पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा आयोजना हुँदै आएको ‘समता काव्य सन्ध्या’को ३९५औँ शृङ्खला ‘असार विशेष’ कार्यक्रमका रूपमा सम्पन्न भएको छ ।
वि.सं. २०३४ सालदेखि साहित्य, सङ्गीत र कलाको क्षेत्रमा सक्रिय संस्थाले आयोजना गरेको कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रसिद्ध बिम्बकवि रमेश श्रेष्ठले असार महिनाको सौन्दर्य, प्रकृति र कृषिजन्य जीवनसँगको सम्बन्धबारे चर्चा गर्दै कविता वाचन गर्नुभयो । उहाँले असारलाई कविताजस्तै सुन्दर महिना भन्दै माटोसँगको सम्बन्ध र प्रकृतिप्रतिको अनुराग अभिव्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा साहित्यकार दीपक समीप, प्रकाश ज्ञवाली, अल्पविराम पोखरेली, भीम रानाभाट, शिव त्रिपाठी, नवराज न्यौपाने, केशु शर्मा, लक्ष्मण गौतम ‘हिमाली’, रती भट्टराई, ढाकामोहन बराल, अम्बिकाप्रसाद भट्टराई, बिमला अधिकारी, जमुना कायस्थ, समीप वैरागी, एकदत्त लम्साल, निकेश गिरी, शान्ति कँडेललगायतका कविहरूले असार महिनालाई केन्द्रमा राखेर कविता वाचन गर्नुभएको थियो ।
परिवारका उपाध्यक्ष लक्ष्मण थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्य विभाग संयोजक केशु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक महिना नियमित रूपमा काव्य वाचन कार्यक्रम सञ्चालन गर्दै साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।

