(पाठकहरूको अत्यधिक मागका कारण विश्वप्रसिद्ध लेखक खलील जिब्रानको ‘क्लासिक’ कृति देवदूतलाई पुनः प्रकाशन शुरू गरिएको छ । २६ भागको यो कृति डा. सनतकुमार वस्तीजीले नेपालीमा अनुवाद गर्नुभएको हो । यस कृतिलाई हरेक सोमवार एकेक भागमा प्रस्तुत गरिरहेका छौं ।
सम्पादक, विश्वसाहित्य ।)
विवाह
तिमीहरू सँगसँगै जन्मिएका थियौ
अनि, अनन्त कालसम्म सँगै रहने छौ,
यो साहचर्य त्यसबेला पनि रहिरहने छ –
जब मृत्युका सेता पखेटाहरू फड्फडाएर
तिम्रा जीवनका क्षणहरूलाई
तितर-बितर पार्नेछन्,
हो, परमात्माका मौन स्मृतिहरूमा पनि
तिमीहरू एक-अर्काकै साथमा हुनेछौ,
आफ्ना निकटताका बीच-बीचमा
कतै-कतै अन्तराल पनि हुन देऊ,
स्वर्गको पवनलाई
यिनै अन्तरालका बीचमा नृत्य गर्न देऊ,
एक अर्कालाई प्रेम त गर
तर प्रेमलाई नेल र हतकडी नबनाऊ,
कति राम्रो हुनेछ –
जब तिम्रा आत्माहरूको दुई किनाराका बीचमा
आनन्दको एउटा अज्ञात समुद्र
लहराइरहेको होस्,
एक-अर्काको प्याला त भर
तर दुवैले एउटै प्यालाबाट नपिऊ,
आफ्नो रोटी उसलाई पनि खुवाऊ
तर दुवैले एउटै रोटी चुँडेर नखाऊ,
सँगसँगै मिलेर नाच, गाऊ अनि खुशी मनाऊ
तर आ-आफ्ना ठाउँमा एक्लै बस,
त्यसरी नै –
जसरी वीणाका प्रत्येक तार
छुट्टा-छुट्टै रहेर पनि
एउटै सङ्गीतबाट झङ्कृत हुने गर्दछन्,
एक-अर्कालाई आफ्नो हृदय समर्पण त गर
तर लिएर सधैं राख्नका लागि नदेऊ,
किनभने केवल विश्वात्माकै हातले
तिम्रो हृदयलाई ग्रहण गर्न सक्दछन् ,
एक साथ उभिन त उभिऊ
तर एकदमै टाँसिएर होइन,
किनभने मन्दिरका स्तम्भ
हमेशा केही न केही दूरीमा
खडा हुने गर्दछन्,
दुईवटा बिरुवाहरू
एक अर्काको छायाँमा
हुर्किन सक्दैनन् ।

