फोक्सोभरि श्वास भरेर,
शरीरका कोष-कोषबाट शक्ति निचोरेर,
आदिकालमा मैले बजाएको शङ्ख
गुञ्जिएको थियो तिनै त्रिलोकमा।
झस्किएको थियो कैलाश पर्वत,
चस्किएको थियो वैकुण्ठ
र लगलग काँपेको थियो ब्रह्मलोक।
त्यही शङ्ख म तिमीलाई दिन चाहन्छु,
फुक अब परिवर्तनको बिगुल।
जाऊ तिम्रो कुरुक्षेत्रमा,
जितेर ल्याऊ न्यायको शासन,
र गाऊ स्वतन्त्रताको एउटा कालजयी गीत।
तथास्तु!

जसरी मेरो सुदर्शन चक्रले
समय रथलाई चलाउने गर्छ,
त्यसैगरी अब तिमी पनि समय-घोडाको लगाम कस।
लिऊ कम्पास, खियाऊ डुङ्गा,
पत्ता लगाऊ आफ्नै दुनियाँ।
बनाऊ पुल्ठो,
झोस मसाल
अनि जलाऊ असमान कानुनका सडेका दस्तावेजहरू।
लेख नवीन संविधान,
खडा गर निष्पक्ष अदालत
र खोलिदेऊ न्यायमूर्तिको आँखामा बाँधिएको त्यो पट्टि।
खोज बेतको लठ्ठी,
तिखार त्यसको चुच्चो
र मार तिमीलाई डस्ने सर्पहरू।
तथास्तु!

म देख्छु तिमीलाई दौडाइरहने समाजका कुनियमहरू,
तिमीलाई रोकिरहने संस्कारका पक्षपाती जञ्जिरहरू।
तिम्रो स्वाभिमानमा लागेको चोट,
निचोरिएको मन,
तिम्रो सम्भावनालाई पोखिएको पानी
र निभ्दै गरेको आकाङ्क्षाको अग्नि।
ती सबले दुखाउँछन् मलाई,
मेरा नयनहरू भरिन्छन् अनि
कमलको नरम आसनबाट जुरुक्क उठ्छु।
घाँटीमा लगाउँछु मुण्डमाला,
आँखामा बाल्छु क्रोधको बिजुली,
फुकाउँछु लामो कपाल
र गर्छु ताण्डव।
मेरो खुट्टाको थर्कनसँगै
विहार गर्न गएको शिवजी कैलाश फर्किन्छन्,
विष्णु काँच्छन्
र ब्रह्मा प्रार्थना गर्न थाल्छन्।
तिमी लैजाऊ मेरो रौद्र स्वरूप र गर्ज बादल जस्तै।
तथास्तु!

यी चार दिशालाई बाटो देखाउने
मेरा चारवटै भुजाहरूमा
ज्ञानको अनन्त स्रोत छ।
म दिन चाहन्छु तिमीलाई
त्यो शक्तिको खजाना खोल्ने चाबी।
लिऊ र खोल आफ्नै कर्मको ढोका,
हिँड्नु तिमी आफ्नै बाटोमा,
उड तिमी आफ्नै आकाशमा।
मालिस गर दुखेका पैतालाहरू,
फिजाऊ आफ्ना पखेटाहरू
ताकि चलायमान होऊन् तिम्रा कदमहरू।
तथास्तु!

जब अन्यायको विषाक्त हावाले
मेरो श्वास रोकिन्छ,
म विनाशको मार्ग रोज्छु।
म नै वरदानको स्रोत हुँ,
तथापि जब प्रलयको क्षण आउँछ,
मलाई रोक्न महेश्वर लम्पसार पर्छन्।
म उनको छातीमा टेक्छु।
मैले सरापेको छली विष्णु
अझै तुलसी भई हिउँदमा सुक्ने गर्छ।
मैले ललकारेको ब्रह्मा
नारी गर्भमा सृष्टिको बीउ राखिदिएर
आफैँ अवकाश लिएको छ।
नारी! तिमीले करुणाको सिद्धिले सिँगार र स्याहार यो सृष्टि।
तथास्तु!

अपूर्ण र विक्षिप्त महादेव
जब दिशाहीन भई भौँतारिएका थिए,
उनलाई पूर्णता दिन मैले आफ्नो पुनर्जन्म रोजेँ।
अद्वैतको सिद्धान्तमा
समग्र मानवता जोड्न म
अर्धनारीश्वर भएर महादेवमा समाहित भएँ।
उनी निश्चल बनेर बसेको बेला, म बग्छु शक्तिको धार बनेर।
नारी! तिमीभित्र पनि पुरुष छ,
जगाउनु पुरुषत्व,
हुर्काउनु ममत्व
र पूर्ण स्वरूपमा
सिद्धि बनेर
यो संसारलाई स्वर्ग जस्तै बनाउनु।
तथास्तु!

म नै हुँ त्यो बुद्धत्वको मुहान,
जसको नाम जपेर मानिसहरू तपस्वी बने,
योगीहरू सिद्ध बने,
ध्यानीहरू बुद्ध बने।
नारी! तिमी पनि निस्कनु चुलो-चौकाबाट,
सोह्र शृङ्गारको दलदलबाट,
र साधनाको सागरमा गहिरिँदै जानु।
प्रेमको हिमाल उक्लिँदै जानु,
आफूभित्रको आत्मा जन्माउनु
र यो कलियुगको बुद्ध बन्नु।
तथास्तु! तथास्तु! तथास्तु!

(नोट: ब्ल्याकटाउन, अष्ट्रेलिया २० सेप्टेम्बर २०२५ मा आयोजित नवदुर्गा साहित्यिक
कार्यक्रममा वाचन गरिएको  कविता ।)