यस कवितामा भक्त र महागौरीबीच संवाद राखिएको छ। भक्त पनि एक स्त्री नै हुनुहुन्छ। कविताको पहिलो हरफमा भक्तले महागौरीलाई प्रश्न गर्नुभएको छ। प्रश्नमा उहाँ भन्नुहुन्छ, कि संसारको सारा दुःखको औषधि महागौरीको शरण हो, त्यो मलाई थाहा छ, तर पनि किन म महागौरीको शरणमा जाँदिन र भागिरहन्छु?

“म कहाँ भाग्दैछु, पर पर तिमीबाट नरुकी,
म के के माग्दैछु, तनिक नचिनी यो प्रिय जुनी?
तिमीसामु आए, शरणगत भई पाप धुलथ्यो,
कति त्यसै भाग्छु, कसरी अपुरो जीव चल्थ्यो?”

महागौरी उत्तर दिनुहुन्छ, तिमी भागे पनि, रुके पनि, म तिम्रै साथमा छु। तिम्रो लागि भाग्नको निम्ति यो अनन्त समय छ, जब तिमी थाकेर विश्राम लिनेछौ, म पर्खिरहने छु।

“तिमी जाऊ आऊ, तिमी सँगसँगै पास रहूँला,
जता तिमी जान्छौ, सँगसँग म प्रारब्ध सहूँला।
जगत् नै हो लीला, दुःख-सुख सबै खेल रचना,
अनन्तै यो बेला, थकित जब हुन्छौ र बसूँला।”

देवीको उत्तरपछि भक्तलाई ढुक्क महसुस हुन्छ। र उनी आफ्नो देवीसँग भेट हुने कुरामा आशावादी हुन्छिन्। तर भेट भइहाले देवीलाई कसरी चिन्ने भनेर भक्त प्रश्न गर्छिन्। उनी भन्छिन्, म कसरी चिनुँला तपाईँलाई जब म भेटुँला कुनै दिन?

“कसरी यो जानुँ, कसरी पहिचानुँ तिमी कहाँ?
कसो पो हो चोला, कसरी पुगुँला मै तिमी जहाँ?
म यस्तो रूखो छु, मरुभूमि सरिको छ हृदय,
कसरी जानुँला, तिमीकन मुमा यो छ विलय?”

अबका पङ्क्तिमा महागौरीले आफ्नो वर्णन गर्नुहुन्छ। उहाँ आफू प्रेमले भरिएको, विनोदले नाची रहेको नदीजस्तै निरन्तर क्रियाशील, सर्वव्यापक भएकोले उहाँलाई भक्तले चिनी हाल्ने कुरा भन्नुहुन्छ।

“छचल्किन्छन् प्रेम नै, छल छल भई रक्तनलीमा,
हिउँ झैँ पग्लन्छन्, जल जल भई तीव्र गतिमा।
विनोदले नाच्छु, थम थम गरी मयूर जसरी,
मनै थामिँदैन, हृदय नगरी प्रेम पगडी।

म बग्दो खोला हुँ, कल कल गरी बग्दछु सधैँ,
म तिम्रो चोला हुँ, धिप धिप गरी बल्दछु बरै।
म कोही होइन, तर म हुँ कतै शून्य अघिको,
कि त मै हुँ सारा, कण कण सबै सृष्टि पछिको।

तिमीले रोज्नेछौ, रूप-रङ सबै आफू सरिको,
म हुँ सुरु अन्त्यै, म हुँ जगत्को शान्त कणिको।
म ऐना तिम्रै हुँ, म हुँ मन मैना त्यो मगजको,
हुँदा तन्द्रा भङ्गै, म कन तिमी देख्छौ ज्योति नभको।”

भक्तलाई देवीस्वरूप निकै आकर्षक लाग्छ। भक्त एक स्त्री हुँदाहुँदै पनि किन देवी स्वरूपमा आकर्षित छु भनेर देवीलाई सोध्नुहुन्छ।

“जसै तिमी देख्छु, तब तब हुन्छु शून्य बहिरी,
म चल्नै सक्दिनँ, वरपर गए तीव्र पहिरो।
म त्यसै तानिन्छु, तिमीतिर सधैँ चुम्बक सरी,
म आफैँ नारी हुँ, तर नजर हट्दैन कसरी?”

महागौरीले भन्नुहुन्छ, आकर्षण नै उहाँबाट जन्मिएको हो। उहाँ यो जगत्को निम्ति ठूलो चुम्बक जस्तै हो र यो जगत् फलामको कण हो, त्यसैले उहाँप्रति आकर्षित हुनु कुनै अचम्म होइन, सामान्य हो।

“यो सारा सृष्टिमा, मधुर रस यो बग्दछ जता,
छ मेरो दृष्टिमा, गजब मृदु छल्किन्छ तबता।
ममा नै मुदित छ, जगत्भरको सुन्दर ध्वनि,
कति मोहक होला, तब मिलनको प्रेमील जुनी।

रसैकी हुँ देवी, मधुसरी बनेको छ जगत्,
म हुँ प्रेमको धारा, अनि जगत् सारा छ भगत।
म एकै चुम्बक हुँ, कण कण सबै लौह कणिका,
बिना दृष्टि मेरो, किन कसरी मन हट्थ्यो र चपला।

यही आशिष् मेरो, सुख-दुःख सबैमा सम रहू,
तिमी मैमा आऊ, सकल जगमा सद्गुण कहू।
न त शोकै चिन्ता, तिमीकन सदा आशिष् बनोस्,
उज्यालो जीवन होस्, सुगम पथ त्यो सार्थक रहोस्।”

(नोट: ब्ल्याकटाउन, अष्ट्रेलिया २० सेप्टेम्बर २०२५ मा आयोजित नवदुर्गा साहित्यिक कार्यक्रममा वाचन गरिएको  कविता ।)