उहिले–उहिले
मेरी बुढी हजुरआमा
आफ्नी छोरीको घरमा आउँदा
छोरीघरको दैलो–ठेलो ढोग्थिन्
छोरीले लिपे–पोतेको दैलो कुल्चँदा
पाप नलागोस् भनेर !
र
उसै गरी
पहिले–पहिले, जागिर खान जाँदा
आफ्नो अफिसको दैलो–ठेलो ढोगेर मात्र
भित्र पस्थेँ, किनकि
देवस्व, राजस्व र जन–आँसु खान नपरोस् भनेर !
तर अचेल
खोइ किन हो
मेरी हजुरआमा आफ्नी छोरीको घरमा आउँदा
घरको दैलो–ठेलो ढोग्न छोडिन् रे ।
त्यसै गरी
मैले पनि अचेल अफिस जाँदा
अफिसको दैलो–ठेलो ढोग्न छोडेको छु
अकारण !
मेरी हजुरआमाले
किन छोरीघरको दैलो–ठेलो ढोग्न छोडिन् ?
र मैले किन ढोग्न छाडेँ कार्यालयको दैलो–ठेलो ?
अनुत्तरित यिनै प्रश्नहरूमाथि,
भविष्यका इतिहासकार
र पुरातत्त्वविद्हरूले उत्खनन गरून्
र लेखुन्— टिप्पणी: आदेशमा हराएको
आफ्नै देशको !
अलिखित इतिहास।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 




