साहित्यपोस्ट डट कम

१९ स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण

१९ स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा समाजशास्त्रलगायतका क्षेत्रमा योगदान पुर्‍याउनुभएकाे १९ जना स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ ।

कमलादीस्थित प्रतिष्ठानमा आयोजित समारोहको उद्घाटन कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुरस्कृत स्रष्टाहरूलाई सम्मान गर्नुभएको थियो । यस वर्ष १२ जनालाई जनही एक लाख रुपैयाँ राशिको ‘प्रज्ञा पुरस्कार’ र ७ जनालाई जनही ५० हजार रुपैयाँ राशिको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ प्रदान गरिएको हो ।

प्रज्ञा पुरस्कार–२०८२ अन्तर्गत समालोचनातर्फ अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्यसाहित्यतर्फ आहुति, भाषातर्फ मुकुन्दशरण उपाध्याय, समाजशास्त्रतर्फ डम्बर चेम्जोङ, पद्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई, मातृभाषा (हिमाली–पहाडी)तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश–तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई सम्मान गरिएको छ ।

त्यसैगरी प्रज्ञा प्रादेशिक पुरस्कारअन्तर्गत कोशी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु, मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारी पुरस्कृत हुनुभएकाे छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले ज्ञानका विविध क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले आफ्ना अनुभव र धारणा व्यक्त गर्नुभएकाे थियाे भने सञ्चालन सदस्य सचिव धनप्रसाद सुवेदीले गर्नुभएको थियो ।

ट्याग: भूपाल राई
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.