साहित्यपोस्ट डट कम

निबन्ध : नयाँ

निबन्ध : नयाँ

· तिमीलाई थाह नभएको इतिहासबाहेक संसारमा केही पनि नयाँ छैनः ह्यारी एस ट्रुम्यान

· इतिहासको परिमार्जन, परिष्करण, प्रतिस्थापन वा परिवर्तन नै ‘नयाँ’ हो ।

· आदर्श पुरुष सोक्रटस, फेरि एकपटक नमन गर्छु र तपाईँका वाक्य हाम्रा नव युवामाझ दोहर्‍याउन चाहन्छु– ‘परिवर्तनको ऊर्जा पुरानोसँग लड्नमा होइन, नयाँको निर्माणमा केन्द्रित हुनुपर्छ ।’

· अनुरोध गर्छु, पुरानोको वहिष्करण होइन, विनिर्माण गर्नुहोस्, त्यही हो नयाँ ।

· क्यारिम बोर्ड, पोर्ट, टिकटक, पब्जीमा लठक्कै नवपुस्ताभन्दा देउथलमा लड्ने ७३ वर्षे भक्ति थापा मेरा लागि नयाँ हुन् !

कलेजका कक्षामा प्रवेश गर्दा निकै डराउने गरेको छु । नेपालको राजनीतिमा मूलतः वि.सं.२०८० बाट ‘नयाँ’ शब्द शिखर चर्चामा आएदेखि नयाँ भनेको के हो भनेर विद्यार्थीले प्रश्न गरे भने मैले के उत्तर दिनु, म डराउँदै छु । मैले उनीहरूलाई सहजै भनिदिन सक्छु– “मैले हिजो लगाएको भन्दा आजको कोट नयाँ हो ।” अथवा उनीहरूको सहजताका लागि भनिदिन सक्छु– “तिमीहरूको बा पुस्ताले चलाउने कि–प्याड प्रणालीको फोनभन्दा स्मार्ट फोन नयाँ छन् ।” हालै घटित सबै घटनाहरू नयाँ हुन् भनिदिन पनि सक्छु । यसरी, जसरी भए पनि मैले उनीहरूलाई चुप लगाउन सक्नेछु तर यस्ता उत्तरले विद्यार्थीलाई चुप लगाएँ भने त्यही चुपको बिन्दुबाट ममा अथाह प्रश्नहरू जागृह हुनेछन् । मैले मेरा कलिला विद्यार्थीको मुख बन्द गराउन सकुँला । परिणाममा मेरो मस्तिष्कले नसोचेका प्रश्न र जिज्ञासाको सामना गर्नुपर्नेछ । मैले निद्रा गुमाउनु पर्नेछ ।

आफूभित्रको जिज्ञासाले निद्रा गुमाएँ भने, म पलङमा छट्पटाइरहेका बेला मेरा अगाडि अमेरिकाका ३३ औँ राष्ट्रपति ह्यारी एस ट्रुम्यान ठिङ्ग उभिएर मलाई सम्झाउने छन्– “तिमीलाई थाह नभएको इतिहास बाहेक संसारमा केही पनि नयाँ छैन ।” इतिहास दोहोरिन्छ तर भिन्न स्वरूपमा भन्ने भनाइ पनि छ । यदि यसो हो भने मैले मेरा विद्यार्थीलाई इतिहास पढ्न प्रेरित गर्नुपर्छ, जो उनीहरूका लागि त्यति रुचिकर छैन । कि–प्याड प्रणालीको फोनभन्दा स्मार्ट फोनहरू नयाँ हुनुमा इतिहास दोहरिनु वा इतिहासको जानकारी राख्नु कसरी सान्दर्भिक भए त भन्ने अर्को प्रश्नको दलदलमा म भासिनेछु । उत्तरका लागि त्यतिखेर मसँग मात्र दुईवटा बाटा बाँकी रहनेछन् । एक, हेर त महाभारतलाई त्यहाँ आजका यी र यस्ता भन्दा नयाँ प्रविधिको प्रयोग छ । हालैको अमेरिका–इरान द्वन्द्वमा भन्दा महाभारतका लडाइँमा प्रयोग गरिएका हातहतियार र प्रविधि धेरै नयाँ थिए । हुन सक्छ त्यसैको भिन्न, परिष्कृत र परिमार्जित स्वरूपलाई आज नयाँ भनिएको छ । यो उत्तर पनि विद्यार्थीलाई चुप लगाउन मात्र काम लाग्न सक्छ । दुई, म आफूलाई चुप लगाउने उत्तर दोस्रो बाटोमा पाउन सक्दछु । इतिहासको परिमार्जन, परिष्करण, प्रतिस्थापन वा परिवर्तनलाई नयाँ भन्न सकिएला । यसो भनियो भने ह्यारी एस ट्रुम्यानसँग सहमति जनाउन सकिनेछ । उनी पनि मसँग सहमत हुनेछन् । मलाई यसर्थ नयाँ हुनुभन्दा परिमार्जित, परिष्कृत, प्रतिस्थापित वा परिवर्तित हुने मोहले लठ्याएको हुन्छ । मलाई नयाँ हुनु छैन, मात्र जिज्ञासु हुन सकूँ । म जिज्ञासु भएँ भने मैले प्रश्न गर्न सक्नेछु–तपाईंले नयाँ भनेको वस्तु, पात्र वा प्रवृत्ति हिजोका भन्दा परिष्कृत छन् कि छैनन् भन्ने प्रश्न गर्न सक्छु र उत्तर खोज्न सक्छु । यस्तो समालोचनात्मक चेत ममा छैन भने मैले नयाँ र पुरानो भनेर कसलाई भनूँ !

यसो हो भने पछिल्लो समयमा जन्मनु नै नयाँ हुनुको प्रमाण हुन सक्दैन । नयाँ हुन एक कदम अगाडि बढेको परिष्करण आवश्यक हुन्छ । यस क्षण, मेरा प्रिय विद्यार्थी ! म तपाईंहरूलाई नयाँ र पुरानोबारे ठेट उत्तर दिन सक्दिनँ र प्रश्न पनि गर्दिनँ । मात्र १८७२ वैशाख ३ गते (संयोग, यो निबन्ध पनि वैशाख ३ गते, २०८३ मा लेख्दैछु ) तिर तपाईंहरूको ध्यान आकृष्ट गराउन चाहन्छु । त्यस दिन ७३ वर्षीय सरदार, भक्ति थापाले देउथलमा नेपालका लागि लडेका थिए । युद्धमा आफ्ना दुई छोरासहित गएका उनले सानो छोरा अमरसिंह थापाको जिम्मा लगाउँदै भनेका थिए– आज म देशका लागि अर्पित हुनेछु, यो छोरो र देश बचाउनू । यसर्थ, भक्ति थापा मेरा लागि नयाँ र पूजनीय छन् । किनभने मलाई यस्तो इतिहास कहिल्यै पुरानो लाग्दैन । समय र सन्दर्भअनुसार झन् झन् नयाँ, झन् झन् सान्दर्भिक लाग्छ ।

प्रिय विद्यार्थी, सडकमा अल्लारिने, क्यारिम बोर्ड, पोर्ट, टिकटक, पब्जीमा लठक्कै परेको नवपुस्ता र भक्ति थापा कसलाई नयाँ भन्नुहुन्छ ? तपाईंहरूकै जो विवेक ! मैले भन्ने गरेको नयाँमा भक्तिको परिष्करण हुनुपर्छ, जसको साहस देखेर विरोधी बेलायतीले उनको शवमा सलामी चढाउँदै जनरल अक्टरलोनीले ‘ब्र्याभो भक्ति थापा’ को उपाधि अर्पण गरेका थिए । भक्तिको परिष्करण भनेको खुकुरी र खुँडा लिएर बम र बन्दुकले सुसज्जित शत्रुसँग लड्नु होइन । भक्तिले शस्त्रयुद्ध लडे, विश्व शीतयुद्ध हुँदै साइबर युद्धमा प्रवेश गरेको छ । तपाईंहरू साइबर युद्धको कुन मोर्चामा, कहाँ उभिनुपर्ने हो, आफ्नो सामर्थ्य पहिचान गर्नुहोस् । कि अहिले पनि भक्ति थापाकै जस्तो युद्ध–सपना देख्नुहुन्छ ? त्यसो हो भने प्रिय विद्यार्थी, मैले तपाईंलाई कसरी नयाँ भनौँ ? देख्नुभयो नि अमेरिका, इरानको हालैको द्वन्द्वमा कस्ता साइबर प्रविधि र उपकरण प्रयोग भए ?

अहिले पनि लमजुङको ढुङ्गेबेसी (भक्ति थापाको जन्म स्थान) वा कीर्तिपुरको डाँडामा बसेर सूचना प्रविधिमार्फत पैसा कमाउन सकिने दाबीलाई हाँसीमजाक गर्ने, खिसिट्यूरी गर्ने हो भने छिमेकी देश गोवाका युवालाई हेर्नू । आफ्नै देशको नरिवल पानी खाँदै, बागा र कलङ्कुटको एकुवार (बगर/बिच) मा रमाउँदै सूचना प्रविधिबाट पैसा कमाउने ती युवा र तपाईंहरूलाई जन्मकुण्डली हेरेर मैले कसलाई नयाँ र कसलाई पुराना भनिदिनु पर्ने हो ? कतिपय भारतीय युवाले गोवास्थित अरब सागरमा पौडी खेल्दै अमेरिकी कम्पनीको काम गरेर पैसा कमाएका छन् । स्वरोगगार भएका छन्, रोजगारी सिर्जना गरेका छन् । सूचना प्रविधिमार्फत भारतको कुल राष्ट्रिय अर्थतन्त्रमा करिब ६ देखि ७ प्रतिशत योगदान दिएका छन् । उनीहरू तपाईंहरूभन्दा अघि जन्मनुको अर्थ तपाईंभन्दा पुराना, प्रौढ वा रुढ हुन् ? तपाईंहरू आफूभित्रको यस्तो सामर्थ्यमा विश्वास गर्नुहुन्न ? त्यसो हो भने तपाईंहरू कसरी नयाँ ?

प्रिय विद्यार्थी, तपाईंहरूलाई नयाँ हुनुको अर्थमा ‘म सबै जान्दछु’ भन्ने गर्व होला । म तपाईंहरूको ज्ञानको कदर गर्छु, सम्मान गर्छु । पहिलो पटक २०४३ सालमा म ‘एसएलसीको रिजल्ट गर्ने कम्प्युटर’ हेर्न सिंहदरबार जाँदा उसलाई भाइरस लाग्छ भनेर हरियो गाउन, टोपी, मास्क, त्यहाँ नै राखिएका जुत्ता लगाएर कम्प्युटर कक्ष पसेको थिएँ, मानौँ त्यो कम्प्युटर आईसीयुको बिरामी थियो । कोरानाको जसरी सास र सम्पर्कबाट कम्प्युटरमा भाइरस सर्छ भन्ने बुझेको पुस्ता हो मेरो तर आज कम्प्युटरमा लाग्ने भाइरस के हो, कसरी लाग्छ, यो स्वयम् व्यापारिक उत्पादन पनि हो भन्नेमा तपाईंहरू जानकार हुनुहुन्छ । म यस्तो ज्ञान र जानकारीको सम्मान गर्छु तर मेरा लागि आदर्श पुरुष पुराना भनेर चिनिने सोक्रेटस हुन् जसले आफ्नो अज्ञानता स्वीकार गर्न सक्नुलाई महानता भनेका छन् । उनले भनेका छन्– “मलाई यति मात्र थाहा छ कि मलाई केही थाहा छैन ।” वाह सोक्रेटस ! अब भन्नुहोस् प्रिय विद्यार्थी, म एक्काइसौँ शताब्दीका तपाईंहरू, तपाईंहरूको ज्ञान, जानकारी र जिज्ञासा वा दम्भलाई नयाँ भनौँ कि आजभन्दा २४९६ वर्षअघिका सोक्रेटसलाई ? आदर्श पुरुष सोक्रटस, फेरि एकपटक नमन गर्छु र तपाईंका वाक्य हाम्रा नव युवामाझ दोहोर्याउन चाहन्छु– “परिवर्तनको ऊर्जा पुरानोसँग लड्नमा होइन, नयाँको निर्माणमा केन्द्रित गर्नुपर्छ ।” यसकारण मेरा लागि सोक्रेटस नयाँ किताब हुन् । सुन्नु नै भएको छ, “नयाँ किताब किन्नू, पुरानो कोट लगाउनू” अमेरिकी प्रसिद्ध लेखक अस्टिन फ्लेप्सलाई पनि नमन । यहाँनेर, मेरा विद्यार्थी भाइबहिनीहरू मलाई नसोध्नू, मेरो कुन कोट नयाँ र कुन पुरानो हो । हिउँदमा मेरो ऊनको कोट नयाँ हो, बर्खामा रुवा–कोट नयाँ । नयाँ र पुरानो समयले होइन, सन्दर्भले निर्धारण गर्छ । उपयोगिताले निर्धारण गर्छ ।

प्रिय विद्यार्थी, तपाईंले दर्जनौँपटक आफ्नो मोबाइल सेट अपडेट गर्नुको अर्थ के हुन्छ ? आफूलाई पनि त्यसरी नै अपडेटेड गर्नुभयो भने त्यसको के लाभ हुन्छ ? आफूलाई चुस्त र नयाँ संस्करणमा बदल्नु भयो भने बल्ल त्यो हो नयाँ । आफूलाई अद्यावधिक गर्न जिज्ञासा राख्नुहोस् । ज्ञानको शुरुवात जिज्ञासाबाट हुन्छ, प्रश्नबाट हुन्छ । कसैप्रति पनि शङ्कालु नहुनुहोस् तर सबैप्रति र सँधैका लागि जिज्ञासु हुनुहोस् । आफूलाई नयाँ संस्करणको पुस्तक बनाउन चाहनुहुन्छ भने प्रश्न गर्ने, सुन्ने र उत्तर दिने गर्नुहोस् । जसले तपाईंलाई सिर्जनशील बनाउँछ । एउटा रुख फागुन, चैतमा पुरानो हुन्छ, वैशाखमा त फेरि नयाँ हुन्छ । फेरि दोहोर्याउँछु, नयाँ र पुरानो समयले होइन, सन्दर्भले निर्धारण गर्छ । रुखले पालुवा फेर्ने इतिहास थाह पाउनु भएन भने नयाँ र पुरानोको परिभाषामा तपाईंहरू द्विविधाग्रस्त हुनु हुनेछ ।

पुरानाको जति सुकै खण्डन गर्नुहोस्, बिरोध गर्नुहोस् त्यसले के अर्थ राख्छ ? तपाईंले आफूलाई नयाँ बनाउन के गर्नुभएको छ ? कहाँ परिमार्जन गर्नुभयो, कहाँ परिवर्तन र परिष्करण गर्नुभयो आफूलाई ? प्रिय पुस्ता, नबिर्सिनूहोस् हरेक नयाँ शुरुवात, अर्को नयाँ शुरुवातको अन्त्यसँगै हुन्छ । र अनुरोध गर्छु, पुरानोको बहिष्करण होइन, विनिर्माण गर्नुहोस्, त्यही नयाँ हो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.