गत मंसिर २९ गते नयाँ बानेश्वरमा अवस्थित संसद–भवनको मूल गेट अगाडि ‘जेन्जी बलिदान छाप’ नामक एउटा गजबको कला जन्मियो ।
दैनिक आ–आफ्ना काममा व्यस्त हुँदै, हतारहतारमा हिँड्दै गरेका हजारौँ मान्छेहरूका लागि यो एउटा कौतुहलको वस्तु थियो । कत्तिले यसलाई ठीकले बुझे, कत्तिले बुझेनन् । कोही रोकिएर यसलाई गौर गरेर हेरे । यसैमा संलग्नता पनि जनाए । कतिले वास्ता नै नगरी खुरुखुरु अगाडि बढे । तापनि यो विशेष घटनामा बनेको कलाले अर्को एक अविस्मरणीय घटनालाई जन्म दियो ।
मूलतः ठीक तीन महिनाअघि अर्थात भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनको प्रतिबिम्बका रूपमा यो कलाले जन्म लिएको थियो । मात्र श्रद्धाञ्जलीको सन्दर्भ जोडिएर देखा परेको यो कला विशेष रूपमा अत्याधुनिक कलाको प्रतीकात्मक विम्ब पनि बन्न गयो । ढङ्ग अनि स्वभाव श्रद्धाञ्जलीको ओढिरहँदा पनि नितान्त अलौकिक सिर्जनशील कला बन्नु–बनाउनुमा यो वातावरणको ठूलो हात रह्यो ।
यसै ठाउँको वरिपरि परम्परागत रूपमा श्रद्धाञ्जली त थुप्रै भए । हुने क्रम पनि जारी नै छ । यसपछिका दिनहरूमा साहित्यका श्रद्धाञ्जली कार्यक्रमहरू भए । काठमाडौंमा भए । अझ चितवनमा समेत पनि भए । फोटोमा फूल चढाउने वा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पित गर्ने परम्परागत कार्यक्रमहरू थुप्रै हुँदै गर्दा पनि यो कसैका लागि खासै चासोको विषय भएन । औपचारिकता वहन गरेजस्तो पारामा स–साना घटनाहरू बन्दै–हराउँदै गए । यसमा पनि धेरै आए–गए । मनको वह भने कसैले पोखाएको देखिएन ।
यस्तै–यस्तै तर कलाको रूपमा फूललाई, अनि आफ्ना भावनाहरूलाई क्यानभासमा कोरिरहँदा चाहिँ मान्छेको मन रोयो, आँखाबाट आँसु तपक्क झरे । ती बालबालिकालाई सम्झिए । मात्र घटना कलाको रूपमा देखा पर्दा यसले यस्तो हृदयविदारक रूप लियो । कुनै कुरा पनि कलाको रूपमा लिँदा यसले साँच्चिकै हृदयविदारक हुँदो रहेछ भन्ने भाष्य पनि बन्न गयो । यो कलाको यही नै सबल पक्ष पनि बन्यो । यसकारण पनि यो कलाको रूपमा भएको अर्थले पनि यो कला नितान्त पृथक थियो ।
एउटा सिङ्गो कला (चित्रकला) अनि त्यसमाथि अर्को थपिँदै गर्दा अर्थात बन्दै गरेको कला सम्पूर्णमा एउटा कला थियो । अझ भन्नुपर्दा यही कला पनि पूर्ण नभएर प्रक्रियामै छ, भनिन्थ्यो । अनि कुनै दिन कलाकारले बनाएको कला अनि आम मान्छेहरूले यसैमाथि बनाएका कलाहरू मिसिँदै बनेको अर्को कला भविष्यमा एउटा कला ग्यालरीमा प्रदर्शन भएपछि मात्र यो कलाले विश्राम लिनेछ । वा यो एउटा कलाले पूर्णता पाएर वास्तविक रूप धारण गर्नेछ । त्यसैबेला यो कलाको कुरा अझ वृहत् रूपमा हुन्छ रे ! सम्भवतः यसबखत अलिकति जेन्जीका कुराहरू अनि अत्याधुनिक कलाको औचित्य, महत्व आदि इत्यादिको सन्दर्भलाई पनि उठाउने कार्यक्रम हुने कुरा कलाकार स्वयंले बताएका थिए ।
झट्ट हेर्दा देखिएको कला भनेको चाहिँ फुटपाथको बीचोबीच ६ फीट बाइ ६ फीटको अजङ्गको चित्र उभिएको देखिन्थ्यो । फुटपाथको त्यो भाग जहाँ आम मान्छेलाई उभिरहन पनि बन्देज थियो । वा त्यस्तै परे यो फुटपाथमा सेक्युरिटीको हिसाबले हिँड्न पनि पाइँदैनथ्यो । यस्तो ठाउँमा मौखिक अनुमति लिएर त्यस कलाले मात्र २ घण्टा उभिन पाएको थियो । १० जना भन्दा बढी आम मान्छेलाई जम्मा हुन नदिनु पनि अनि यहाँ केही भइहाले कलाकार स्वयंले जिम्मा लिनुपर्ने बाध्यता पनि कलाकारले नै बोक्नु परेको थियो । यसो हुँदा पनि ठ्याक्कै १२ बजे यो कला कताबाट कुद्दै यहाँ टुप्लुक्क आइपुग्नु, अनि २ बज्दा नबज्दै यहाँबाट कुलेलाम ठोक्न जरुरी पनि थियो । भयो पनि त्यही नै । किनकि योभन्दा बढी राख्न अनुमति थिएन । अझ यति अनुमति लिन पनि कलाकारले कति ठाउँ कुद्नुपरेको थियो, यसको कथा त अझ अलग्गै छ ।
मात्र २ घण्टाको लागि उभिएको यो चित्रले बाटोमा हिँड्दै गरेका आम मान्छेलाई मौन आह्वान गर्थ्यो । ३ महिना अघिको त्रासदीपूर्ण घटनालाई आलो बनाउने काम गरेजस्तो पनि देखिन्थ्यो । मान्छेको भीडले छोपिएर देखा पर्दै गरेको यस चित्रमाथि पनि आम मान्छेको भीड देखिन्थ्यो ।
अनि भीड छिचोलेर हेर्दै गर्दा, सडक हिँड्दै गरेका आम मान्छेहरू रंगीबिरंगी कलम उठाउँदै क्यानभासभरि फूलका चित्रहरू कोर्दै गरेको पनि देखिन्थ्यो । कसैले भावनात्मक रूपमा केही लेख्दै गरेका अक्षरहरू देखिन्थ्यो । किसिम–किसिमका फूल कोर्दै, आँसु बगाउँदै गम्भीर मुद्रामा सडकवारीपारी अनगिन्ती मान्छेहरू छिटोछिटो बाटो काट्दै गरेको सम्पूर्ण गतिविधिहरू यथार्थ थियो । यी सबै गतिविधिहरू कलाको अभिन्न अङ्ग भएर देखा परेको थियो । यस्तायस्तै गतिविधिहरू भइरहेको देखिनु यो उनको कामको एउटा अभिन्न अङ्ग थियो । बनिसकेको चित्रमाथि आम मान्छेले श्रद्धाञ्जली चढाउनुको अर्थले साना–ठूला फूलहरूलाई क्यानभासमा अङ्कन गर्दै श्रद्धाञ्जली चढाइरहेका देखिनु अनि यी तमाम गतिविधिहरू नै पनि कलाको एउटा भाग थियो । यस्तो अनौठो श्रद्धाञ्जली यसभन्दा पहिले कहिल्यै पनि भएको देखिएको थिएन । यसकारण पनि यो के हो के हो भन्दै–भन्दै यो कलाले अस्थायी रूपमा विश्राम लिएपछि भने एक प्रकारको आम मान्छेका यसबारे चर्चा चलेको थियो । जेन्जीले गरेको हृदयविदारक आन्दोलनबारे त पहिलेदेखि नै चर्चा थियो । अब यसपल्ट भने यसैमा गाँसिएर आएको कलाको पनि चर्चा देखिनाले कला स्वयंको पनि एक अलगै इतिहास बन्न गएको थियो ।
चित्रमा चाहिँ ठूलो अङ्गुठा छाप अनि यसभित्र ७२ जना आन्दोलनमा आहुति दिन पुगेका व्यक्तिहरूको नाम अनि फोटो टाँसिएको थियो । सबैको फोटो पाउन सकेनन् रे । यसैले केही–कुनैमा चाहिँ फोटो टाँस्ने भागमा चारकुना कोरेर पनि राखिएको देखिन्थ्यो । वरिपरि सेतो वा बाक्लो सेता रङ्गले बनाएको टेक्चरले एक अर्कै अर्थ र प्रभाव पनि दिइरहेको थियो । पुरानो भाषामा यसलाई कोलाज चित्र मात्र भनिन्थ्यो । तर अहिलेको कलाको भाषामा चाहिँ यो पार्टिसिपेटोरी आर्टको रूपमा देखा परेको थियो ।
पार्टिसिपेटोरी आर्ट भनेको चाहिँ अहिले विश्वमै चलिरहेको कलाको सर्व–नवीन कलाप्रवृत्ति हो । जहाँ समसामयिक मुद्दामा कलाकार अनि आम–समुदाय मिलेर कलाको निर्माण गर्दछन् । कलाकारले एउटा कुरा बनाइरहँदा आम भावक आफैं आएर यसैमा थप आकारहरू कोरिदिँदा सर्जकलाई समेत थाहा हुँदैन । अनि यसले पूर्ण रूप लिएपछि यो कलामा सर्जक अनि आम भावकको पनि समान रूपमा स्वामित्व रहेको ठहरिन्छ ।
अहिलेका कलाकारहरूले मात्र कला सिर्जना गरेर आफ्नो भावनालाई हेरिदिओस् भनेर कतै भित्तामा टाँसेर मात्र प्रदर्शन गर्दैनन् । यसैमा समसामयिक घटना अझ मुद्दालाई जोडेर आम मान्छेलाई पनि संलग्न गराएर यसलाई एक अलग्गै घटनाको रूपमा बनाउने प्रचलन विश्वभर नै छ । यो यसैको नमूना काम पनि हो । यो कला चाहिँ कलाकार रवीन्द्र श्रेष्ठको प्रयोगात्मक कला थियो ।
गत दश वर्षदेखि थम्ब–सिरिजमा काम गरिरहेका कलाकार रवीन्द्र श्रेष्ठको यो थप अघिल्लो पाइला पनि थियो । गएको दश वर्षदेखि अनेकौँ समसामयिक मुद्दामा उनले थम्ब कलालाई प्रस्तुत गरिसकेका छन् । अनि हजारौँको मात्रामा स–साना थम्ब कलाहरू विश्वभरि फैलिसकेको पनि छ । यसले विश्वका धेरै अन्तर्राष्ट्रिय कला प्रदर्शनी (बायेनाले कला प्रदर्शनी) मा भाग लिइसकेका छन् । थम्ब आफैं पनि मानवमात्रको प्रतीकात्मक विम्ब हो । थम्ब हेर्दा एउटै देखिन्छन् तर सबैको भिन्ना–भिन्नै हुन्छ । अर्थात् उनको वास्तविक पहिचानको यो एउटा गतिलो द्योतक हो । यसैमा उनको रातो धर्को बीचोबीच दौडिएको हुन्छ । यो रगतको प्रतिबिम्ब हो, जो सबै मान्छेको समान हुन्छ । यसले एकताको अर्थात् एकै हौँ भन्ने कुराको बोध गराउने उपक्रम पनि हो । यी र यस्तायस्तै प्रतीकात्मक विम्बहरूले भरिएको यस पल्टको यो चित्रमा पनि यस्तायस्तै धेरै कुराहरू समेटिएका छन् । जसलाई आम मान्छेको स–साना फूलले हाँमा हाँ मिलाएको सन्दर्भ देखा पर्छ ।
विश्व कला–बजारमा त कलामा यस्ता–यस्तै अनौठा–अनौठा प्रयोग भइरहन्छन् । तर नेपालको लागि भने यो नितान्त नौलो थियो । राष्ट्रकै चिन्ता र चासो लिएर भएको बलिदानलाई सम्झने, सम्झनामा राखिराख्ने, यो उनको अनौठो कलाको रूपमा देखा परेको छ । झट्ट हेर्दा सामान्य श्रद्धाञ्जली कार्यक्रम जस्तो तर सिर्जनशील कलाको दृष्टिले भने यो एउटा अलगै कलागत आन्दोलन पनि थियो । आम दर्शकले यसलाई मात्र श्रद्धाञ्जलीको कार्यक्रमको रूपमा मात्र बुझ्थे । सम्भवतः राष्ट्रले पनि यतिमात्र बुझ्यो, नत्र यो कार्यक्रम गर्न अनुमति दिन्थ्यो कि दिदैनथ्यो, टुङ्गो थिएन । तथापि राष्ट्रकै ठूलो प्रभावपूर्ण घटनामा कलाकारले कलालाई कसरी प्रस्तुत गरे, यसको महत्त्व आदिबारे चर्चा र बहसमा ल्याउन जरूरी छ । अनि यसैलाई पनि इतिहास बनाउन जरूरी छ ।
विश्वभरि सयौँ वर्ष पहिला–पहिला यस्ता–यस्तै चित्रहरू बनेका छन् । अहिले ती चित्रहरूले त्यतिबे लाका घटनाहरूलाई सविस्तार भन्ने गर्दछन् । आज पनि यस्ता चित्रहरू म्युजियमका भित्तामा झुन्डिएर बसेका छन् । सम्भवतः आज बनेको यस चित्रले पनि यस्तायस्तै कथा भन्न कतै कुनै म्युजियमको भित्तामा झुण्डिएर बस्न पनि सक्छ । यसो भयो भने दुई–चार सय वर्षपछि का मान्छेले आजको यो दर्दनाक कथालाई फेरि पनि सुन्नेछन् ।
अर्को कुरा हो यो कला मार्फत सयौँ सयौँ वर्षसम्म जेन्जी पुस्ताको बलिदान जीवित बनिरहोस् भन्ने सोच हो । यो कला बनिदिँदा पनि यसको अर्थ र महत्त्व अझ प्रगाढ बन्यो । कहिल्यै नभएको, कसैले सोच्दै नसोचेको यो जेन्जी पुस्ताले ल्याएको यो परिवर्तन आफैं पनि एक अलग्गै रूपमा अभिलेखीकरण हुन्छ । भइरहेको पनि छ । अझ यी बालबालिकाको चाहनालाई (मूलतः जुन सम्पूर्ण जनताका लागि हो) बचाइराख्न हामी सबैको पनि दायित्व हो । यी र यस्तायस्तै घटनालाई मात्र विवेचना गर्नेभन्दा पनि यसको अभिलेखीकरण हुनु पनि जरूरी छ । वास्तवमा अवस्था र घटनाको अभिलेखीकरण गर्ने कला सबैभन्दा भरपर्दो माध्यम पनि हो ।
आज पनि दुई हजार वर्ष पहिले बनेको कलाले त्यस बेलाको घटनाहरूलाई बुझ्ने भरपर्दो माध्यम बनेको इतिहास साक्षी छ । यसैको आधारमा थप इतिहास पनि लेखिने गर्दछ । यसकारण पनि विदेशमा कला अनि कला बनाउने कलाकारहरू सर्वोपरि स्थानमा रहने गर्दछन् । हामीले चाहिँ यसलाई अभ्यासमा कति ल्याउन कोसिस गरेको छौँ, एउटा ठूलो प्रश्न छँदैछ ।
कलाकारले यहाँ यस्ता कला गर्नु, प्रदर्शन गर्नु अनि अझ आम जनतालाई संलग्न गराउनु पनि यो अझ आँटिलो काम थियो । कला ठान्नुको पुरानो भाष्यलाई नयाँ ढङ्गबाट परिभाषित गर्नु पनि यो कला गजबको साक्षी बन्यो । कलाकै स्वरूपको सर्व–नवीन प्रकृति अनि विश्वले समेत सहजै आत्मसात् गर्न सक्ने यस्ता कलाहरूले पछि–पछि विश्व भ्रमण गर्दै गर्दा पनि यसले विश्वमा समेत आजको यो त्रासदीपूर्ण घटनालाई भन्दै हिँड्न पनि सक्नेछ । यसो भयो भने साह्रै अचम्म मान्न पनि पर्दैन । हिजोआज विश्वप्रसिद्ध चित्रहरू जुन एउटा निश्चित कथा बोकेर बसेका छन्, विश्वभरि घुमिरहने प्रचलन पनि छ ।
आँटको सन्दर्भमा चाहिँ कुनै पनि बेला केही पनि हुन सक्ने डर र त्रास बोकेर यो कला देखा परेको थियो । केही महिना अगाडि (भदौ २३ र २४ गते) यही ठाउँमा भरखरका कलिला बालबालिकालाई गोली हानी–हानी मारिएको थियो । स्कूले ड्रेसमा स्कूल जान्छु भनी हिँडेका आफ्ना छोराछोरी सडकबीच रगतको आहालमा लडेको देख्दा बाबुआमाको मन कति चिच्याएर रोयो होला—यसैको प्रतिबिम्बको रूपमा पनि यो कला थियो ।
त्रासदीपूर्ण वातावरणले सिङ्गो देश जलेको थियो । सडकभरि पोखिएको रगत आज पनि आलो नै छ । यस्तो सेन्सेटिभ ठाउँमा कला मार्फत अलिकति हूल बनाउनु आफैं पनि रिस्की काम हो । राष्ट्रकै डरलाग्दो ठूलो सत्ता नै परिवर्तन हुने गरी गरिएको यो आन्दोलन (घटना) लाई अहम मुद्दा बनाएर सिर्जना गरिएको यो कला नेपालमा सम्भवतः पहिलो नै हुनुपर्छ ।
कलाकार रवीन्द्रको थम्ब सिरिजको यो थप पाइला थियो । उनको थम्ब सिरिजका थरीथरीका रूप अनि सामाजिक, राजनीतिक मुद्दाहरू बोकेका थुप्रै प्रकारका कामहरू विश्वभर नै प्रदर्शन भइसकेका छन् । कोलाबोरेटिभ कलाको रूपमा जन्मेको यो कलामा अनगिन्ती सहभागीहरू संलग्न भएका थिए । सजग, पढेलेखेका मान्छेदेखि बाटो हिँड्दै गरेका अनपढ अनि खाली खुट्टा लामो बाटो हिँड्दै गरेका भरियाहरू पनि यसमा संलग्न भएका थिए ।
रवीन्द्रको यो कला मूलतः आन्दोलनकै बेला घरमै बसेर ४ दिन लगाएर बनाइएको थियो । ६ फिट बाइ ६ फिटको यो अजङ्गको चित्रलाई प्रदर्शन गरिरहँदा पनि आफैंमा पूर्ण भएको थिएन । अनि सबै जनतामा आह्वान गरिएको थियो—थप चित्ररूपी श्रद्धाञ्जली चढाउन । रंगीबिरङ्गी कलमहरू राखिएका थिए । प्रतीकात्मक विम्बको रूपमा जस–कसैले पनि त्यहाँ क्यानभासमा फूल बनाएर श्रद्धाञ्जली चढाउन सक्थे ।
(‘मुकेश मल्ल’ कलाकार साथै कला समीक्षक हुनुहुन्छ ।)

