भाटभटेनीको धुवाँसँगै
कयौँ नेपाली श्रमिकको पसिना जलेको छ
विद्यार्थीको सपना अँगार बनेको छ
दैनिक गुजारामा टाँसिएको रोजी–रोटी
अँगारझैँ टुक्रिएको छ
मात्र जति हेर्यो, संसार कालो मात्रै देखिन्छ ।
तिमी भवन मात्रै जलेको हो कसरी भन्छौ ?
बुढाबाआमाको सहारा बनेको भाटभटेनी जलेको छ
हजारौँको ग्यासचुलो निभेको छ ।
नेपालीको भोको पेटमा
नेपालीकै लात लागेको छ ।
नेपालीले नेपालीलाई दुःख पर्दा
मासुको साटो आँसु दिएको छ
हँसाउनुको सट्टा काँडेतारमा फसाएको छ ।
तिमीले भाटभटेनीको धुवाँ मात्रै देख्यौ
घरबेटीलाई दिने भाडा बन्द हुँदा
घरबेटीलाई कोठाको ढोका ढकढक्याउने अवसर मिलेको छ ।
त्यहाँ सपनाका निमित्त पसिना बगाएर
ठुला व्यापारी बन्ने सपना
भ्रूणावस्थामा नै तुहिएको छ ।
भाटभटेनीका भित्ता मात्र होइन
एकल महिलाको भात पनि डढेको छ ।
उदाउँदै गरेको नेपाली सीप
आगोसँगै खरानी भएको छ ।
आगो लगाउनेको मनमा
शायद खुला आकाश जस्तै हर्ष छ !
प्रिय भाटभटेनी ! तिमी आज खरानी भयौ
तिमी आफैँ जलेपछि
अब हजारौँ पेट कसरी पाल्छु भन्नेछौ ?
तिमी आफैँ अपाङ्ग भएपछि
हजारौँ रोजगारीको भारी कसरी बोक्छु भन्नेछौ ?
प्रिय भाटभटेनी ! तिम्रो परोपकार कसले बुझ्यो ?
तिमीले कमाएको मात्रै देखे
तर हजारौँ नेपालीहरूका आँखामा
आँसु पुछेको कसैले देखेनन् ।
भोको पेटको सेवा गर्नु त्यो तिम्रो ‘पाप’ हो
तर, त्यो पाप गर्न तिमी कहिल्यै नछोड्नु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 




