काठमाडौं । कथाकार गोविन्द गिरी प्रेरणाको पछिल्लो कथाकृति ‘अ-विधवा’माथि एक कार्यक्रमबीच विमर्श सम्पन्न भएको छ ।
इम्प्रिन्ट पब्लिसर्सको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा दयाराम श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा समालोचकद्वय अशोक थापा र ज्ञानु अधिकारी तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख वक्ता श्रेष्ठले कथाकार प्रेरणाको लामो कथाप्रतिको निरन्तरता उल्लेख गर्दै ‘अ-विधवा’भित्र समावेश कथाहरू पनि विस्तारित संरचनामा रहेको धारणा राख्नुभयो । सात वटा कथाहरू समेटिएको यस कृतिमाथि समालोचक ज्ञानु अधिकारीले शीर्षकप्रति आरम्भिक विमति भए पनि कृतिभित्रका सामाजिक, मनोवैज्ञानिक तथा नियतिक विषयवस्तुले पाठकीय रुचि जगाएको बताउनुभयो । उहाँले कथामा नारी पात्रहरूको सशक्त उपस्थितिलाई विशेष रूपमा उल्लेख गर्नुभयो ।
समालोचक अशोक थापाले कृतिका कथाहरूलाई तह–तहमा खुल्दै जाने संरचनासँग तुलना गर्दै कथाभित्र दीर्घकालीन समय विस्तार र सूक्ष्म मनोवैज्ञानिक चित्रण रहेको बताउनुभयाे । उहाँले फ्ल्यासब्याक शैलीलाई वर्तमानसँग प्रभावकारी रूपमा जोडिएको टिप्पणी गर्नुभयाे ।
कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनले कथाकार प्रेरणाले विभिन्न विधामा सशक्त लेखन गरिरहेको उल्लेख गर्दै लामो कथा लेखनले पाठकलाई समेत चुनौती दिने धारणा राख्नुभयो ।
कृतिकार गोविन्द गिरी प्रेरणाले आफ्नो लेखन यात्राबारे प्रकाश पार्दै ‘अ-विधवा’लाई लामो कथा लेखनको निरन्तरता भएको बताउनुभयाे । उहाँले अध्ययन र अनुसन्धानको निरन्तर प्रक्रियाबाट लेखनमा ऊर्जा प्राप्त हुने उल्लेख गर्दै स्वस्थ आलोचनाले सृजनालाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन यादव भट्टराईले गर्नुभएको थियो ।

