म सर्वेसर्वा कसरी भएँ ?
म लेखेका कुरा लेख्न जान्दछु
पढाइएका पाठ पढ्न जान्दछु ।
बुझेका भाव अभिव्यक्त गर्न जान्दछु
तर म त एउटा शिक्षार्थी हुँ
अनि भन साथी ! म सर्वेसर्वा कसरी भएँ ?
सुनेका शब्द बोल्दछु
बोलेका शब्द सम्झन्छु ।
पढेका कुरा लेख्दछु
लेखेका कुरा फेरि पढ्दछु ।
यति नै मेरो परिचय हो
म शिक्षार्थी हुँ
अनि भन साथी, म सर्वेसर्वा कसरी भएँ ?
किताब मैले लेखेको होइन
हजारौँ मनीषीका विचार पढेको हुँ ।
गुरुका अनुभवबाट सिकेको हुँ
सहपाठीका प्रश्नबाट जागेको हुँ ।
जन्मिँदा ज्ञानको महासागर बोकेर आएको होइन
तिमीले मलाई विज्ञको उपमा दियौ ।
त्यो भ्रम मात्रै हो
म शिक्षार्थी हुँ
अनि भन साथी, म सर्वेसर्वा कसरी भएँ ?
मेरो अन्तरमनमा ज्ञानको दीप
अर्कैले नै बलिदियो ।
हातमा कलम थमाइदियो
कापी, पुस्तक र झोला बोक्न सिकाइदियो ।
'क' र 'ख' का अक्षरहरू
औँला समाई लेख्न सिकाइदियो ।
आज मैले बोलेका शब्दहरू पनि
त्यही सिकाइका प्रतिध्वनि मात्र हुन् ।
म शिक्षार्थी हुँ
अनि भन, साथी ! म सर्वेसर्वा कसरी भएँ ?
विद्यालयदेखि विश्वविद्यालयसम्मको यात्रामा
मैले परिश्रमलाई साथी बनाएँ ।
नक्कललाई होइन, इमानदारीलाई रोजेँ ।
असफलतासँग जुधेँ
सङ्घर्षसँग मित्रता गाँसेँ ।
ज्ञान माग्नेलाई निःसङ्कोच बाँडेँ ।
तिमीले त्यसैलाई सर्वेसर्वा ठानेछौ।
तर म त्यो भ्रम ठान्छु
मात्र म शिक्षार्थी हुँ
अनि भन साथी, म सर्वेसर्वा कसरी भएँ ?
मास्टर्ससम्मको यात्रामा
हजारौँ लेख पढ्ने अवसर पाएँ ।
सभ्यता, समाज र राष्ट्र निर्माणका
अनगिन्ती विचारसँग साक्षात्कार गरेको छु ।
रूसोलाई पढेको छु
आइन्सटाइनलाई पढेको छु
कार्ल मार्क्सलाई पढेको छु
अनेक चिन्तकका दर्शन पढेको छु ।
तर जति पढ्दै गएँ
त्यति नै आफ्नै अज्ञानको गहिराइ देख्दै गएँ ।
ज्ञान त सागर र संसार पो रहेछ,
म त त्यसको किनारामा
सिपी टिपिरहेको एक यात्रु मात्र हुँ ।
म शिक्षार्थी हुँ
अनि भन साथी, म सर्वेसर्वा कसरी भएँ ?
ज्ञानले अहङ्कार होइन
विनम्रता सिकाउँछ ।
सिकाइको अन्त्य हुँदैन
जिज्ञासाको यात्रा कहिल्यै रोकिन्न ।
जसले आफूलाई सर्वज्ञ ठान्छ
उसको सिकाइ त्यहीँ टुङ्गिन्छ ।
तर म त आजीवन सिक्ने प्रण गरेको
एक सामान्य शिक्षार्थी हुँ ।
अनि भन साथी, म सर्वेसर्वा कसरी भएँ ?
त्यसैले फेरि पनि सोध्छु
अझै म आज पनि सिकिरहेकै छु
अझै म फेरि पनि गुरु खोजिरहेकै छु
अझै म अनगिन्ती प्रश्नसँग उत्तर खोज्दै हिँडिरहेकै छु
अझै जवाफको भोको छु
म शिक्षार्थी हुँ
अनि भन साथी ! म सर्वेसर्वा कसरी भएँ ?


