काठमाडौँ । वातावरणीय चेतना, साहित्यिक बहस र पर्यावरणीय सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाली पर्या-साहित्य प्रतिष्ठानद्वारा आयोजित ११ औँ वातावरण साहित्य गोष्ठी काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार, वातावरण अभियन्ता, शिक्षाविद् तथा अनुसन्धानकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिष्ठानका संरक्षक प्रा. डा. गोविन्दराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारीवादी समालोचक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा प्रा. डा. रमेशप्रसाद भट्टराई, उषा शेरचन, राजु उवरकोटी, सीता तुम्खेवा, ज्योति जङ्गल र आशबहादुर तामाङले पर्यावरणीय नारीवादी कविता वाचन गर्नुभएको थियो । मुख्य वक्ता (किनोट) का रूपमा डा. अर्चना थापा रहनुभएको थियो भने खेम प्रसाईँ र देवेन्द्र पौडेलले सिर्जना गर्नुभएको, महेश खड्काले सङ्गीत भर्नुभएको र प्रयुषा न्यौपानेले गाउनुभएको ‘धर्तीको गीत-२’ पर्यागीत विमोचन भएको थियो ।
कार्यक्रमको प्रारम्भमा वातावरण साहित्य गोष्ठीको इतिहास र यसको योगदानबारे जानकारी प्रस्तुत गरिएको थियो । त्यसक्रममा साहित्यकार विजय हितानद्वारा तयार पारिएको शुभकामना मन्तव्य राजु भट्टले वाचन गर्नुभएको थियो । उक्त सन्दर्भमा हितानकी पूजनीय माता स्वर्गीय प्रेमकुमारी हितानको स्मृतिमा रु. १ लाख राशिको ‘प्रेमकुमारी हितानः पर्या-साहित्य पुरस्कार’ स्थापना गरिएको घोषणा गरिएको थियो । उक्त पुरस्कारको आरम्भ आगामी वर्ष (वि.सं. २०८४) आयोजना हुने १२औँ वातावरण साहित्य गोष्ठीमा प्रदान गरिने घोषणा गरिएको थियो ।
गोष्ठीको प्रमुख आकर्षणका रूपमा दुई कृतिको विमोचन गरिएको थियो । ‘हरित हस्ताक्षर’ नामक पर्यावरणीय नारीवादी कवितासङ्ग्रह तथा डा. गीता त्रिपाठीद्वारा लिखित ‘पर्यावरणीय समालोचना: सिद्धान्त र नेपाली कविता’ पुस्तक सार्वजनिक गरिएको थियो । त्रिपाठीको समालोचनामाथि डा. अशोक थापाले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो भने ‘हरित हस्ताक्षर’ सम्बन्धमा उपप्राध्यापक राजिन पनेरु र निला राईले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा डा. अर्चना थापाले मुख्य वक्तव्य प्रस्तुत गर्दै वातावरणीय चुनौती र साहित्यको भूमिकामाथि प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि प्रा. डा. सुधा त्रिपाठीले वातावरण, साहित्य र समकालीन समाजबीचको अन्तरसम्बन्धबारे विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष प्रा. डा. गोविन्दराज भट्टराईले वातावरणीय सङ्कट र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीका सन्दर्भमा साहित्यले चेतना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले यस्ता गोष्ठीहरूले नेपाली वातावरण साहित्यको विकास र नयाँ विमर्श निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

