेखकका यस्ता कृतिहरू आइरहून् ।
अन्त्यमा भन्न बाँकी रहेको कुरा । पछिल्लो समय स्रष्टाले आफ्नो बेग्लै लेखन अस्तित्व कायम गर्न जस्तो पृथकता अपनाएका छन्, त्यसमा केही चुनौती स्वीकार्न उनी तत्पर हुनुपर्छ । जस्तो कुनै पनि नियात्रामा त्यस ठाउँ विशेषको विविध जानकारीलाई अनेक खण्डमा विभाजन गर्दा, बुँदागत रूपमा व्यक्त गर्दा लेखन प्रवाह टुक्रिने सम्भावना उतिकै रहन्छ । पठनको भावावेग विखण्डित भई प्रभाव क्षीण हुनसक्छ । पठनको सुविधातिर बढी ध्यान दिँदा स्वतः स्फूर्तता विघटन हुनसक्छ । जतिखेर यस्ता कुरा सामना गर्न लेखक तयार हुनुपर्छ ।
त्यसो त खोट रहित कुनै पनि कुरा सिर्जना हुन सक्दैन । आफैँमा पूर्ण कोही पनि हुन सक्दैन । केही थोक पनि हुन सक्दैन । अलिकति प्राप्ति अलिकति अप्राप्ति त्यो भइरहन्छ । राम्रोमा नराम्रो त्यो आइरहन्छ । नराम्रोमा पनि राम्रो मिसिइरहन्छ । त्यसो हुँदा हाम्रो प्रयास भनेको सकभर नराम्रोलाई कम्ती गर्नु मात्रै हो । त्यसो हुँदा पूर्णताको अपेक्षा गर्नु त्यो आफैँमा दोषपूर्ण बुझाइ हुनेछ ।

