काठमाडौं। रुसी सदन र शैली थिएटर नेपालद्वारा आयोजित १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव–२०८२ को उद्घाटन समारोह सम्पन्न भएको छ। माघ २६ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव रुसी सदन, कमलपोखरी, काठमाडौंमा जारी छ।
कवि, कथाकार तथा कविडाँडा समाजका अध्यक्ष एल. बी. क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको महोत्सवमा बोल्दै उहाँले नाटक समाज, संस्कृति र राष्ट्रिय पहिचानको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। विभिन्न कठिनाइका बाबजुद नाटककर्मीहरूले निरन्तर सिर्जनशीलता र समर्पणका साथ योगदान दिँदै आएकोमा प्रशंसा गर्दै उहाँले यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रेरणा दिँदै नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा निरन्तरता पाओस् भन्ने कामना व्यक्त गर्नुभयो।
रुसी सदनकी निर्देशक अनास्तासिया खोक्लोभाले नेपाल–रूसबीचको सांस्कृतिक सहकार्यलाई रुसी सदनले निरन्तर प्रवर्द्धन गर्दै आएको बताउँदै रंगमञ्च सांस्कृतिक आदान–प्रदानको सशक्त माध्यम भएको धारणा राख्नुभयो। बाल नाटक महोत्सवले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र अभिनय क्षमताको विकास गर्नुका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई आधार तहबाट सुदृढ बनाउने उल्लेख गर्दै उहाँले आयोजक, कलाकार, प्रशिक्षक, अभिभावक तथा दर्शकप्रति शुभकामना व्यक्त गर्नुभयो।
शैली थिएटरका सल्लाहकार, लेखक तथा समालोचक महेश पौड्यालले बाल नाटक केवल अभिनयमा सीमित नभई बालबालिकाको आत्मविश्वास, संवेदना, सिर्जनशीलता र सामाजिक चेतनाको विकास गर्ने सशक्त माध्यम भएको बताउनुभयो। शिक्षा, संस्कृति र सामाजिक विषयलाई समेट्दै जिम्मेवार नागरिक निर्माणमा बाल नाटकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सहकार्य, निरन्तरता र नवीनतामार्फत बाल नाटकलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अप्रतियोगी बाल नाटक ‘पार्वती’बाट उद्घाटन गरिएको महोत्सवमा फागुन १ गतेसम्म १६ वटा नाटक मञ्चन हुनेछन्। फागुन २ गते पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिने आयोजकले जनाएको छ। महोत्सवका निर्णायकमा रंगकर्मी आशान्त शर्मा र केदार श्रेष्ठ रहेका छन्।

