पद
आज शिरमा मुकुट
भोलि त्यही मुकुट
इतिहासको सङ्ग्रहालयमा टाँसिएको धातु ।
पैसा
आज खल्तीमा गर्जिरहेको नदी
तर समयले त्यही नदी
बालुवामा हराएको पानी ।
प्रतिष्ठा
आज भिडको तालीमा उभिएको मान
तर भोलि त्यही भिड
अर्को नामको जयकारमा मस्त ।
पावर
आज तिम्रो इसारामा झुकेको यो संसार
भोलि समयको एक झोक्कामा
साम्राज्य र सिंहासन दुवै पत्तासाफ ।
सत्ता
आज तिम्रो हस्ताक्षरले चलेको देश
भोलि त्यही हस्ताक्षर
तिम्रो जीवनको एउटा दाग ।
सम्पत्ति
महल, गाडी, बैंकका अङ्कहरू
सबै यहीँ छुट्छन्
अन्तिममा
तिम्रै भन्नेहरूले बोकेर लैजाँदा
एक मुठ्ठी सासबिनाको लास ।
शरीर
आज बल, सौन्दर्य र अहङ्कार
तर भोलि
माटोको अंश भएर
माटोमै थाहा नपाई मिलन ।
समय
सबैभन्दा ठुलो सम्राट
जसको अगाडि
राजा, धनपति, सेनापति
सबै समान रूपमा हार्नेछन् ।
आजको शक्ति
भोलिको स्मृति
आजको अहङ्कार
भोलिको व्यथा ।
किनकि
पद, पैसा, प्रतिष्ठा, पावर
समय, सत्ता, सम्पत्ति र शरीर
यी सबै
क्षणभङ्गुर छाया हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










