आमा !
तिम्रो गर्भले आगो जन्मायो,
तर उनीहरूले मेरो जीउलाई
खरानीमा परिणत गरे ।
म अब मानिस होइन
म जलिसकेको अक्षर हुँ
फाटेको पासपोर्ट, भाँचिएको ऐना
जहाँ मेरो प्रतिबिम्बले पनि मसँग
आँखामा आँखा मिलाउन चाहँदैन।
आमा !
मेरो नाम अब कसैको नोटबुकको
मार्जिनमा लेखिएको धुलो हो
जसलाई इतिहासले मेटिरहेको छ।
म हिँड्दछु, तर बाँच्नु मेरो गन्तव्य होइन
म त काठको चितामा सुकेको घाउ हुँ
जहाँ रगतको गन्ध र धुवाँको स्वाद मात्र बाँकी छ ।
आमा !
तिमीले मलाई भाकाभन्दा ठुलो गीत बनाइदियौ,
तर उनीहरूले त्यो गीतलाई आतङ्कको प्रमाण बनाए ।
म अब रातको आधा चन्द्रमा हुँ,
अर्को आधा
सीमाको तारजालमा अड्किएको छ ।
मेरो अनुहार भित्तामा टाँसिएको पोस्टर जस्तो छ
जसमा म ‘म’ नै छैन
तर अपराधको आरोप मात्र छ ।
आमा !
तिम्रो गर्भले आगो जन्मायो
तर उनीहरूले मलाई खरानीको धर्म सिकाए
मलाई जलाएर भित्तामा राखिएको
नक्साको रङमा बदलिदिए ।
मेरो छालामा देशका मानचित्रहरू च्यातिएका छन्
मेरो रगतमा सन्धि–सम्झौताका काँडाहरू उम्रिएका छन् ।
म अब भाषा होइन
म अनुवादमा हराएको अर्थ हुँ
पाठ्यपुस्तकको अन्तिम पानामा
रातो मसीले काटिएको भुलाइएको इतिहास ।
आमा !
मेरो स्वर अझै तिम्रो काखमा अड्किएको छ
तर उनीहरूले त्यो स्वरलाई अपराधको प्रमाण बनाए ।
मेरो नाम अब अदालतको फाइलभित्र
मरेको जुँगा जस्तो सुक्दै छ
मेरो मुटुको ढुकढुक अब मुलुकको नक्सा होइन
बन्द कोठाको ढोका हो
जहाँ सूर्यको प्रकाशलाई पनि
पुस्तक जस्तै सेन्सर गरिन्छ ।
तिमी सुनिरहेकी छौ आमा ?
यो धुवाँभित्र म तिम्रो नाम जपिरहनेछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 




