साहित्यपोस्ट डट कम

शरद पोखरेलको मुगलानी चरा

शरद पोखरेलको मुगलानी चरा

बासुपुष्पा अधिकारी हाल अमेरिकाको डालसमा परिवारसहित स्थायी बसोबास गरिरहेका छन् । नेपालको साबिकको नवलपरासी जिल्लामा जन्मिएका उनी आफ्ना सपनाका पङ्खहरू पछ्याउँदै पछ्याउँदै एक दशक अघि अमेरिका पुगे । सपनाको सहरमा पुगे पनि मन भने आफ्नै जन्मथलोमा डुलाइरहन्छन् र गजल र मुक्तकमा पोखिरहन्छन् । अमेरिकावासी नेपालीहरूमाझ लोकप्रिय साहित्यिक संस्था गजल यात्राका उनी संस्थापक मध्येका एक हुन् ।हालसम्म गजल यात्राले गजल उत्सवको छैटौँ संस्करण पुरा गरिसकेको छ भने गजल र गन्थन अनलाइन कार्यक्रममा पनि उनी आबद्ध छन् । अनेसास डालस च्याप्टरको वर्तमान कार्यसमितिमा सचिव समेत रहेका अधिकारी बिभिन्न स्थानमा हुने गजल महमिलहरूमा बाक्लै उपस्थित हुने गर्दछन् ।

बासुपुष्पा अधिकारी मूलतः अस्तित्ववादी पीडा, जीवन र संघर्षबाट निर्मित आत्मबोधबाट बनेका गजलकार हुन् । उनका गजलहरू जीवनका कटु यथार्थ, सामाजिक बिडम्बना र व्यक्तिगत अनुभूतिका तहहरू चिर्दै गहिराइसम्म पुग्छन् ।आफ्ना गजलहरूमा उनी प्रवासन चेतना र आर्थिक यथार्थ अत्यन्त प्रभावकारी रूपमा व्यक्त गर्दछन् ।उनका गजलहरूमा दार्शनिकता र आत्मसंघर्ष पनि गहिरो गरी प्रकट हुन्छ । सामाजिक आलोचना र नैतिक क्षयीकरणमाथिको प्रश्न पनि उनका गजलका शेरहरूका मुख्य प्रवृत्तिहरू हुन् । गजलहरूमा उनी केवल भावुक प्रेमी मात्रै होइनन्, उनी समय, संघर्ष,समाज र पीडाका साक्षी हुन् । सरल शब्द र सरस शैलीबाट पाठकलाई भावको गहिराईमा पुराउन सक्नु उनको गजलको सामर्थ्य हो । आजको मुगलानी चराको २३औँ शृङ्खलामा हामीले गजलकार बासुपुष्पा अधिकारीका यस्तै चार वटा गजलहरू प्रस्तुत गरेका छौँ –

१.

गति सकियो जीवनको लय सकियो,

मेरो पनि बाँचेको अभिनय सकियो

खरानी बन्नुअघि लास मुस्कुराउँछ,

सोँच्दो हो आजबाट पराजय सकियो

म हर परीक्षामा पास भएँ त्यसपछि ,

जब जिन्दगीमा ‘पिरती’ विषय सकियो

कैदी भेटे जस्तै रहेछ खुसी भेट्नु यहाँ,

आदेश आउँछ तपाईंको समय सकियो

आमा मात्र थिइन् गुमाउनु पर्ने, गुमाएँ

सबथोक सकियो, गुमाउने भय सकियो ।

= = = =

२.

थाह छ त्यही दिन मलाई लिन काल आउँछ

जुन दिन अरु कसैले उसको सिउँदो सजाउँछ

हामी सँगै हुँदा यसरी कहिल्यै सताइन उसले

छुट्टियौँ उसको यादले अचेल बहुत सताउँछ

गाउँको खबरसम्म सोध्दैन कन्जुस शहरले

त्यही शहरलाई गाउँले सधैं चामल पठाउँछ

आफ्नो ख्याल गर भनि सम्झायो परदेशीले

परदेश कहरमा छ उसलाई कसले सम्झाउँछ ?

मैसाप मेरो माटोको सुगन्ध पचेन हजुरलाई

सुन्नुस मलाई पनि हजुरको अत्तर गनाउँछ ।

= = = =

३.

पासपोर्ट बोकेर हातमा, गुन्द्रुक बोकेर झोलामा ,

चढियो जहाज प्रियाको ढुकढुक बोकेर झोलामा

आमा ! अभावपछि, भोकपछि के आउँछ अब ?

बाबु ! साहु आउँछ घरमै तमसुक बोकेर झोलामा

छुरा बोकेर आएथ्यो दुश्मन, धर्म निभायो, गयो

आफ्ना पनि आउँछन् नुन-चुक बोकेर झोलामा

तैँले क्रान्ति भनिस्, मैले जिन्दावाद भनेर हिड्यौँ,

फालेर किताब लडाईका बन्दुक बोकेर झोलामा

पुग्लान् अर्कै बिरानो मुलुक मान्छेहरू त एकदिन

सोँच्छु कहाँ पुग्लान् बुद्ध मुलुक बोकेर झोलामा ।

= = = =

४.

जिन्दगीले भन्यो ए ठक्करले बनेको मान्छे

आगोसँग नडरा तँ खन्जरले बनेको मान्छे

समयको हुरीले झार्ने यी फूलहरुलाई हो

चुपचाप सहन्छ चोट पत्थरले बनेको मान्छे

बरु गोमनको बच्चा बिषालु हुँदैन अचेल

हर पाइलामा भेट्छु जहरले बनेको मान्छे

मोती भेटिन्न शान्त तलाउहरूमा बुझ्नु पर्छ

नदी हुन्छ, सागर चुम्छ सफरले बनेको मान्छे

म पाखुरा घोटेर आफ्नो आकार बनाउँदैछु

तिमी बुझ्दैनौ संघर्ष खप्परले बनेको मान्छे ।

= = = =

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.