साहित्यपोस्ट डट कम

१४२ औँ लेखनाथ जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

१४२ औँ लेखनाथ जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले एक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। टोखा–६ स्थित ह्वाइट माउन्टेन स्कुलमा आयोजित कार्यक्रममा लेखनाथ पौड्यालको कविता–साधना, जीवनी, रचनापाठ तथा कविता वाचन गरिएको थियो।

साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन समाजका सचिव भोला प्रेमीले गर्नुभएको थियो भने कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्यसँगै “कविशिरोमणि लेखनाथको सम्झनामा” शीर्षक कविता वाचन गर्नुभयो।

कवि तथा समालोचक प्रा. गङ्गाधर कट्टेलले कविशिरोमणि लेखनाथ पौड्याललाई हलन्त बहिष्कार अभियानका अग्रणी कविका रूपमा चित्रण गर्दै उहाँ सुललित, सरल भाषामा राष्ट्रवादी चिन्तन अभिव्यक्त गर्ने परिष्कारवादी कवि भएको धारणा राख्नुभयो। कालीदासलाई आदर्श मान्ने कविका रूपमा लेखनाथको चर्चा गर्दै उहाँले लेखनाथको एक कविता पनि वाचन गर्नुभयो।

कवि जगन्नाथ देवकोटाले “मैले देखेका र सुनेका लेखनाथ” शीर्षक रचना प्रस्तुत गर्दै लेखनाथका साहित्यिक मात्र नभई निजी जीवनका प्रसङ्गहरू पनि उजागर गर्नुभयो। रमा शर्माले लेखनाथ पौड्यालबारे संक्षिप्त चर्चा गर्नुभयो भने कवि तोया गौतमले लेखनाथको काव्य–चिन्तनमाथि विचार राख्दै “आर्यघाट” कविता वाचन गर्नुभयो।

त्यसैगरी भोला प्रेमीले स्वार्थसिद्धिका लागि देशमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिविरुद्ध सचेत गराउने भावको कविता प्रस्तुत गर्नुभयो। शारदा सापकोटाले भक्ति श्लोक पाठ गर्नुभयो। प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेलले कविशिरोमणि लेखनाथ पौड्यालको काव्य साधनाबारे चर्चा गर्दै उहाँको प्रसिद्ध कृत तरुण तपसी बाट एक श्लोक वाचन गर्नुभयो।

कार्यक्रममा गरिमा पोख्रेल, रघुनाथ आचार्य, मञ्जु शर्मा, मधु श्रेष्ठ, शारदा सापकोटा, दीपकुमारी मैनाली, राधा अर्याल र रमा राई श्रोताका रूपमा उपस्थित हुनुहुन्थ्यो। ह्वाइट माउन्टेन स्कुलका प्रिन्सिपल तिलक शर्मा पौडेलले लेखनाथको लालित्य कविता सङ्ग्रहबाट एक कविता प्रस्तुत गर्दै उपस्थित सबै साहित्यप्रेमीलाई धन्यवाद ज्ञापन गर्नुभयो।

अन्त्यमा समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले कविशिरोमणि लेखनाथ पौड्याललाई नेपाली कवितामा आधुनिक युगको थालनी गर्ने परिष्कृत धाराका अग्रणी कवि भएको उल्लेख गर्दै कार्यक्रम समापनको घोषणा गर्नुभयो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.