साहित्यपोस्ट डट कम

पेनिबाः युवाको प्रतिनिधि कथाहरू

पेनिबाः युवाको प्रतिनिधि कथाहरू

लेखक सुरेश याक्सोद्वारा लिखित कृति पेनिबा (कथासङ्ग्रह) हङकङबाट प्रेमपूर्वक युरोप अवतरण गरेको छ । कृति प्रकाशन भएदेखि पढ्न मन लागेको हो । भौगोलिक दूरीले केही समय ढिला हुन गयो ।

केही वर्षअघि हङकङ साहित्यिक साझा शृङ्खलाद्वारा प्रकाशित ‘शृङ्खला’ पुस्तकमा कथाकार यक्सोको कथा पढेको थिएँ । अपेक्षा गरेभन्दा अब्बल कथा पढेपछि लेखकबारे साथीहरूसँग जिज्ञासा राखें । एक राम्रा कथाकार हुन् भन्ने जानकारी प्राप्त भयो । केही समयपछि कवि प्रकाश थाम्सुहाङसँग पीक टावरको ब्रेकफास्ट समयमा सुरेशजीसँग पहिलो भेट थियो । भेटमा कथाको प्रशंसा गरेको थिएँ र कृति प्रकाशन गर्न सुझाएको थिएँ । त्यो कथा ‘पेनिबा’भित्र पहिलो थियो जुन मैले शृङ्खलामा पढेको थिएँ । भनिन्छ, दिनको संकेत बिहानीले दिन्छ । एउटै कथा पढेर नेपाली कथा लेखनमा नयाँ ऊर्जा थपेको महसूस गरेको थिएँ ।

पेनिबामा १५ थान कथा समेटिएका छन् । कथाको विषय वस्तुहरू फरक हुने नै भयो । लेखनशैली पनि केही नयाँ र फरक रहेको छ । यसले गर्दा कथाले पाठकलाई नयाँपन महसूस दिलाउँछ । पाठकका लागि कथाका विषयवस्तु सामान्य लाग्न सक्दछ । तर समाजको लागि आवश्यक र ज्ञानवर्धक रहेको हुँदा कथाले पात्र र चरित्रको कहानी मात्र बताउँदैन । समाजमा भए गरेका राम्रा-नराम्रा गतिविधिहरूलाई मिहिन ढङ्गले केलाउने प्रयत्न गरिएको छ । कथामा उल्लिखित पात्र र चरित्रहरूको व्याख्या विश्लेषण पढिरहँदा कहीँ कतै आफैलाई पढेजस्तो । आफ्नै कथा लेखेजस्तो र आफ्नै वरिपरिको कथा हो कि जस्तो लाग्न सक्दछ । कथालाई सामान्य विषय र प्रसङ्गहरूबाट उठान गरे पनि समाजको विद्यमान मान्यताहरू टेकेर मनोवैज्ञानिक ढङ्गले विश्लेषण गरिएको छ ।

कथावस्तु र पात्रको चरित्र चित्रणको दृष्टिकोणले बैङ्किङ कसुर, पेनिबा, नोटबुकः एक रहस्य, पुरानो हुँदैन माया, लेखकको आत्महत्या, नरोजेको बाटो, डान्सरबारमा छापा कथाहरू उत्कृष्ट छन् ।

यस सङ्ग्रहमा समेटिएका कथाहरू परम्परागत नेपाली कथा–लेखनभन्दा फरक प्रकृतिका छन्। कथाहरूमा एउटै विषय वा पात्रलाई निरन्तर पछ्याइएन; बरु फरक–फरक अनुच्छेदमा विभिन्न विषय, पात्र र प्रसङ्गहरू प्रस्तुत गरिएका छन्। यसले कथालाई रोचक बनाउनुका साथै पाठकलाई विविध विषयमा ज्ञान प्राप्त गर्ने अवसर पनि प्रदान गर्दछ। एक असल लेखकले समाजका कमजोरीहरू मात्र औँल्याउने होइन, साहित्यमार्फत उन्नत समाज निर्माणका लागि अहम भूमिका निर्वाह गरेको हुन्छ।

पेनिबा भित्रका कथाहरू वर्तमान समयको पेरिफेरिमा रहेको हुँदा युवा पुस्ताको मन जित्ने देखिन्छ । अधिकांश कथाहरूमा कहीँ न कहीँ युवा प्रतिनिधि पात्रहरू भेटिन्छन् । कथाका पात्रहरू युवा हुनुका साथै उनीहरूमा व्यक्तिगत उत्साह, पारिवारिक, सामाजिक र सांस्कृतिक ज्ञानको प्रभाव रहेको छ । प्रविधिको विकासले समाजको सबै वर्ग र क्षेत्रलाई प्रभावित बनाएको वर्तमान अवस्थामा युवाहरूको सरोकारका विषयहरूमा साहित्य लेखिनु जायज छ ।

कथा लेखनको भूगोल नेपाल र केही नेपाल बाहिर (हङकङ) रहेको पाइन्छ । जति नेपालको विषयवस्तुहरू व्यक्तिगत र सामाजिक हिसाबले गहिरो रूपमा कथामा उत्खनन गरिएको छ, तर बाहिरको परिवेशमा लेखिएका कथाहरू सतही मात्र हुन् कि भन्ने लाग्न सक्छ । साहित्य सिर्जनाका लागि कुनै पनि वस्तु–स्थितिको आवरण मात्र देखेर हुँदैन । भित्रैबाट अध्ययन र वैचारिक चिन्तन हुन आवश्यक छ । लेखक आफू जन्मे–हुर्केको गाउँठाउँ, समाज र देशको बारेमा जति जान्दछ, बुझ्दछ र साहित्य सिर्जनामा व्यक्त गर्न सक्छ, बाहिरी परिवेशलाई

साहित्यमा उतार्नु सहज छैन भन्ने कथाले बताउँछ । साहित्यिक कृति चौबाटोको शालिक जस्तै हो, यसलाई विभिन्न कोणबाट व्याख्या–विश्लेषण गर्न सकिन्छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.