केही समयअघि बलिउड बाला प्रियंका चोपडाले आफूलाई ‘बडी डिस्मोर्फिया’को समस्या भएको बताएकी थिइन् । बलिउडमा यस्तो समस्याका बारेमा खुलेर बताउने उनी मात्र एक थिइन् । उनले बोलेपछि अन्य कलाकारहरु पनि आफ्ना बारेमा खुलेर बोल्न थालेका छन् ।

हलिउडमा त आफ्ना डर र आशंका मात्र होइन, खराब बानी व्यहोराबारे खुलेरै बोल्ने गर्छन् । पछिल्लो समय ‘बडी डिस्मोर्फिया’का बारेमा बोल्ने हलिउडका कलाकार र खासगरी अभिनेत्री तथा गायिकाहरुको संख्या बाक्लिदै जान थालेको छ ।

सेलिब्रिटीहरुले आफ्नो मानसिक समस्या वा रोगबारे बोल्नु भनेको त्यसबारे सचेतना बढाउनु पनि हो । त्यसैले जब कलाकारले खुलेर बडी डिस्मोर्फियाबारे कुरा गर्न थाले, मान्छेले हतारिदै यसका बारेमा जानकारी जुटाउन थाले ।

नेपालमा भने यसका बारेमा त्यति धेरै कुरा हुँदैन । तर यो समस्या नेपाली कलाकार तथा सर्वसाधारणमा पनि कम छैन ।

के हो बडी डिस्मोर्फिया ?
आफ्नो शारीरिक बनावट वा कुनै खास शारीरिक विशेषताका बारेमा अत्यधिक चिन्ता वा नकारात्मक धारणा पाल्नु हो । यो वास्तविकतामा सामान्य वा नगण्य नै हुन्छ । उदाहरणका लागि, व्यक्तिले आफ्नो नाक, छाला, कपाल वा शरीरको आकारलाई लिएर अत्यधिक असन्तुष्टि जनाउने गर्छ । अरुले भने उसमा त्यस किसिमको कुनै परिवर्तनलाई मतलब नै गरेको हुँदैन ।

बडी डिस्मोर्फियाका कारणले धेरैले ज्यादै चिन्ता लिने गर्छन् । उनीहरुमा बारम्बार नकारात्मक सोच्ने गर्छन् । यसले उनीहरुमा आत्मविश्वासमा कमी हुने गर्छ । उनीहरु आकर्षक नदेखिएकामा चिन्तित हुन्छन् । यसले आत्मसम्मानमा ठेस पुग्ने गर्छ । आफू राम्री भए नभएको जाँच्न ऐनामा बारम्बार हेर्ने गर्छन् । अरुसँग तुलना गर्ने गर्छन् र आफ्ना ‘खराबी’ लुकाउने प्रयास गर्छन् । यसका लागि उनीहरुले मेकअपमा बढीभन्दा बढी समय दिन्छन् र कपडाले छोप्ने प्रयास गर्छन् ।

आफू नराम्री भएको कारण लज्जित महसूस गर्दै उनीहरु सामाजिक गतिविधिबाट टाढै रहने प्रयास गर्छन् । यो समस्या समाधानको कुनै शारीरिक उपचार हुँदैन तर पनि उनीहरु परिवर्तन गर्ने प्रयास वा उपचार खोजिरहेका हुन्छन् । जबकि विशेषज्ञहरुका अनुसार, त्यस्तो उपचारको कुनै आवश्यक छैन ।

नेपालमा बडी डिस्मोर्फियाको बारेमा जनचेतना निकै कम छ । मानसिक स्वास्थ्य समस्यालाई अझै पनि लाञ्छनाको रूपमा हेरिन्छ । यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकहरुसँग सल्लाह लिनुपर्ने विज्ञजनहरु बताउँछन् ।