साहित्यपोस्ट डट कम

शरद पोख्रेलको मुगलानी चरा

शरद पोख्रेलको मुगलानी चरा

शेखर विकल्प नेपाली कवितामा स्थापित नाम हो । गुल्मी जन्मघर भएका विकल्प रूपन्देही जिल्लावासी हुन् भने पछिल्ला केही वर्ष यता जापानमा कर्म गरिरहेका छन् । स्नातकोत्तरसम्म औपचारिक अध्ययन गरी थप प्राविधिक अध्ययन गर्न जापान पुगेका शेखर विकल्प अध्ययन पश्चात जापानमै अटोमोबाइल इन्जिनियरका रूपमा कार्यरत छन् । नेपाली साहित्यको कविता विधामा विशेष रुचि राख्ने विकल्प कविताबाहेक कथा, निबन्ध, गजल, मुक्तक र समालोचना विधामा पनि कलम चलाउँछन् । उनको ‘अक्षरहरूको रङ’ कवितासङ्ग्रह (२०७०) प्रकाशित छ ।

उनी गहिरो सामाजिक चेतना बोकेका स्रष्टा हुन् । आत्मस्वीकार र प्रवासी जीवनको यथार्थ उनका कविताहरूमा प्रष्ट देखिन्छ । व्यक्तिगत प्रेम वियोगदेखि लिएर परिवार, समाज, राजनीति र जिम्मेवारीसम्मका विषयलाई कविले व्यापक रूपमा समेट्ने गर्छन् । उनको लेखनमा गहिरो आत्मसंवादात्मकता छ । वर्णनात्मक शैली, आत्मसंवाद र भावनात्मक विस्फोट उनको लेखनको विशेषता हो । उनको कवितामा प्रवास केवल भौगोलिक दूरी होइन, अस्तित्वको विस्थापन हो- जहाँ स्मृति, जिम्मेवारी र अपूर्णता एकैपटक प्रकट हुन्छन् । भाषागत रूपमा उनी सरल छन्, तर भावगत रूपमा अत्यन्त घनत्वयुक्त छन् ।

आजको मुगलानी चराको २२ औँ शृङ्खलामा हामीले उनै कवि शेखर विकल्पका तीनवटा सुन्दर कविताहरू प्रस्तुत गरेका छौँ ।

लैजाऊ

शेखर विकल्प

दिन त केही छैन तिमीलाई

फेरि रित्तै जाऊ पनि कसरी भनूँ ?

लैजाऊ यी आँखाहरू

तिमीलाई नै हेर्न नपरेपछि

मैले कसलाई पो हेर्नु छ र ?

लैजाऊ यी हातहरू

जब तिम्रा हात नै समाउन नपरेपछि

अब यी हातको के काम ?

लैजाऊ यी खुट्टाहरू

आजसम्म जति हिँडे तिम्रै लयमा हिँडे

अब तिमी नै नभए पछि मलाई कहाँ नै जानु छ र ?

लैजाऊ यी कानहरू

तिम्रो मधुर आवाज सुन्न नपाएपछि

मलाई के नै काम आउँछ र ?

लैजाऊ यो मुटु

तिमी नै नबसे पछि

को आउँछ र बस्न उजाड मरूभूमिमा ?

लैजाऊ सबै इन्द्रियहरू

जब तिम्रो स्पर्श नै हुँदैन भने

किन पो चाहियो मलाई चेतना ?

लैजाऊ वरिपरिका फूलहरू

तिमी नै नभए कसले पो सिहुरिन्छ शिरमा

जानु नै छ भने जाऊ प्रिय

लिएर तिम्रा उपस्थितिका हर स्पर्शहरू

तिमी गएपछि तिमी नहुनुको आभाष पनि नहोस्

तिमी गएपछि तिमी थियौ भन्ने सम्झना पनि नरहोस् !

‍‍‍= = =

मर्नुअघि

सबैभन्दा पहिले पुग्नुछ

गाउँका चौतारी र भन्ज्याङहरूमा

जहाँ मेट्नु छ

केतुकेका पात र मन्दिरका भित्ताहरूमा

लेखेका अश्लील शब्द र सायरीहरू

हुलाकबाटै फिर्ता पठाउनु छ

गाउँको पुरानो ठेगानामा

पूर्वप्रेमिकाले पठाएका केही पोस्टकार्ड र

केही थान रगतले लेखेका प्रेमपत्रहरू

दु:खमा चलाएको अर्मपर्मको साइनो बिर्सेर

खेतको कुलोको झगडाले पानी बाराबर भएका

छिमेकीसँग खोल्नु छ सम्बन्धको नयाँ ढोका

पार्टीको झोला बोकेर

देश बन्ने ठूला सपना देख्ने दौँतरी नौजवानहरूलाई भन्नु छ

अर्काको गुलामी गरेर तलुवा चाट्दैमा बन्दैन देश

देश बनाउन आफ्नै विवेकले खियाउनु पर्छ दशनंग्रा !

चौतारोमा बसेर गाउँका छोरी बुहारीको शरीरको क्षेत्रफल नाप्दै

महिला अधिकार र समाज परिवर्तनका चर्का कुरा गर्ने

समाजसेवीहरूलाई सोध्नु छ – कहिलेकाहीँ ऐना हेर्ने गरेका छौ ?

चुनाव आउँदा मात्रै गाउँ फर्कने नेतालाई सोध्नु छ

कहिलेसम्म समतामूलक समाजको नाममा

मान्छे भिडाएर भोट माग्छौ र बेचिरहन्छौ युवा विदेश ?

सोध्नु छ गुरुलाई

जसले मेरो जीवनको बाटो सिकाए

खराब बाटो हिड्नेहरूलाई – असलमार्ग देखाएकोमा पछुतो लाग्दैन ?

सिकाउनु छ बोडस बसेकी छोरीलाई

दुधको साक्षी विरालो भएर

साखुल्ले हुँदै घाटी रेट्ने धेरै हुन्छन्

गाह्रो छ छोरी समाजमा छोरी भएर बाँच्न !

सम्झाउनु छ कलेज पढ्ने छोरालाई

गल्ती नै गरे पनि जीवनमा

आफ्नै विवेक र बर्कतले गर्नू

कठघरामा उभिनै परे पनि जवाफदेही हुन सकियोस् !

परिवारको इज्जत र समाजको मर्यादाले

स्वतन्त्रता र खुसी बन्धकीमा राखेर

पीडाको आहालमा जिन्दगी जिएकी बहिनीलाई भन्नु छ

नानी ! आफ्नो खुसी र स्वतन्त्रताका लागि

कुर्वानी दिनु परे पनि पछी नपर्नू ।

जिन्दगी भर पीरले थिचिएकी दिदीलाई

शिक्षा नपाएको भागमा दिनु छ बाको जिउनी

फुलाउनु छ दिदीको मुहारमा मखमली खुसी

महाभारतका पर्वहरू घोकेको मेरो भाइलाई

पढाउनु छ रामायणका केही श्लोकहरू

भेट्नु छ बा समानका दाइ र

आमा समानकी भाउजूलाई

सँगै अदालत पुगेर फिर्ता लिनु छ

भाइअंशमा परेको मुद्धा

जिम्मा लगाउनु छ पैतृक सम्पतीको लालपुर्जा !

स्वास्नी ल्याएर टाढा भयो भन्ने सोचेकी आमालाई

भन्नु छ – परिस्थिति नै सबथोक रहेछ आमा !

आमाको काखलाई सिरानी बनाएर

फुकाउनु छ दु:खका ननिका गाँठाहरू

बगाउनु छ केही आँसुका नदीहरू

धनदौलतको अहङ्कारले पर पुग्यो –

भन्ने बुझेका बुढा बालाई सोध्नु छ

बा ! पढेर कहिल्यै नसकिने

बुझेर कहिल्यै नसकिने यो

जिम्मेवारीको किताबको भारी मलाई बोकाएर

कस्तो अग्निपरिक्षा लिनु भो ?

किन हेर्नु भो रमिता ?

सम्बन्ध बिच्छेदको पत्रमा

हस्ताक्षर धस्काएर बसेकी श्रीमतीलाई

दु:खसुखमा ओत लाग्ने पिपल बनौला भनेकी तिमी

जिन्दगीमा कि जितिन्छ कि सिकिन्छ

एकपटक अनुरोध गर्नु छ

सम्भव छ भने अन्तिम चोटीलाई मौका देऊ ।

पुग्नु छ बैंकको माथिल्लो तलामा

भेट्नु छ ऋणशाखाको अधिकृतलाई

केही बक्यौता थमौती गर्नु छ

फुकुवा गर्नु छ लिलामीमा परेको घर

जोगाउनु छ पुस्तौनी खानदानको जरो

धन्यवाद दिनु छ देशलाई

म जस्तो असक्षम नागरिकलाई पत्याएर

सहजै नागरिकता र राहदानी प्रदान गरेकोमा ।

जिन्दगीको लामो रेसलाई टक्क लगाम लगाएर

उभिनु छ यौटा ठूलो ऐना अघि

पुछ्नु छ अनुहारको चाया

र फेर्नु छ लामो सास

कहिल्यै फेर्न नपर्ने गरी ।

===

घर फर्कने दिन

घट्दै गए पनि उमेरका धर्काहरू

घट्न सकेनन् अभावका चुलीहरू

बाध्यताको गहिरो भंगालोमा परेर

अलिकति निधारमा रहरको टिका थापेर

म जस्तै कति थिए होलान् मुग्लान् छिर्नेहरू ?

एकाबिहानै मोबाइलमा मेसेज बज्छन्

अब त घर आउने होला नि ?

दुई थोपा आँसुले लेख्छु तप्प तप्प –

छिट्टै आउँछु !

गर्भमै छाडेर हिडेकी छोरी

कक्षा १ मा पढ्न थालिसकी

कखरा सिक्दा “सबैभन्दा पहिले ‘ब’ लेख्छे

अनि कन्नानी दिन्छे” – भनेर सुनाउँछे उसकी आमा !

अनुहार नदेखेको बा लेख्दै गर्दा

कति थपिंदै गए होलान् उसका

बा को काखमा बस्ने रहर

तर घट्न सकेनन् उसको ‘बा’को घर फर्कने दिन !

जिन्दगी कस्तो नदी रहेछ

न बाँध बनाएर बाँध्न सकिने

न खाडल बनाएर तलाउमा जमाउन सकिने

न घाम देखाएर सुकाउन मिल्ने

यो कस्तो जिन्दगी हो

यो कस्तो सन्नाटा हो

झरी भनेको पानीको मात्रै नहुने रहेछ

मरुभूभिमा पनि झरी नपरेको रात छैन

आङ नभिजेको दिन छैन

एयरपोर्टमा घर फिर्ने मानिसहरू देख्छु

शिरमा १०० किलोको ढुंगा बोकेर हिँडे जस्तो हुन्छ !

बाका चाउरी परेका गाला सम्झन्छु

आमाका काँडा बिजेका खुट्टा सम्झन्छु

प्रियसीको प्रभाती हिमाल जस्तो सिउँदो सम्झन्छु

आखिर परदेशमा सबथोक भन्नु सम्झना त रहेछ !

पठाएर नहुने रहेछ सम्झनाको भारी

बिसाएर नसकिने रहेछ मनको चौतारी

तीज आउँछ बहिनीले दाइ भन्छे

तिहार आउँछ दिदीले भाइ भन्छिन्

दशैँ आउँछ छिमेकीले लाहुरे भन्छन्

मेला भर्दा भाईले सम्झन्छ

पर्व आउँदा दाइले बोलाउँछ

तर आफ्नो कर्ममे कैले घर भन्न दिएन !

मान्छे भासिन हिलो चाहिने रहेनछ

पानीको रह पर्नु पर्ने रहेनछ

परिस्थिति नै सबैभन्दा ठूलो दलदल रहेछ !

परदेश हिड्न डोऱ्याउने पाइतालाले

किन डोऱ्याउँदैन घर हिड्ने बाटाहरू ?

सयौँ चोटी झोला बाोकेर पनि फेरि रोकिन्छु

सम्झन्छु अझै ऋण बाँकी छ

थचक्क बस्छु – समय बाटो छेक्ने नै सबैभन्दा ठूलो पर्खाल रहेछ !

अचेल त यस्तो भैसक्यो

कसैले घर फर्कने कुरा गरे चुपचाप बस्छु

कमाईका कुरा सोधे बोल्न मन लाग्दैन

परदेशीलाई किन बोलाउँछन् होला

सन्चो बिसन्चो पनि किन सोध्छन् होला ?

आखिर दैनिकी

रात दिन बिहान साँझ सबै उस्तै छन्

सोच्छु के परदेश नै हाम्रो भाग्य हो ?

काम छिर्नै लाग्दा

पात्रो फर्काउँछु र हेर्छु कहिले आउँछ –

घर फर्कने दिन !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.