साहित्यपोस्ट डट कम

लक्ष्मण अधिकारीको कथासङ्ग्रह ‘डोपामिनः खुशी र प्रेरणा’ सार्वजनिक

लक्ष्मण अधिकारीको कथासङ्ग्रह ‘डोपामिनः खुशी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथासङ्ग्रह ‘डोपामिनः खुशी र प्रेरणा’ सार्वजनिक गरिएको छ । कामना न्यूज पब्लिकेसन्स्को परिसरमा सोमबार आयोजित समारोहमा १८ कथा समेटिएको उक्त कृतिको लोकार्पण गरिएको हो ।

मानिस बाहिरबाट हाँसिरहेको देखिए पनि भित्रभित्रै भोगिरहेको मानसिक पीडा, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन–संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरिएको यो सङ्ग्रहले आधुनिक जीवनका अदृश्य यथार्थलाई केन्द्रमा राखेको छ ।

कृतिमाथि समीक्षा गर्दै समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘डोपामिन’ नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृतिका रूपमा चित्रण गर्नुभयो । उहाँले सङ्ग्रहका कथामा साहित्यिक इमानदारी, आख्यानात्मक सौन्दर्य र शिल्पगत परिपक्वता देखिएको उल्लेख गर्दै मानिसको मानसिक द्वन्द्वलाई आकर्षक कथाशैलीमा प्रस्तुत गरिएको बताउनुभयो ।

उहाँका अनुसार कथाहरूमा हीनताग्रन्थी, आत्महत्याको मनोविज्ञान, मानसिक अशान्ति, कुण्ठा, पलायन प्रवृत्ति, यौन शोषणलगायत विषयलाई आख्यानमार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ ।

पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले सङ्ग्रह कल्पनाभन्दा यथार्थमा आधारित रहेको उल्लेख गर्दै यसलाई केवल पठनीय मात्र नभई मननीय कृति भएको धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले लेखकको यसअघि प्रकाशित ‘मर्फिन’ले पीडाको शान्त पक्षलाई उजागर गरेको स्मरण गर्दै ‘डोपामिन’ले पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका रासायनिक प्रक्रियालाई साहित्यमार्फत बुझाउने प्रयास गरेको बताउनुभयो ।

लेखक लक्ष्मण अधिकारीले शरीरका रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो । स्वास्थ्य र मनोविज्ञानसँग जोडिएका पात्रमार्फत वैज्ञानिक तथ्य र मानवीय संवेदनालाई कथामा उतार्ने प्रयास गरिएको उहाँको भनाइ थियो ।

उहाँले मानिसलाई खुशीको अनुभूति गराउने हार्मोन ‘डोपामिन’बाट प्रेरित भएर पुस्तकको नामकरण गरिएको जानकारी पनि दिनुभयो ।

कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठले ‘डोपामिन’ समकालीन नेपाली कथा साहित्यको महत्वपूर्ण उपलब्धि बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आधुनिक मानिसको मन, सम्बन्ध, एक्लोपन, चाहना र सामाजिक यथार्थलाई कृतिले प्रभावकारी रूपमा चित्रण गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमिल्सिनाले पुस्तकले मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई साहित्यमार्फत नयाँ आयाम दिएको धारणा राख्नुभयो ।

स्वास्थ्य, मनोविज्ञान र साहित्यलाई एउटै कथात्मक धरातलमा उभ्याउने प्रयासका कारण ‘डोपामिनः खुशी र प्रेरणा’ समकालीन नेपाली कथा साहित्यमा फरक पहिचान बनाउन सक्ने कृतिका रूपमा अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.