गोदान र गबन जस्ता धेरै कालजयी रचनाहरूका कारण हिन्दी साहित्यको विराट आकाशमा मुन्सी प्रेमचन्द सधैँ चम्किरहने नक्षत्र हुन् । सरल भाषा र शिल्पको अद्भुत प्रयोग गरेका कारण उनले यथार्थवादी साहित्यलाई एउटा नयाँ दिशा दिएका थिए । परिवेशका हिसाबले जुन समयमा उनले कृतिहरूको रचना गरेका थिए, त्यो समय र आजको समयको परिवेशबीच निकै ठूलो अन्तराल देखिन्छ । उनका पात्रहरू त्यो समयका हुन्, जुन समयमा मान्छे ग्रामीण जीवन बाँच्थ्यो । अभाव, गरीबी र अन्धविश्वास—यी सबै जीवनका मानौँ आवश्यक संघर्षहरू हुन्थे । तर, मुन्शी प्रेमचन्दका पात्रहरूका संवादको गहिराइ र उनको कलमको जादुमयी कलात्मकताले उपन्यास, कथा र पात्रहरूलाई ‘कालजयी’ बनाएका छन् । उनका सिर्जनाले एउटा सिंगो युगको बोध त गराउँछ नै, यसका साथै ती सिर्जनाले बदलिरहेको समय र कालखण्डलाई समेत आफ्नो पकडमा राख्न सक्ने अद्भुत सामर्थ्य राख्दछन् । त्यसैले नै होला, प्रेमचन्दका कथाहरू आज पनि निरन्तर हिँडिरहेका छन् र पाठकको हृदयलाई तरंगित पारिरहेका छन् । उनका रचनाहरूले आजको समयको पनि युग बोध गराउँछन् ।
“निर्मला” उपन्यास सामाजिक विसंगतिमाथि उनले लेखेको एउटा सशक्त उपन्यास हो । १६० पेजको सानो कलेवरभित्रै पितृसत्ताको दबाब, अभाव र मानवीय पीडालाई मिहिन ढंगले प्रस्तुत गरिएको छ । दाइजो प्रथालाई मुख्य समस्या बनाइएको यस उपन्यासको कथावस्तु आजको समाजमा पनि उत्तिकै मेल खान्छ । सम्पूर्ण कथा निर्मला पात्रकै वरिपरि घुम्छ, जो कथाकी मुख्य पात्र हुन् । त्यसैले उपन्यासको शीर्षक चयन झनै सान्दर्भिक देखिन्छ । निर्मलाका बुबाको मृत्यु भएपछि दाइजो दिन नसक्दा पक्कापक्की भएको उनको विवाह अस्वीकार गरिन्छ । यसको परिणामस्वरुप निर्मलालाई उमेरले आफूभन्दा निकै पाको विधुर पुरुषसँग विवाह गर्नुपर्ने बाध्यता आइलाग्छ, जसको नाम मुन्शी तोताराम हुन्छ ।
त्यस घरमा मुन्शी तोतारामका पहिले नै तीनजना छोराहरू हुन्छन् । स्वाभाविक नै मान्नुपर्छ, निर्मला र उनका श्रीमान्बीच तालमेल मिल्ने कुरा नै अनौठो लाग्छ, त्यसैले उनीहरूबीच कुनै प्राकृतिक आकर्षणको सम्भावना पनि न्यून रहन्छ । उपन्यासमा मुख्य मोड त्यतिबेला आउँछ, जब तोतारामले आफ्नी पत्नी निर्मला र आफ्नै जेठो छोरा मन्सारामबीचको सम्बन्धलाई शंकाको दृष्टिले हेर्न थाल्छन् । उमेरका हिसाबले मन्साराम र निर्मलाबीचको अन्तर धेरै छैन । यो तोतारामको एक असुरक्षित र संकीर्ण भाव भए तापनि निर्मला अन्जानमै मन्सारामको आत्मीयताप्रति आकर्षित भइरहेकी हुन्छिन्, तर यसलाई पुष्टि गर्ने कुनै ठोस कारण भने उपन्यासमा देखिँदैन । अन्ततः त्यही शंकाको बीउले उब्जाएको विषाक्त मानसिकता नै मन्सारामको अकाल मृत्युको कारण बन्दछ ।
जुन समयमा यो उपन्यास लेखिएको थियो, त्यो समयमा पितृसत्ताको पराकाष्ठा, बालविवाह र दाइजो जस्ता सामाजिक विकृतिले समाजलाई आफ्नो चंगुलमा जकडेको थियो । ‘निर्मला’ उपन्यासमा यस्ता धेरै पात्र र घटनाहरू छन्, जुन आजको समयमा पनि पुराना भएका छैनन् । ती संवाद र सामाजिक परिवेशका प्रतिध्वनिहरू अझै पनि हाम्रो समाजमा सुनिन्छन् । मुन्शी प्रेमचन्दले एउटा गम्भीर सामाजिक समस्यालाई यति मसिनो गरी केलाएका छन् कि, मानौँ यो समस्या आज पनि हाम्रो समाजमा ज्यूँदै छ ।
भारतीय ग्रामीण परिवेशमा लेखिएको यो उपन्यासले पितृसत्तात्मक सामाजिक संरचना र कमजोर आर्थिक अवस्थामा महिलाले भोग्नुपर्ने संघर्षका तरंगहरूलाई अत्यन्तै गहिराइमा पुगेर चित्रण गरेको छ । मुन्शी तोतारामको अधबैँसे उमेरको असुरक्षित भाव र संकीर्ण सोचको मूल्य उनको पूरा परिवारले चुकाउनुपर्ने हुन्छ । त्यसैले, यो उपन्यास केवल एक पात्रको कथा मात्र नभएर एउटा मार्मिक र भयानक दुखान्त (Tragedy) पनि हो ।
यस उपन्यासले पुरुष मनोवृत्तिमाथि नरम तरिकाले कडा प्रहार गर्न खोजेको छ । उदाहरणका लागि, जब निर्मला आफ्नी बहिनी कृष्णाको विवाहका लागि माइत जान्छिन्, उनले आफ्नो मनको पीडा पोख्ने एउटा भरोसायोग्य साथी बहिनी कृष्णालाई पाउँछिन् । यी दुई दिदी-बहिनीको वार्तालापमा उनीहरू आफ्नो अस्तित्वप्रति सचेत देखिन्छन्, तर परम्पराको जलप लगाएर आफ्नो अस्तित्वलाई खुम्च्याउन बाध्य छन् । “पुरुष आखिर किन यति शंकालु हुन्छ?” भन्ने प्रश्नमा कृष्णाको विश्लेषण निकै परिपक्व र घतलाग्दो लाग्छ ।
कथाको मध्यभागमा सुधाको प्रवेश हुन्छ, जो त्यही व्यक्तिकी श्रीमती हुन् जसले दाइजोको लोभमा सुरुमा निर्मलालाई त्यागेका थिए । अहिले त्यही परिवारले कृष्णालाई विवाह गरी आफ्नो पुरानो ‘अपराधबोध’बाट मुक्त हुन खोजेको देखिन्छ । सुधा र निर्मलाबीच घनिष्ठ मित्रता त हुन्छ, तर सुधाका श्रीमान् निर्मलाप्रति आशक्त भएको कुरा कथाको अन्तमा मात्र खुल्छ । सो रहस्योद्घाटनले कथालाई अझ गहिरो दुखान्ततर्फ धकेल्न मद्दत गरेको छ । यसले एउटा गम्भीर प्रश्न खडा गर्छ: के पुरुषहरू कमजोर महिलालाई गलत दृष्टिले हेर्नुमा बढी सहजता महसुस गर्छन्? चाहे त्यो उमेरको अन्तर होस्, आर्थिक विपन्नता होस् वा सामाजिक एक्लोपन—कमजोर र जोखिममा रहेका महिलाहरू नै समाजमा बढी दुर्व्यवहारको सिकार हुने गरेका छन् । प्रेमचन्दले यो उपन्यास मार्फत त्यही तीतो सत्यलाई ऐना देखाइदिएका छन् । प्रविधि र आधुनिकता आए पनि महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूको ‘कमजोरी’ लाई फाइदा उठाउने प्रवृत्तिमा अहिले पनि परिवर्तन आउन सकेको छैन । यो समग्र समाजको दुखद पाटो हो । त्यसैले भन्न सकिन्छ, यो वर्तमान समयका विकृतिलाई समेत चिर्न सफल उपन्यास हो ।
उपन्यासभरि निर्मलाको दुःख कहिल्यै कम हुँदैन, बरु समयसँगै झन् सघन हुँदै जान्छ । दुईजना सौतेनी छोराहरूको मृत्युको कारक अप्रत्यक्ष रूपमा निर्मला नै बन्न पुग्छिन्, जुन कुरा सबैका सामुन्ने छर्लङ्ग छ । तर, यो उनले चाहेर गरेको नभई परिस्थितिको क्रूर खेल थियो । सबैतिरबाट दिक्क र अवसाद (Depression) ले घेरिएको निर्मलाको चरित्रमाथि कहिँकतैबाट न्याय हुँदैन । आफ्नो जीवनप्रति विक्षिप्त बनेकी उनी कतिपय अवस्थामा आफ्नो आवेग कान्छो सौतेनी छोरामाथि निकाल्छिन्, जसको परिणामस्वरूप अर्को दुखान्त अन्त्य हुन पुग्छ ।
हाम्रो समाजमा महिलालाई भलै दोस्रो दर्जामा राखिएको होस्, तर श्रीमतीको मृत्युपछि पुरुष एक्लै बस्न सक्दैन भन्ने कुराको जीवन्त उदाहरण मुन्शी तोताराम हुन् । उनको घरमा तीन-तीन जना छोराहरू र दिदी रुकमणि हुँदाहुँदै पनि, उनले आफ्नै छोरी समानकी बालिकासँग विवाह गर्ने निर्णय गर्नुले पुरुषको चरम स्वार्थीपनलाई उजागर गर्छ । यो विवाह केवल शारीरिक आवश्यकता वा घर सम्हाल्ने चाहना मात्र थिएन, बल्कि यो त महिलामाथि निर्भर रहनुपर्ने पुरुषको परजीवी मानसिकताको पुष्टि पनि हो । प्रेमचन्दले यहाँ देखाउन सफल भएका छन् कि— पुरुष समाजले महिलालाई ‘सबल’ र ‘स्वतन्त्र’ हुन त दिँदैन, तर आफैँ पनि महिलाको सहयोगबिना एक कदम चल्न सक्दैन । यो विरोधाभास नै पितृसत्ताको सबैभन्दा ठूलो कमजोरी हो ।
निर्मलाले वास्तवमा परिवार र सौतेनी छोराहरूको भलो नै गर्न खोजेकी थिइन् । उनी जे गर्छिन्, अन्ततः एउटा नराम्रो परिबन्दमा फस्दै जान्छिन् । यस अर्थमा उनी एउटी साहसी र सहनशील महिला हुन्, जसले आफ्नो अस्तित्वभन्दा श्रीमान्को परिवारलाई प्राथमिकतामा राखिन् । तर, विडम्बना! उनको भावनालाई परिवारले सधैँ नकारात्मक रूपमा परिभाषित गरिदियो । अन्ततः एउटा यस्तो मोड आउँछ, जहाँ उनका श्रीमानले सबै दोष उनैमाथि थोपरेर घर छोडी हिँड्छन्, जसले निर्मलालाई पूर्णतः एकाकीपन र मृत्युको मुखमा पुर्याउँछ ।
निर्मलाको अन्तिम संवाद र उनको मृत्युको यो प्रसङ्ग उपन्यासकै सबैभन्दा हृदयविदारक र शक्तिशाली पक्ष हो । मृत्युको अन्तिम घडीमा रहेकी निर्मलाले आफ्नी नाबालक छोरीलाई रुक्मिणीको जिम्मा लगाउँदै एउटा अत्यन्तै मर्मस्पर्शी कुरा भन्छिन्— “बरु यसलाई विष दिएर मारिदिनु, तर कुनै कुपात्रसँग विवाह नगराइदिनु ।“ यो वाक्य केवल एउटा संवाद मात्र होइन, यो त निर्मलाले आफ्नो जीवनभर भोगेको नारकीय यन्त्रणाको निचोड हो । आफूले भोगेको अनमेल विवाह र त्यसले निम्त्याएको पारिवारिक उजाडलाई निर्मला आफ्नो सन्तानको जीवनमा दोहोरिएको हेर्न चाहँदिनन् । उनका लागि विष पिएर मर्नु बरु सहज थियो, तर कुपात्र वा बेमेल सम्बन्धको विष घुट्घुटिएर पिउँदै बाँच्नु असह्य थियो । छोरीले आफूजस्तै ‘जीवित लास’ बनेर बाँच्न नपरोस् भन्ने उनको त्यो अन्तिम इच्छाले हाम्रो समाजको वैवाहिक कुप्रथामाथि एउटा गम्भीर प्रश्न र सन्देश छाडेर जान्छ ।
यो उपन्यास तत्कालीन समाजको एउटा ऐना र आँखीझ्याल मात्र होइन, यसले त्यस बेलाका सामाजिक विसंगतिहरूलाई ज्यादै मार्मिक र दह्रो जवाफ समेत दिएको छ । मुन्शी प्रेमचन्दले आफ्नो कलममार्फत एउटा यस्तो कालजयी कृति सिर्जना गरेका छन्, जसले साहित्य कसरी लेखिनुपर्छ र त्यसले समाजलाई कसरी झक्झकाउनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ । उनको यो लेखन कला र सामाजिक चेतले गर्दा नै आज पनि ‘निर्मला’ को पीडा हरेक पाठकको मनमा ताजा भइरहन्छ । यस उपन्यासका धेरै सबल पक्षहरूमध्ये सबैभन्दा सशक्त पक्ष भनेको यो कृति एउटा यस्तो ‘ऐना’ हो, जसको अगाडि समाजको जोसुकै वा जुनसुकै घटनालाई राखे पनि यसले त्यसको यथार्थ रूप दुरुस्तै देखाइदिन्छ त्यसैले भन्न सकिन्छ विचारको अभिव्यक्ति र शब्दको स्पन्दनमार्फत समाजलाई रूपान्तरणका निम्ति मुन्शी प्रेमचन्दका उपन्यासहरूले बडो मिहिन ढङ्गले आव्हान पनि गरेका हुन्छन् ।

