साहित्यपोस्ट डट कम

१०/१० ब्याडीको सङ्गत

१०/१० ब्याडीको सङ्गत

तिमीले मलाई भनेको सम्झन्छु, “प्रेम हिँउमा लिखिएको नाम हो तर नाम पग्लिनलाई एक युग लाग्छ ! त्यो पुरिनलाई अर्को युग ! किनकि ती नाम प्रकृतिमै हराएर जान्छन्, प्रकृतिकै अज्ञात गर्भमा मिसिन !”

भैरव अर्यालले महापुरुषको सङ्गत निबन्ध लेखेका थिए । उनीप्रति मेरो उच्च सम्मान छ । लामिछानेले भने जस्तै मेरा लागि पनि लेखक देउता हो । देवकोटा हो ! तर म मान्छे हुँ । मान्छे आडम्बरी छ । दुःसाहसी छ । उस्तै परे देउताकै विरोध गर्न पछि पर्दैन । मानौँ प्रश्न र असहमतिले मान्छेलाई मान्छे बनाउँछ ।

त्यो निबन्धको शीर्षक नै मलाई चित्त बुझेन ‘महापुरुषको सङ्गत’ ! किनभने पुरुषका अघि ‘महा’ आउनै सक्दैन । जति जेसुकै भए पनि पुरुष केवल पुरुष मात्र हो । मे हो । सस हो । मिड हो !

कुरा केही समय अघिको हो, मेरा साथीहरू रिल देखेर ट्रेक जान मोटिभेटेड भए । म अल्छी मानिरहेको थिएँ, साथीका नाममा अब त्यही तीनचार जना बाँकी छन् । तिनले पनि छाडे भने रिल पठाउन पनि कोही बाँकी रहँदैनन् भन्ने डरले शुरुमा एकछिन मैले भाउ खाएजस्तो गरेँ । उनीहरूले पनि भाउ दिएजस्तो गरे । फाल्न त मैले पैसा छैन भन्ने ब्रह्यास्त्र फालेको थिएँ तर झुक्केर साथीहरू परे आफू भन्दा धनी । पैसाको टेन्सन गर्नुपर्दैन हाल्दिहाल्छु भन्दिए । हाल्दिन त हाल्देलान् । तिर्ने कसरी हो ? तनाब ! यो शहरमा भात खान गाह्रो छ । घुम्नु त लक्जरीमा पो पर्छ । जागिर खोजेको कति भो कतै पाइएकै छैन । हुन त देशमा जान्नेहरूको सुशासनपूर्ण, साम्यवादी सरकार आको छ रे, आफू भने कसरी भात खाने र भाडा तिर्नेभन्दा माथि उठ्न सकिएन । भो भो राजनीतिका कुरा कुनै अर्कै निबन्धमा गरौँला !

अँ, म के भन्दै थिए पुरुषका अघि महा हुनै सक्दैन जसरी वुमनका अघि इम्परफेक्ट लाग्नै सक्दैन !

खै कसरी कसरी हो आजभोलि ६ महिना, वर्ष दिनमा ट्रेक जाने बानी परेको छ । शहर छाडेर, सडक छाडेर हिमालतिर साँघुरा गोरेटातिर ! मलाई ट्रेक गर्दा ट्रेक मन पर्दैन ! अझ म अस्तित्ववादी र घोर निराशावादी बनिदिन्छु । जीवनको दुःख ! खराब बाटा । चिसो मौसम । कष्टकर जीवन । मानौँ मानिस किन हिमाल पुग्छ ! हिमाल फोटोमा औधी सुन्दर देखिन्छ । पन्ध्र सेकेण्डको रिलमा एस्थेटिक लाग्छ ! जब कि वास्तवमा हिमाल क्रूर छ, खुट्टा पोल्ने चिसो छ । दुःखको भारी ती भरिया दाजुभाइले बोक्ने भारी जस्तै गरुङ्गो छ । केका लागि ? एउटा पैसा भएको मान्छेले हिमालमा कोक खान सकोस् ? पिजा हसुर्न सकोस् ! ताकि आफूभन्दा माथि भएकाहरूले पैसाले क्षणिक आनन्द किन्न सकुन् ?

त्यो बाटो जो कतिले कष्टकर रूपमा हिँडिसके म पनि अहिले त्यही बाटो हिँड्दैछु । त्यही ठाउँ जहाँ कैय्यन्‌ मान्छेले फोटो खिचिसके म पनि त्यही फोटो खिच्दैछु । यो जो म महसूस गर्दैछु कैय्यनले महसूस गरिसकेका थिए । के यो अनुभव ओरिजिनल हो ? के भावनाहरू ओरिजिनल हुन्छन् ? त्यहाँ फोटो खिच्न नमिल्ने भए कति मान्छे जान्थे ? किन म इन्स्टाग्रामको एउटा स्टोरीका लागि यति दुःख गर्दैछु ? यो साँघुरो गोरेटो हिँड्दैछु । यो थकान महसूस गर्दैछु, ताकि उनले यो स्टोरीमा लाइक गरुन् । रिप्लाई त परको कुरा हो !

टोल्सटोय भन्थे एक जवान युवालाई अर्की प्रबुद्ध जवान युवतीको आवश्यकता पर्छ वा यस्तै केही ! ट्रेक शुरू गरेको आधा दिनमा एक सुन्दर पर्यटकसँग भेट भयो ! मैले अङ्ग्रेजीमा आफ्नो परिचय दिएँ र उनका बारे सोधेँ ! उनी स्वीडेनबाट नेपाल घुम्न आएकी रैछन् ! र मास्टर्स गर्दै रैछन् ! स्वीडेन भन्ने बितिकै मैले बर्गम्यानका बारे सोधेँ र उनले धेरै पहिले सेभेन्थ सिल हेरेको कुरा बताइन् । उनको प्रकृतिमोह देख्दा मलाई सरुभक्त सम्झनामा आए “हामीसँग प्रकति छ, सौन्दर्यचेत छैन !”

उसका कुरा सुन्दा लाग्थ्यो पश्चिमको सागर पूर्वको हिमाल भेट्न आएको छ । वा ज्याज रोधीभित्र पसेको छ ! प्रत्येक मान्छेको सोच फरक हुन्छ, उसको समाज, वातावरण, ज्ञान, हुर्काइ आदि इत्यादिले उसका विचारहरू निर्देशन गर्छ शायद, मेरा विचारहरू मेरा मात्रै त कहाँ होलान् यसमा परिवार, साथी, समाज, सङ्गत के कतिको विचार मिसिएको छ । उनले जीवनबाट एकछिन विरक्त भएर घुम्न निस्केको भनिन् ! साँच्चै घुम्नु कति ठूलो प्रिभिलेज हो । कोही मानिस जीवनबाट विरक्त भएर घुम्न निस्कनु र घुम्न सक्नु । हामी कतिलाई अझै खान बस्नमै धौधौ छ । देश यति सुन्दर भएर के गर्नु घरबाट निस्कनलाई फुर्सद, पैसा, स्वस्थ्य र स्वतन्त्रता नभए पछि ! एकछिन आफ्नै प्रिभिलेजलाई आत्मसात गरेँ, धन्य भएँ र थकान पूर्ण बाटो भए पनि उनीसँग जीवन जगत्‌का कुरा गर्दै अघि बढेँ ! विदेशी सिनेमा हेरेको फाइदा त्यो देश नगएर पनि त्यस देशका रीतिरिवाज परम्परा जीवन शैली बारे अलिकति भए पनि ज्ञान हुने रैछ र कुरा गर्न सजिलो हुने रैछ !

उनले आफ्नो बाल्यकालका कुरा सुनाइन् र भनिन्, “हाइस्कुल, हाइस्कुल जस्तै थियो । हलिउड मुभीमा देखिने जस्तो थिएन !”

उनले भनिन्, मैले आफ्नो मास्टर्सको क्लास लिँदै गर्दा मनमा एउटा प्रश्न आयो म जिन्दगीमा के गर्दैछु ? मलाई पछि बुढेसकालमा मैले जीवन नै बाँचिनँ कि भन्ने पछुतो त हुने होइन भनेर ग्याप लिएँ र घुम्न निस्किएँ र अहिले यिनै हिमाल आसपास जीवन खोजिरहेछु । आफैँलाई खोजिरहेछु ।

त्यो कुराले मलाई लाग्यो जीवनलाई खोज्न र आफूलाई भेटाउन प्रथमत: जीवनका आधारभूत समस्याहरूबाट माथि उठ्नु पर्छ र जसलाई हातमुख जोड्नकै धौधौ छ उसलाई आफूलाई खोज्ने सुविधा पनि छैन ।

यस्तै कुरै कुराका बीच उनले ओशोका कुरा निकालिन् ! शायद ओशो पूर्वलाई भन्दा पश्चिमलाई बढी फ्यासिनेट गर्छन् । उनका मुखारवृन्दबाट ओशोका शब्द पोखिए । पुरुषले सम्पूर्ण रूपमा स्त्रीलाई कहिल्यै प्रेम गर्न सक्दैन । यदि पुरुषले साँच्चि नै स्त्रीलाई प्रेम गरेको भए संसारमा यति धेरै जनसङ्ख्या हुने थिएन र मलाई एन्टीन्याटलिज्म बारे बुझाइन् । आफूले कहिल्यै बिहे नगर्ने र बिहे गरे पनि सन्तान नजन्माउने बताइन् । संसारमा यति समस्या छन् , घृणा , युद्ध, गरिबी , बेरोजगारी , डिप्रेसन आदि आदि ! यो दुःखको सागरमा म एक थोपा अर्को दुःख थप्न चाहन्नँ ।

मैले उनीतिर हेरेर भनेँ, “जीवनमा सौन्दर्य पनि त छ !”

“धेरै कम, अझ त्यो खोज्न पनि नेपाल आउनुपर्छ !” उनको जवाफ मतर्फ फर्कियो । मलाई लाग्यो उनीहरू सौन्दर्य देख्छन् । गरिबी भोग्दैनन् ! हामी गरिबी भोग्छौँ सौन्दर्य देख्दैनौँ ।

जीवन यस्तो पनि हुन्छ जहाँ एउटा मान्छेका कुराले अरु मान्छेको सम्झना दिलाउँछ ! एउटा ब्याडीको सङ्गतले अरु ब्याडीसँगका सङ्गत सम्झाउँछ ! मान्छे बुद्धि भएर नि बुद्धु प्राणी हो । शायद त्यो मान्छे मै हो । धेरै ढिला बुद्धि पलाउने । गरेका गल्तीहरूको अवगत पछि हुने । छुटेका हातका स्पर्श औँलाहरू बीच खोज्ने ! दुखाएका दिलहरूको पहुतो पछि लाग्ने । प्रेममा हुँदा प्रेमबाट पर भाग्ने ! एक्लो हुँदा प्रेमको खोजी गर्ने ! मानौँ म ज्वलन्त उदाहरण हो हेजहॉग्स डिलेमाको !

तिमीले मलाई भनेको सम्झन्छु, “प्रेम हिँउमा लिखिएको नाम हो तर नाम पग्लिनलाई एक युग लाग्छ ! त्यो पुरिनलाई अर्को युग ! किनकि ती नाम प्रकृतिमै हराएर जान्छन्, प्रकृतिकै अज्ञात गर्भमा मिसिन !”

जीवन किन यस्तो हुन्छ जहाँ हुँदा के भइरहेछ थाह हुँदैन र थाह हुँदा सम्म धेरै ढिला भइसकेको हुन्छ ! कृकेगार्ड दाजु यस्तै केही भन्थे,

“जीवन बुझिन्छ पछाडि फर्केर तर बाँच्नु पर्छ अगाडि हिँडेर !” जीवन ब्रह्माण्डको विशाल ठट्टा जस्तै लाग्छ । कुरा हुँदा कुराको महत्त्व नबुझिने । जे छैन त्यही चाहिने ! मैले यसो किन गरिनँ भन्ने लाग्ने ! मैले त्यो किन भनेँ हुने ।

महसूस हुने कथा प्रारम्भबाट शुरू गर्न पाए ? यसपालि म के त्यही गर्थेँ जे गरेँ ! के म बाँधिएको छु जीवनको एल्गोगोरिदमले ? तर म चाहन्छु केही फरक गर्न ! बढी हिम्मत गर्न ! एउटा परिवर्तित मान्छे बन्न, जो जीवनमा हराएको म्यान चाइल्ड नहोस् रिजोलुसन भेटाएको मान्छे होस् ! तर क्यारेक्टर आर्कको लागि, जीवनको फिडको लागि जीवनकै एल्गोरिदमले कता कता पुऱ्याउँदो रहेछ । के के गराउँदो रहेछ । एउटा नबुझिने फिल्ममा सुनेको कुरा “तँ आफ्नो जीवनको लागि आफ्नो वाएरिङ र दिमागलाई दोष दिन्छस् जबकि तँ नै तेरो दिमाग हो !”

अब यहाँ आफ्नो दिमागलाई पनि कसरी दोष लगाउनु बरु आफैँलाई दोष लगाउने । आफ्नो दुःखको जवाफदेहिता आफूलाई बनाउने !

त्यो रात खोला किनारको होटलमा निदाउनुअघि यस्तै कुरा सोचिरहेँ ! घडीले बाह्र बजाएछ । झ्याल खोलेर बाहिर हेर्छु । रात, नदी र हिमाल सँगै सँगै लम्पसार छन् । निल्न एक अर्काको अस्तित्व । माथि जून प्रदीप्त छ यो सौन्दर्यको आभामा ! राति भूत देखिनु पर्ने कतै केही देखिएन ! देखियो त केवल असीम सौन्दर्य । जब साधारणपन मर्दछ तब शायद यो असीम सौन्दर्यको भूत बन्दछ ! र म जसलाई पर्सी फेरि फर्कनु छ यथार्थमा त्रसित छु यो सौन्दर्यको भूतबाट !

बिहान उज्यालो नहुँदै हामी हिँड्न शुरू गऱ्यौँ, उनलाई तिलिचो अनि फर्किएर फेरि थोराङ्ला पास जानु थियो अनि हामीलाई तिलिचो पुगेर फेरि काठमाडौँ ! त्यसैले उनले हामीलाई बाई भनिन् , र उनका पाइलाले थोराङ्ला खोज्न थाले !

हिमालतिर डुलेर आएँ ! केही समयलाई नयाँ अनुभव ! केही समयलाई इन्स्टालाई नयाँ रिल ! अब के गर्ने ? कतै घुमेर आएपछिको यो रित्तोपन ! मानौँ सब उजाड । निरस । विरक्त र आत्मविहीन ! अब अफ क्यापस हेर्न शुरू गर्नु पर्ला ! तर जीवन जस्तो जो भए पनि १०/१० ब्याडीको सङ्गत गर्नुपर्ने रहेछ । ध्यान रहोस् , ब्याडीहरू १०/१० नै हुन्छन् !

उनीहरूको सङ्गतले जीवनलाई हेर्ने नयाँ दृष्टिकोण मिल्छ । थाह नभएका तर थाह हुनुपर्ने धेरै कुरा थाह हुन्छ ! नसिकेका तर सिक्नुपर्ने धेरै कुरा सिकिन्छ । तर सिकेका नसिक्नुपर्ने कुराहरू पनि थाह पाइन्छ । भाग्यले जीवनमा केही १०/१० ब्याडीको सङ्गत गर्ने मौका मिल्यो र ती सबै ब्याडीहरू म कृतज्ञ छु ! र यो निबन्ध उनीहरूलाई समर्पित गर्न चाहन्छु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.