साहित्यपोस्ट डट कम

मोगलीको कथा (भाग ३)

मोगलीको कथा (भाग ३)

मूल लेखक : रूडयार्ड किप्लिङ

अनुवादक : भानु छेत्री

दोस्रो खण्ड ‘का’-को शिकार

चितुवा रमाउँछ आफ्नै थोप्लामा

गर्व छ भैंसीलाई उसकै सिङमा

शिकारीको शक्ति र चातुर्य झल्कन्छ

जब उसको शिकारको छाला टल्कन्छ

गोरुले उफारी फ्याँक्न सक्छ

साँभरको सिङ्गले आघात पुर्याउँछ

नआऊ यहाँ मेलो छोडेर

बसेका छौँ हामी सबै बुझेर

नगर्नू अन्याय अरूका बच्चालाई

ठानेर बस्नु बरू आफन्त उसलाई

साना र प्यारा हुन्छन् ती सबै

भालु पो हो कि आमा तिनको कतै

बच्चाले मार्छ जब पहिलो शिकार

लाग्दछ उसलाई सबै मान्नेछन् हार

सानै छ ऊ जङ्गल छ ठूलो

गमेर यस्तै हिँड़े हुनेछ भलो

मोगली शिओनीको ब्वाँसोहरूका झुण्डदेखि निस्कनभन्दा केही अघिको कुरा हो । यो त्यस समयको कुरा हो जतिखेर भालु बाजेले उसलाई जङ्गलको कानूनको शिक्षा प्रदान गरिरहेथ्यो। ठूलो शरीर भएको फुस्रो रङ्गको गम्भीर भालु यस्तो प्रतिभाशाली शिष्यलाई पाएर धेरै खुशी थियो । ब्वाँसोका चाहरूले जङ्गलको कानूनसित त्यति मात्र सम्बन्धित हुने गर्थ्यो अनि बोहरूलाई शिकार गीत याद हुनेबित्तिकै अन्य शिक्षाबाट तर्कन्थे । तर मोगलीले मान्छेको बच्चा हुनको नातामा अरू पनि धेरै कुराहरू सिक्यो लेकाहीँ कालो चितुवा (बघेरा) उसको प्यारो मोगलीको शिक्षा कहाँसम्म – होला भनी विचार्न आउँथ्यो । जबसम्म मोगलीले भालुलाई त्यस दिनसम्मको पाठ याद गरेर सुनाउँथ्यो तबसम्म ऊ रूखमा आफ्नो शिर अड़ाएर घुर्दै बस्थ्यो । केटो रूखमा चढ्ने, पौड़ने इत्यादि कामहरूमा सिपालु भइसकेको थियो। कानूनको शिक्षा सम्बन्धमा भालुले उसलाई जल र थल दुवैसित सम्बन्धित शिक्षा प्रदान गरिरहेथ्यो। कीरा लागेका अनि स्वस्थ हाँगाहरूमाझ रहेको भिन्नता, जमीनभन्दा लगभग पचास फुटमाथि भएको मौरीको चाकाबाट मह प्राप्त गर्ने तरीका साथै त्यसका निम्ति मौरीहरूसित अप्नाउनपर्ने व्यवहारको तरीका, यदि मध्यान्हमा हाँगाहरूमा विश्राम गरिरहेका चमेराहरूका आराममा दखल दिनपरे कसो गर्नुपर्ने हो, पौड़नु वा नुहाउनुका निम्ति पोखरीमा पस्नभन्दा अघि पानीका साँपहरूलाई कसरी सावधान गर्नपर्ने हो – यी सबै कुराहरूका शिक्षा मोगलीलाई भालुबाट प्राप्त भइरहेथ्यो किनभने जङ्गलवासीहरू आफ्नो जीवनचर्यामा अर्काको दखल मन पराउँदैनथे अनि त्यसो गर्नेहरूलाई हानि पुरयाउन सधैँ तत्पर रहन्थे। भालुले मोगलीलाई यो पनि सिकाएको थियो कि यदि आफ्नो शिकारक्षेत्रबाट बाहिर गई शिकार गर्न परे उसले ती अपरिचितहरूलाई शिकार गर्ने चेताउनी दिनपर्नेछ अनि त्यो चेताउनीलाई दोहोस्याइरहनपर्नेछ। त्यस चेताउनीको अर्थ थियो “म भोको छु यसैले मलाई यहाँ शिकार गर्ने अनुमति दिया जाओस्।” अनि यसको उत्तर हुन्थ्यो “ठीक छ, शिकार गर तर केवल भोक मेटाउनका निम्ति, मनोरञ्जनका निम्ति होइन ।”

मोगलीले धेरै कुराहरू कण्ठस्थ गर्नपर्थ्यो अनि ऊ ती कुराहरू घरीघरी रट्दा थाक्ने गर्थ्यो। एक दिन जब मोगलीले भूल गर्दा थप्पड़ खायो अनि ऊ त्यहाँबाट रिसाएर भाग्यो तब भालुले बघेरालाई भन्यो, ‘मान्छेको बच्चा आखिर मान्छेको बच्चा नै हुन्छ। जङ्गलको कानून राम्ररी सिक्नु उसका निम्ति आवश्यक छ।”

“तर यो पनि सोच कि ऊ कति सानो छ।” यदि बघेराको वशमा हुँदो हो त आफ्नो लाड़प्यारले गर्दा उसले मोगलीलाई बिगारी सक्थ्यो, ‘उसको सानो गिदीभित्र तिम्रा यी ठूल्ठूला कुरा कसरी अटाउन सक्छ?

“के जङ्गलको कुनै पनि जन्तु यति तुच्छ छ कि ऊ बिनासित्तैमा नारियोस् ? होइन । यी नियमहरू उसको सुरक्षाका निम्ति नै बनाइएका हुन् अनि तिनको शिक्षा दिन मेरो काम हो । जब उसले आफ्नो पाठ भुल्छ तब उसलाई हल्का र कोमलतासित एकदुई थप्पड़ पनि कस्नपर्छ ।”

“हल्कासित ? अरे औ बूढ़ो फलामखुट्टे, तेरो थप्पड पनि कहिले हल्का हुनसक्छ? तेरो यही कोमलताले गर्दा नै आज उसको पूरा अनुहार सुन्निएको छ । उफ्!”

“अज्ञानताको कारणले गर्दा उसको कुनै हानि हुनभन्दा त मजस्तो शुभचिन्तकको थप्पड खाएर उसको पूरा शरीर नै सुन्निएको बेस । तँ जान्दछस् कि म उसलाई कति माया गर्छु” भालु बाजेले साँचो र निःस्वार्थ भावले भन्यो। “अब म उसलाई जङ्गलको ती महत्त्वपूर्ण सङ्केत शब्द सिकाइरहेछु, जसले उसलाई चराचुरुङ्गी, साँप अनि चारखुट्टे जन्तुहरूमाझ रक्षा गर्नेछ । यी शब्दावलीका सहायताद्वारा मदत र रक्षाको दावा गर्न सक्नेछ, यी कुराहरू सिक्नका निम्ति यदि उसले अलिकता पिटाइ खानपस्यो भने त्यसमा के नराम्रो छ त?”

“जे भए तापनि यति चाहिँ याद राख्नू कि तैंले पिट्दापिट्‌दै उसको मरण नहोस् । ऊ कुनै रूखको जरा त होइन जहाँ तैंले आफ्ना बोधो न‌ङ्ग्राहरूलाई तिखार्न सकोस् तर मलाई पनि त भन् न ती सङ्केत शब्दहरू के हुन् ? त्यसै पनि मलाई त अर्काको मदतको के खाँचो पर्ला तर हुनसक्छ कि म अरूको मदत गर्न सकूँ ।” बघेराले आफ्नो एउटा पञ्जा फैलाएर उसको इस्पाती नीलो रङ्गको तीखा न‌ङ्ग्राहरूलाई सन्तोषजनक प्रशंसामुग्ध दृष्टिले हेर्दै भन्यो, “तरै पनि म ती शब्दावलीलाई जानी त राखूँ!”

“म मोगलीलाई बोलाउँछु, उसैको मुखबाट तैंले यी शब्दावली सुन्नू ।.. एकछिन यता आइज सानो भाइ!”

“मेरो टाउको मौरीको चाकाजस्तै भनभनाइरहेछ ।”, उसको टाउको माथिबाट मोगलीको रिसाएको, कुद्ध स्वर सुनियो । यति भनेर ऊ रूखको काण्डबाट सुल्किँदै तल झस्यो । ऊ रिसले चूर देखिन्थ्यो, उसले भन्यो, “मोटे भालु, म तैंले भनेर होइन तर बघेराको कारणले तल झरेको हुँ” भालुलाई यस कुराले दुःख त लाग्यो तर उसले भन्यो, “त्यसले कुनै फरक पर्दैन। यहाँ आएर तैंले सिकेका सङ्केत शब्दहरू बघेरालाई सुनाइदे त !”

“कुन चैं जन्तुको सङ्केत्त शब्द?” मोगलीले आफ्नो रिस भुल्यो अनि आफ्नो योग्यता दर्शाउने यो अवसर पाएर रमाउँदै भन्यो, “जङ्गलका भिन्नभिन्नै जन्तुका भिन्नभिन्नै भाषाहरू छन् । मलाई ती सबैको ज्ञान छ ।”

“तीमध्ये तँलाई केहीको मात्र ज्ञान छ, सबैको होइन। देख्दैछस् बघेरा कस्तो फुटानी देखाउँदैछ। यिनीहरूले कहिल्यै पनि आफ्ना गुरुप्रति कृतज्ञता दर्शाउँदैनन्। मबाट शिक्षा पाएको कुनै पनि ब्वाँसोको बच्चा ठूलो भएपछि आजसम्म आफ्नो यो बूढ़ो गुरुलाई धन्यवाद दिनका निम्ति भेट्न आएको छैन। ठीक छ, विद्वान् महोदय, लौ भन त शिकारीहरूका सङ्केत शब्दहरू के के हुन्?”

“तँ र म एउटै रगतका हौँ”, मोगलीले एउटा भालुको लवजमा ती शब्दहरूका उच्चारण गस्यो जो सबै शिकारीहरूले गर्छन् ।

“धेरै राम्रो अब चराचुरुङ्गीका सङ्केत शब्द भन्।” मोगलीले तिनै शब्दलाई फेरि दोहोरायो, केवल अन्तमा चिलको झैँ सिटीको आवाज निकाल्यो।

“साँपहरूका सङ्केत शब्द भन्।”

यसको उत्तरमा मोगलीले आफ्नो मुखबाट साँपहरूले जस्तै स्याँक्क गर्ने आवाज निकाल्यो अनि आफ्नै प्रशंसामा थप्पड़ी मार्दै उफ्रिएर बघेराको ढाड़माथि बस्यो। आफ्नो खुट्टाको एड़ीले बघेराको चिल्लो टल्किरहेको छालामाथि तबेला बजाए झैँ गरी उसले किसिमकिसिमका मुख बनाउँदै भालुलाई गिज्याइरह्यो ।

“देखिस् ! यो नरखटेले जति सिकेको छ त्यसको सट्टामा यदि यसले अलिकता पिटाइ खानुपस्यो भने त्यो केही पनि होइन।” फेरि भालु बाजेले मोगलीतिर हेर्दै स्नेहपूर्वक भन्यो “कुनै दिन तैंले मलाई सम्झनेछस्।” ऊ बघेरापट्टि फर्केर कुरा गर्न थाल्यो उसले कसरी जङ्गली हात्तीलाई, जसले यी सबै जान्दथ्यो, अनुरोध गरेर यी सङ्केत शब्दहरू सिकेको थियो। त्यस हात्तीले पानीको साँपबाट उसको सङ्केत शब्द सिक्नका निम्ति मोगलीलाई ऊ कहाँ लगेको थियो। भालु आफैले त्यसको उच्चारण गर्न सक्दैन थियो। यी सबै सङ्केत शब्दहरू सिकिसकेपछि मोगली जङ्गलको

सबै किसिमका सङ्कटहरूदेखि सुरक्षित बन्न पुगेको थियो किनभने अरु उसलाई साँप, पक्षी, जानवर कसैबाट आक्रमणको डर थिएन।

“अब मोगलीलाई कसैसित डराउने आवश्यकता छैन”, भालुल आफ्नो ठूलो रौंसरिको मुँड़ीलाई थपथपाउँदै भन्यो।

“केवल आफ्नो जातिबाहेक”, बघेरा दबिएको स्वरमा फतफतायो अनि उसले अलि ठूलो स्वरमा मोगलीलाई भन्यो, ‘सानो भाइ, मेरो करङहरूप्रति तँ अलिकता ध्यान दे। मेरो ढाँडमाथि किन यसरी उफ्रिरहेछस् ?”

मोगलीले बघेराको काँधको भुत्ला तान्दै अनि त्यसको छेउमा एडीले हिर्काइहिर्काइ उसको ध्यान आफूप्रति पार्ने कोशिश गरिरहेको थियो। जब बघेरा र भालु दुवैले उसको कुरा सुन्न थाले तब उसले कराइकराइ भन्यो “आफ्नो झुण्ड अलग्गै बनाउनेछु अनि तिनीहरूलाई लिएर दिनभरि एउटा रूखको एउटा हाँगादेखि अर्को हाँगामा घुमिरहनेछु।”

“अब यो कुन नयाँ बदमाशी हो तेरो। यो कस्तो खालको सपना देख्न थालेको, सानो भाइ?” बघेराले भन्यो।

“म ठीक भन्दैछु। म र मेरो झुण्डले बूढ़ो भालुमाथि धूलो र सुकेक हाँगाहरू फ्याँकिरहनेछौँ। तिनीहरूले मसित बाचा गरेका छन्। आह!”

भालुले हुँकार भस्यो अनि आफ्नो ठूलो र भारी पञ्जाको माझम फसेको मोगलीले स्पष्ट देखिरहेथ्यो ऊ रिसले आगो बनेको छ।

“मोगली”, भालुले भन्यो, “के तेरो बाँदरहरूसित कुराकानी भएको छ?”

मोगलीले बघेरातिर हेस्यो अनि ऊ पनि कतै रिसाएको छ कि भन्ने कुरा जान्न खोज्यो। उसका आँखाहरूमा पनि कठोरता झल्किरहेथ्यो।

“तेरो बाँदरहरूसित भेट भएको छ। तिनीहरूको कुनै कानून हुँदैन तिनीहरू सबै किसिमका चीजहरू खाइरहन्छन्। बड़ो लाजमर्दो कुरा हो।”

“जब भालुले मलाई हिर्कायो तब म यहाँबाट गएँ। मेरो हालत देख बाँदरहरू रूखबाट उत्रिए अनि मप्रति दयाको भाव दर्शाए । अरू कसैले मेरो पर्वाह नै गरेन”, यति भनेर ऊ सुँकसुँकाउन थाल्यो।

“अहो! बाँदरहरूको दयाको भाव!” भालुले घुर्दै भन्यो, “यो त पहाडको नदीले बग्न छोड्नु, होइन भने गरम महिनाको घामले शीतल हुनु भनेको जस्तै हो। त्यसपछि के भयो मान्छेको बच्चा ?”

“अनि त्यसपछि… त्यसपछि तिनीहरूले मलाई मेवा अनि राम्राराम्रा खाने कुराहरू खान दिए। तिनीहरूले मलाई आफ्ना हातहरूमा उठाएर रूखमाथि चढे अनि मैले भनें कि रगतको साइनोले म तिनीहरूका भाइ हुँ – मेरो पुच्छर मात्र छैन। तिनीहरूले भने कि म एक दिन तिनीहरूका नेता बन्नेछु।”

तिनीहरूको कुनै नेतासेता छैन।” बघेराले भन्यो, तिनीहरूले ढाँटिरहेछन्। ढाँट्ने त तिनीहरूको बानी नै हो।”

“मप्रति उनीहरू साहै दयालु थिए। तिनीहरूले मलाई फेरि पनि आउनू भनेका छन्। मलाई अहिलेसम्म बाँदरहरूसित किन भेट नगराएको? तिनीहरू पनि मजस्तै आफ्नो खुट्टामा उभिन्छन् । तिनीहरूले मलाई भालुको जस्तै ठूल्ठूला पञ्जाहरूले हिर्काउँदैनन्। तिनीहरू त दिनभरि खेलिरहन्छन् । छोड्दे मलाई उठ्न दे दुष्ट भालु ! म तिनीहरूसित खेल्न जान्छु।”

“सुन् मान्छेको बच्चा!”, भालुले भन्यो अनि उसको आवाज गर्मीको रातहरूमा सुनिने बादलको गर्जनजस्तै जङ्‌गलमा व्याप्त भयो। मैले तँलाई जङ्गलमा बस्नेहरूका कानून पूर्णरूपले सिकाइदिएको छु। अँ रूखमा बस्ने बाँदरहरूका विषयमा भने केही बताइनँ। वास्तवमा तिनीहरूको कुनै कानून नै छैन। तिनीहरू हाम्रा समाजदेखि बहिष्कृत जाति हुन्। तिनीहरूको आफ्नो भाषासम्म छैन तिनीहरूले अर्काको भाषाबाट चोरिएका शब्दहरूका नै प्रयोग गर्छन्। तिनीहरूको र हाम्रो कुनै मेल छैन। तिनीहरूको कुनै नेता पनि छैन। तिनीहरूको स्मरण शक्ति पनि हुँदैन। तिनीहरू बेकारको फुटानी देखाउँदै हिँड्छन् कि तिनीहरू महान् जाति हुन् अनि जङ्गलमा ठूल्ठूला कार्यहरू गर्नेवाला छन्, तर रूखबाट कुनै फल खस्नु नै तिनीहरूले सबै कुरा भुल्नु हो। हामी तिनीहरूसित कुनै किसिमको सम्बन्ध राख्दैनौँ। बाँदरहरूले पानी पिउने ठाउँको पानी हामी पिउँदैनौँ। तिनीहरू जाने ठाउँमा हामी जाँदैनौँ, तिनीहरूका शिकार क्षेत्रमा हामी शिकार पनि गर्दैनौँ अनि तिनीहरू मर्ने ठाउँमा गएर हामी मर्दैनौँ । के तैंले मेरो मुखबाट आजसम्म तिनीहरूका चर्चा सुनेको छस्?”

“अहँ !” अलिक खुम्चिन पुगेको मोगलीले सानो स्वरमा भन्यो भालु बाजेले बोलिसकेपछि वातावरणमा शून्यता व्याप्त भएको थियो ।

“जङगलवासीहरूले न त तिनीहरूको विषयमा कहिल्यै केही भन्छन् न सोचछन्। तिनीहरू सङ्ख्यामा धेरै छन्, दुष्ट, मैला र निर्लज छन् अनि तिनीहरूको यही इच्छा रहन्छ कि जङगलवासीहरूले तिनीहरू प्रति ध्यान दिऊन् । तर तिनीहरूद्वारा हाम्रो शिरमाथि सुक्खा फल अनि मैलाकचेडा फ्याँकिदा पनि हामी तिनीहरूप्रति ध्यान दिँदैनौँ।”

भालुको कुरा टुङ्गिएको पनि थिएन कि माथि रूखको हाँगाहरूबाट तिनीहरूमाथि सुक्खा फल र हाँगाहरू बर्सिए झैँ भयो अनि ख्या… खक् गर्दै हल्ला गरेको र उफ्रिएको आवाजहरू आउन थाल्यो।

“बाँदरहरूलाई जङ्गलको अन्य प्राणीहरूद्वारा बहिष्कार गरिएको छ – तिनीहरूसित मेलमिलाप गर्नु मनाही छ, यी कुरा याद राख्नू ।” भालुले भन्यो।

“अँ मनाही छ।” बघेराले भन्यो, “बरू भालुले तँलाई यस विषयमा पहिले नै सचेत गरिदिनपर्ने थियो।”

“कसले?… मैले?” तर म त यस्तो सोच्न पनि सक्दिनथें कि यो यस्ता नराम्रा मान्छेहरूसित खेल्न चाहन्छ। बाँदरहरू ! छिः!”

एकपटक फेरि तिनीहरूमाथि कडा फल र सुक्खा हाँगाहरूका वर्षा भयो अनि तिनीहरू दुवै मोगलीलाई साथमा लिएर त्यहाँबाट हिँड़े। भालुले बाँदरहरूको विषयमा जे पनि भनेको थियो, सबै साँचो थियो। तिनीहरू रूखहरूका टुप्पोमा बस्थे अनि तल बस्ने जन्तुहरूसित तिनीहरूको कुनै सम्बन्ध नै थिएन। त्यसै पनि तल भएका जन्तुले टाउको उठाएर मास्तिर कम्ती नै हेर्थ्यो। तर बाँदरहरूले जब कुनै पनि घाइते ब्वाँसो, बाघ वा भालु देख्थे, तिनीहरू उसलाई सताउन पछि पर्दैन थिए। तिनीहरू ऊमाथि सुक्छ फल वा हाँगाहरू फ्याँक्न लाग्थे अनि उसको ध्यान आफूपट्टि पार्ने कोशित गर्थे। त्यसपछि तिनीहरू हल्ला गर्दै बेअर्थका गीतहरू गाउन थाल्थे अनि जङ्गलको जन्तुहरूलाई रूखमा चढेर तिनीहरूसित भिड़िने चुनौति दिन्थे वा कुनै कारणबिना नै आपस्तमा झगड़ा गर्न थाल्थे। मर्न वा मार्नसम्म तयार हुन्थे अनि यदि कुनै बाँदर मरेको खण्डमा उसलाई यस्तो ठाउँमा फ्याँकिदिन्थे जहाँ जङ्गलवासीहरूले देख्न सकोस्। तिनीहरूले आफ्नो कानून र नेता बनाउने कुरा त प्रायः नै गरिरहन्थे तर ती कुराहरूमाथि कहिल्यै अमल गर्न पाउँदैनथे किनभने तिनीहरूलाई त्यो कुरा एक दिनभन्दा अधिक याद नै रहँदैनथियो। आफ्नो यस्तो दुर्बलतालाई लुकाउन अनि यसलाई आदर्श रूप दिनका निम्ति तिनीहरूले एउटा उखान बनाएका थिए, “बाँदरहरूले आज जे सोच्छन् भोलि त्यो सारा जङ्गलले सोच्ने गर्छन्।” यस उखानबाट तिनीहरूले प्रशस्त सान्त्वना पाउँथे। जङ्गलका जन्तुहरू न त तिनीहरूको छेउमा पुग्न सक्थे न तिनीहरूमाथि कुनै चासो नै राख्थे यसैकारण जब मोगली तिनीहरूसित खेल्न पुग्यो तब तिनीहरूका हर्षको कुनै सीमा नै रहेन। तिनीहरूले यो पनि देखेका र सुनेका थिए कि भालु यस कुराले कति साह्रो रिसाएको थियो अनि यसबाट पनि तिनीहरूले धेरै सन्तोष अनुभव प्राप्त गरेका थिए ।

यो भन्दा अधिक केही गर्ने विचार तिनीहरूको थिएन बाँदरहरूको पनि के विचार हुन सक्छ र? तर तिनीहरूमध्ये एउटा बाँदरको मनमा उसको हिसाबले एउटा ठूलो कामको विचार आयो। त्यसले अरू बाँदरहरूलाई भन्यो कि मोगलीलाई आफ्नो झुण्डमा सामेल गर्न तिनीहरूका निम्ति धेरै उपयोगी सिद्ध हुनसक्छ किनकि उसले पात्लो हाँगाहरूलाई बुनेर एउटा यस्तो चीज तयार पार्न सक्छ जसले तेज हावाबाट तिनीहरूको रक्षा गर्न सक्छ। भएन, ऊबाट यो काम सिक्न पनि सकिन्छ। यसमा कुनै शङ्का थिएन कि एउटा दाउरेको छोरा हुनको नातामा मोगलीमा कतिपय जन्मजात गुणहरू पनि आइसकेका थिए। उसले कसैबाट नसिकिकन नै आफैले

भुइँमा खसेका पात र हाँगाहरूद्वारा ससाना झोपड़ीहरू बनाउनु थालेको थियो। बाँदरहरूले माथि रूखबाट यी सबै हेर्ने गर्थे, उसको यस खेलसित साहै प्रभावित थिए। तिनीहरूलाई विश्वास भइसकेको थियो कि यदि मोगलीको नेतृत्व पाइए तिनीहरू जङ्गलको सबैभन्दा बुद्धिमानी जाति प्रमाणित हुने थिए- यति बुद्धिमान कि जङ्गलका बाँकी बासिन्दाहरूले तिनीहरूका आहिस गर्न थाल्नेछन् अनि तिनीहरूलाई हेलाहाँचो पनि गर्नेछैनन् । तिनीहरूले चुपचापसित भालु, बघेरा अनि मोगलीको पिछा गर्न थाले। जब मध्यान्हमा सुत्ने समय आयो मोगली जो आफ्नो भर्खरको व्यवहारको कारणले गर्दा लज्जित थियो, बाँदरहरूसित कुनै किसिमको सम्बन्ध नराख्ने प्रण मनमनै गर्दै भालु र बघेराको बीचमा गई पल्टियो अनि गहिरो निन्द्रामा डुब्न पुग्यो ।

त्यसपछि त एकैचोटि उसले आफ्ना हात र खुट्टाहरूमा कडा, दहिलो र ससाना हातहरूले छोएको अनुभव गस्यो, उसको अनुहारवरिपरि पात्लो हाँगा र पातहरू लहराइरहेका थिए। उसले रुखको झुल्दै गरेका हाँगाहरूबाट तलतिर नियाल्यो। भालुले आफ्नो ठूलो स्वरले कराएर सारा जङ्गललाई ब्यूँझाइदिएको थियो अनि बघेरा भने मुख खोलेर छिटोछिटो गरी रूखमा चढ़िरहेको थियो। बाँदरहरू आफ्नो जीतमा घमण्डले फुल्लिएर हल्ला गर्दै रूखको अझ अग्ला हाँगाहरूमा चढ्न पुगे जहाँ पुग्ने साहस बघेराले गर्न सक्दैन थियो। तिनीहरू कराइरहेका थिए, “त्यसले हामीहरूलाई हेर्दैछ। हेर, हेर बघेराले हामीपट्टि ध्यान दियो। जङ्गलको सबैले हाम्रो होशियारी र चतुस्याइको प्रशंसा गरिरहेछन् ।”

त्यसपछि बाँदरहरू एउटा रूखदेखि अर्को रूखको हाँगामा हाम फाल्दै भाग्न थाले। बाँदरहरू रूखहरूको बाटो भई उफ्रँदै दौड़ेको वर्णन गर्नु सजिलो छैन। त्यहाँ तिनीहरूको आफ्नै सड़क र चौबाटोहरू हुन्छन् जो भुइँदेखि पचास, सत्तर अथवा सय फुटसम्मको उच्चतामा हुन्छन् । आवश्यकता परेको खण्डमा तिनीहरू राति पनि यस मार्गबाट यात्रा गर्न सक्छन् । दुई बलिया बाँदरहरूले दुई छेउबाट दहिलोसित मोगलीको हात समातेका थिए अनि बीसबीस फुटको लामो हाम फाल्दै उसलाई पनि रूखहरूको बाटो भएर आफूसित लैजाँदैथिए। यदि मोगली तिनीहरूसित नहुँदो हो त तिनीहरू त्योभन्दा दुई गुणा तेजीसित यात्रा गर्न सक्नेथिए, तर मोगलीको ओजनले गर्दा तिनीहरूको गति धीमा हुन पुगेको थियो। मोगलीलाई रिङ्गटा चलिरहेथ्यो अनि त्यत्रो माथिबाट बीचबीचमा उसले जमीनको झलक पाउँदा डर पनि लागिरहेथ्यो। बाँदरहरूले लामोलामो हाम फाल्दा पर्ने झट्‌काले उसको मुटुले ठाउँ छोड्न आँटेको थियो। तर उसलाई यो बाँदरको दौड़मा मज्जा पनि लागिरहेथ्यो। ती दुई बाँदरहरू उसलाई लिएर कुनै रूखको माथिल्ला हाँगाहरूमा त्यतिखेरसम्म चढ़िरहन्थे जबसम्म ती हाँगाहरू उनीहरूको ओजनले दबिएर भाँचिन खोज्दैनथियो अनि तिनीहरू ख्याँक… ख्याँक र खूँक… खुक गरेर हल्ला गर्दै टाढाको कुनै रूखका तल्लो हाँगाहरूलाई ताकेर हाम फाल्थे। जब ती हाँगाहरूलाई तिनीहरूका हात वा खुट्टाले पक्रन्थे तब छिटोछिटो चढ़ेर फेरि त्यस रूखको टुप्पामा पुग्थे। कहिलेकाहीँ रूखहरूका टुप्पोमा पुगिसकेपछि जहाजको मस्तूलमाथि चढ़ेको मान्छेले आफ्नो वरिपरि टाढाटाढ़ा फैलिएका जलराशिलाई देखे झैँ गरी उसले पनि त्यो हरियो, शान्त र फैलिएको वनक्षेत्रमा कोसौँ टाढासम्म देख्ने गर्थ्यो। तर एकैक्षणमा नै रूखका हाँगा वा पातहरू उसको अनुहारमा ठोकिन आइपुग्थे अनि उसलाई पक्रेका ती दुई अङ्गरक्षकहरू झण्डै भुइँलाई नै छुन पुग्थे । यसरी हल्ला गर्दै, उफ्रदै र हाम फाल्दै बाँदरहरूको त्यो झुण्ड आफ्नो बन्दी मोगलीलाई लिएर रूखको बाटो भई अघि बढी नै रहे ।

क्रमश:

(भानु छेत्रीको अनुवादमा रहेको विश्वप्रसिद्ध पुस्तक ‘जङ्गल बूक’ पुस्तकबाट)

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.