साहित्यपोस्ट डट कम

ए लेगेसी अफ सरो’ उपन्यास लोकार्पित

ए लेगेसी अफ सरो’ उपन्यास लोकार्पित

सिलगढ़ी । लेखिका तथा पत्रकार शारदा छेत्रीद्वारा लिखित उपन्यास ‘ए लेगेसी अफ सरो – ए स्टोरी फ्रम दार्जीलिङ’ को औपचारिक लोकार्पण सिलगढ़ीस्थित किताब केफेमा सम्पन्न भएको छ। पुस्तक बुक-एण्ट पब्लिकेशन हाउसको एकाइ स्यालम्याण्डर इम्प्रिन्ट्सद्वारा प्रकाशित गरिएको हो।

दार्जीलिङ पहाडका तीन महिलाको जीवनकथामा आधारित उक्त उपन्यासले तीन दशकसम्मको पीडा, क्षतिबोध र स्मृतिको बोझ बोकेका पात्रहरूलाई केन्द्रमा राख्दै सन् २०१७ को जुनदेखि सेप्टेम्बरसम्म चलेको गोर्खाल्याण्ड आन्दोलनको पृष्ठभूमिमा कथानक अघि बढाएको छ। पहिचान, स्वत्व र पुस्तान्तरित स्मृतिको प्रश्नसँग जुधिरहेको मानवीय अनुभवलाई उपन्यासले गहिरो भावनात्मक तथा ऐतिहासिक धरातलमा प्रस्तुत गरेको जनाइएको छ।

लोकार्पण समारोहमा लेखिका छेत्री र पत्रकार–लेखिका अनुराधा शर्माबीच सर्जक संवाद सम्पन्न भएको थियो। आफ्नो कृतिबारे बोल्दै छेत्रीले नेपाली जातीय पहिचान र भारतीय राष्ट्रिय पहिचानबीच समन्वय खोज्ने क्रममा भोग्नुपर्ने पीडा र ‘स्वत्व’को सङ्घर्षलाई पुस्तकले अभिव्यक्त गर्ने प्रयास गरेको बताउनुभयाे । महिला पात्रमा केन्द्रित भए पनि उपन्यासलाई केवल नारीवादी आख्यानको रूपमा सीमित गर्न नमिल्ने उल्लेख गर्दै उहाँले यसले मानवीय क्षति, पहिचान र जुझारूपनको व्यापक अनुभवलाई समेटेको धारणा राख्नुभयाे ।

उनका अनुसार कृतिको कथनशैली मनोवैज्ञानिक अनुसन्धानबाट प्रभावित छ, जसले व्यक्तिगत तथा सामूहिक आघात पुस्तान्तरित हुन सक्ने अवधारणालाई उजागर गर्दछ। विज्ञान, मानवशास्त्र, इतिहास र राजनीतिक शास्त्रका अवधारणासँग अन्तरविषयगत संवाद गर्दै उपन्यासले स्मृति, पहिचान र उत्तराधिकारमा प्राप्त पीडाको गहन विश्लेषण प्रस्तुत गरेको बताइएको छ।

कार्यक्रममा प्रकाशन संस्थाका निर्देशक राजा पुनियानीले स्यालम्याण्डर इम्प्रिन्ट्सले स्थानीय हिमाली कथाहरूको गम्भीर ऐतिहासिक सन्दर्भलाई केन्द्रमा राखेर परम्परागत प्रकाशन अभ्यासलाई सुदृढ गर्ने उद्देश्यले काम गरिरहेको जानकारी दिनुभयाे । उहाँका अनुसार पुस्तक संस्थाको आधिकारिक ई–कमर्स वेबसाइट तथा अमाजन इण्डियामार्फत उपलब्ध रहेको र चाँडै अन्य प्रमुख पुस्तक पसलमा पनि वितरण गरिनेछ।

पुस्तकको औपचारिक लोकार्पण पूर्ण अधिकारी, डा. धनीराज छेत्री, ई.बी. ईश्वरण, राजा पुनियानी तथा स्वयं लेखिका शारदा छेत्रीको संयुक्त उपस्थितिमा गरिएको थियो। कार्यक्रममा सत्यदीप एस. छेत्रीले मन्तव्य राख्दै जनआकांक्षा र सामूहिक स्मृतिको व्यापक सन्दर्भमा कथा लेखनको आवश्यकता औँल्याउनुभयाे । उहाँले उपन्यासले दार्जीलिङ पहाड र यस क्षेत्रभन्दा बाहिर पनि स्मृति, पहिचान र इतिहासलाई संवेदनशील रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयाे ।

कार्यक्रमको सञ्चालन बुक–एण्टका सम्पादक, लेखक तथा अनुवादक विश्व योञ्जनले गर्नुभएकाे थियाे भने समारोहमा मिलन रुचाल, डा. विधान गोले, सुब्रत दत्ता, सेबन्ती घोष, मन्दिरा घिसिङ, प्रीति ब्राह्मिण, लतिका जोशी, लेखा राई र लक्ष्मण दाहाललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.