प्रगीत – बुद्धिसागर पौड्याल

लेखक बुद्धिसागर पौड्यालको गीतसङ्ग्रह हो, ‘प्रगीत’ । पुस्तकमा पौडेलले सामाजिक विकृति देखाउने र प्रेमिल भाव दर्शाउने गीतहरू लेख्नुभएको छ ।

”मैले बुद्धिसागर पौड्‌यालको गीतसङ्ग्रह प्रगीतमा के पाएँ ?  यो आफैसँग सोध्दैछु, तब केही सूत्र फेला पार्न सकें ।”, पुस्तकमा शीतल गिरी लेख्नुहुन्छ, ”मानौँ सम्पूर्ण प्रकारका सुख-दुःख भोगको बारेमा रचिएका हुन् गीत । दर्शनबोध भएका पौड्यालले बाँचेको मात्रै होइन मृत्युसम्मको जीवन अध्ययन गरेर शब्द सजाएका छन् । तर यी गीतहरूले तत्कालै वाहवाही पाउनेछ यो भन्न गाह्रो छ । उपलब्धि भनेको गीतको माध्यमबाट दर्शनचेत दिन सक्नु पनि हो । कला र साहित्यको लागि अहिले असहज समय छ । पुस्तकहरू कागज या कागज रहित प्रविधि कुनमा उचित, यस कुराको निर्धारण र निर्णयको अन्तिम समय पनि हो । अब लाग्दछ कागज सभ्यताको अन्त्यको समय आउन लागेको छ । यस्तो समयमा जीवन र जगतमा मान्य कुरा गीतको माध्यमबाट प्रगीतको माध्यमबाट दत्तचित्तले लागेका छन्, बुद्धिसागर ।”

त्यसैगरी, पुस्तकमा विष्णु अधिकारी लेख्नुहुन्छ, ”बुद्धिसागरका गीत कवितामा यथार्थ परक तथा बोलचालका व्यवहारिक शब्दहरूको संयोग बढी देखिएका छन् । उहाँले प्रेमिल समाजमा जे जस्ता परिवेश देख्नुभयो जे अनुभव गर्नुभयो वा उहाँको अन्तर्मनले अनुभव गर्यो, त्यसलाई सोही रूपमा पस्कने प्रयास गर्नुका साथै उजागर गर्ने किसिमले लेख्ने प्रयास गर्नु भएको छ जुन पाठकवर्गलाई बुझ्न र स्वीकार्न सहज हुनेछ । लेखन एउटा कला हो। लेखनको लागि निरन्तर अभ्यासको जरुरत पर्दछ उहाँको लेखनले पनि निरन्तरता पायो भने भविष्यमा परिष्कृत सृजना आउने कुरामा दुई मत छ भन्ने म ठान्दिन । प्रेम यस्तो अनुभूति हो जसले हर कोहीलाई कवि बनाइदिन्छ । यौवन अवस्था देखि आफ्नो विचार र मानसपटलमा खेलेका शब्दहरूलाई बेलैमा उन्न सकियो भने ऊ प्रेमिल कवि र गीतकार बन्न धेरै बेर नलाग्ने कुरामा कसैको दुईमत होइन । बुद्धिसागरका प्रणयका शब्दहरू यसरी नै निरन्तर अङ्कित हुँदै गएको मैले अनुभूत गरेँ। यसैगरी यी निरन्तर लेखिदै र थपिदै जाऊन् ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । एक सय ४९ ओटा गीत समेटिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।