सन्त्रासको आगो ओकलेर
आँखाबाट मेरा सपनाहरू
मूर्च्छनामा जल्दछन्
सिन्कामा उनिएको सुकुटीझैँ
चुल्होमाथि धुवाँमा पिल्सिँदै
जीवनका अर्थहरू
खोतल्न थाल्छन् ।
रक्सीको प्रत्येक घुट्कीसँगै
मृत्यु पिइरहेछु म ।
छातीमा जीवनघाती कीराहरू
नाच्दा–नाच्दै
मृत्यु अङ्गालिरहेकी युवती
धिक्कार्न थाल्छे
एउटा आदिम युगलाई ।
र
मायिक कल्पनामा
मुटु–कलेजी चपाइरहेकी सिंहिनी
खुनी मुख लपलपाउन थाल्छे
सपनीको सोपानमा ।
चिसा रातहरू
किचकन्नीको अँगालोमा
पत्थरको मुटु ठोक्किँदा
मेरो अश्लील आदर्श
डाँको छोडेर
क्वाँ–क्वाँती रुन थाल्छ
मृत्युको चोट सहेर ।
जीवनघाती विश्वयुद्धमा
लासैलासको खातमाथि
कुमारी अस्तित्व
लुटिइरहँदा म
मेरो कल्पनामा
मेरी प्यारी नाचिरहेकी हुन्छे ।
एक युगकी अस्मिता
नीला आँखा नङ्ग्याउँदै
जीवनको भिख मागिरहेकी
एक युगको महाकाल
खुनी सिपाहीसँग ।
थाहा छैन
कति कुमारी अस्तित्वहरू
लुटेँ युद्धको उन्मादमा !
र सतित्वको कठघरामा
आदिम अस्तित्वको ऐठन हुन्थ्यो
व्यभिचारको वधशालामा ।
अस्तित्वको वधशालामा
बलात्कृत चित्कार
भग्न जिजीविषाको
मीठो लालसामा
मृत्यु चुम्दथ्यो ।
रगतको भेलमा
लासहरू बगाएर
मानवतालाई गिज्याउँदै
एउटा हिटलरी लालसा
विश्वलाई चुनौती दिन्थ्यो
ईश्वरको टाउको चोपलेर
रक्तसागरमा ।
एउटा कुमारी अस्तित्व
जिजीविषाको याचनामा
जिन्दगीको परिभाषा खोजिरहँदा
एक युगीन अग्निभट्टीमा
मृत्यु चुमिरहँदा
यमराज असन्तुष्टिको
डकार ओकल्थ्यो
ढ्याउ… ढ्याउ… ढ्याउ…।
र म
धराभरि नवजात शिशु देख्थेँ
तोतेबोलीमा
जीवनको अर्थ
बोलिरहेका ।
युगीन तृष्णामा
मानवताको आलो खुन पिउँदै
हाँसिरहेको छ महानायक
मानवताको चिहानघारीमा ।
आमा
आस्थाको गर्भ हत्याएर
अनन्त मृत्युको कल्पनामा
सङ्गीनमा उनिन्छिन्
जल्दै ग्यास च्याम्बरभित्रल।
अस्तित्व लुटिएपछि
क्षतविक्षत देहमाथि
एउटा भोको स्याल
मासुको चोक्टा
लुछ्ने लालसामा
युगीनताको नङ्ग्रा
धसिरहन्छ
तेस्रो विश्वयुद्धको कल्पनामा ।
म
सिरानीमा सङ्गीन सजाएर
एक अर्धमुद्रित नयन
विस्मृत निद्राको
आकाङ्क्षामा सुस्ताउँदा
एउटा सपना देखेँ
मान्छेको मासु चपाएर
मान्छे
जीवन खोजिरहेको थियो

