काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले ४५औँ कथा दिवसको अवसर पारेर सम्मान तथा पुरस्कार समर्पण समारोह आयोजना गरेको छ । कार्यक्रममा साहित्यिक पत्रकारिता, कविता र समग्र साहित्य क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई विभिन्न विधामा सम्मानित तथा पुरस्कृत गरिएको हो ।
यस वर्ष ‘भवानी साहित्यिक पत्रकारिता सम्मान’बाट रमेश पोखरेल र प्रवीण जोशी सम्मानित हुनुभएकाे छ भने ‘लोकप्रिया पुरस्कार’बाट प्रतिसरा सायमि पुरस्कृत हुनुभयाे । त्यस्तै ‘व्यथित काव्य सम्मान’बाट कविहरू विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ सम्मानित हुनुभयाे । ‘व्यथित काव्य डायस्पोरा सम्मान’का लागि चयन गरिएका लालगोपाल सुवेदी र दीपा राई पुनलाई भने पछि प्रदान गरिने जनाइएको छ ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कलाकार के.के. कर्माचार्यले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएकाे थियाे । कार्यक्रमका क्रममा सम्मानित स्रष्टाहरूको परिचय समालोचक प्रमोद प्रधानले दिनुभएकाे थियाे भने छनोट प्रक्रियाबारे श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रकाश पार्नुभएकाे थियाे ।
अध्यक्ष लेकालीले कथा दिवसको महत्वबारे चर्चा गर्दै साहित्यिक पत्रकारिताको योगदानलाई स्मरण गर्नुभयाे । प्रमुख अतिथि कर्माचार्यले सम्मानित स्रष्टाहरूको चयन उपयुक्त रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्रष्टालाई थप सिर्जनशील बन्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रममा सम्मानित स्रष्टाहरूले पनि आफ्ना अनुभव र धारणा व्यक्त गर्नुभएकाे थियाे । शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचनमार्फत कार्यक्रम उद्घाटन गर्नुभएकाे थियाे भने सहजीकरण कवि तथा कथाकार मणि लोहनीले गर्नुभएकाे थियाे ।
कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वि.सं. २०२९ मा स्थापित साहित्यिक पत्रकार सङ्घले ५३ वर्षदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सङ्घले २०३८ सालदेखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ भने विभिन्न पुरस्कार तथा साहित्यिक कार्यक्रममार्फत स्रष्टाहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

