उनका सुमधुर संवादहरू
उसका खस्रा कानहरूले
कसरी सुन्थे होलान् !
हजारौँ कोस टाढा झाँगिएको
सुकोमल प्रेम कसरी, झाँगिन्थ्यो होला !
ठोसेर झनै सल्केको आगोझैँ
झगडामा अझै सल्केको माया
कसरी सल्किन्थ्यो होला !
हजारौँ–हजार शब्द–सन्देशहरू
कसरी कोरिन्थे होलान् !
मनमा परेका तिता–मिठा अमिट छापहरू
कसरी छापिन्थे होलान् !
उत्तर, प्रतिउत्तर, क्रिया र प्रतिक्रियामा नापिएका
गणितीय प्रेमहरू कसरी नापिन्थे होलान् !
उसकी प्रेमिका, कुक्क–कुक्क बाडुल्की लाग्दा
उसैलाई सम्झिन्थी होला ।
रापिलो आगो भुर्र–भुर्र गर्दा
उसैलाई सम्झिन्थी होला ।
हरियो हाँगामा का–का कराउँदा काग
देखेर झुक्किँदा अर्को परदेसी
ऊ जस्तै बटुवा बाटामा लामो सुस्केरामा
उसैलाई सम्झिन्थी होला !
लेखेर चिठीहरू मनका भावमा पठाउँथी होला
टाढा परदेसीलाई
नीला अक्षरमा सेता पानामा परेको सन्ताप गृहस्थीलाई ।
भरेर तीव्र इच्छा चिठीभरि घरिघरि लेखेर
परदेसीलाई पठाउँथी होला !
भावनाका कङ्कालहरू गाउँभरि भेटिन्थे होलान्
बिछोडका मसानघाटहरू सहरभरि देखिन्थे होलान्।
इन्टरनेट नहुँदो हो त
खोलाकिनारमा बसेका ती प्रेमिल जोडीहरू
कसरी भेटिन्थे होलान् !
कोही सन्देशवाहक खोज्थे होलान्
कोही हुलाकी रोज्थे होलान्
कोही इसाराबाटै काम तमाम गर्थे होलान् !
डाँडाका टुप्पाबाट कोही बजाउँथे होलान् सिठी
मार्थे होलान् सुस्केरा
हल्लाउँथे होलान् रुमाल !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 




