तिमी आएको खबर त पाएकी थिएँ,
बेलामा आउन पाइनँ, मेलामा गएकी थिएँ।

फर्केर घरमा आएकी मात्र के थिएँ,
तिमीलाई पिँढीमा भुइँमै बसेको देखेँ।

कतै कतै लाज लागेर आयो,
कतै कतै अप्ठ्यारो लागेर आयो।

तिमीसँग आँखा जुधाउनै सकिनँ,
एक्लै थियौ, टोलाइरहेथ्यौ, मनको कुरा फुकाउनै सकिनँ।

माटोमै बसेको नदेखेकी होइन, चटकी दिएर ओछ्याऊ भन्न सकिनँ,
भित्रबाट घरीघरी चियाइरहेथें, तिर्खा लाग्यो कि पानी ल्याऊँ भन्न सकिनँ।

पहिले जस्तो तिमीले चटकी मागेनौ,
भोक लाग्यो भनेर मकै पनि मागेनौ।
म ढोकामै उभेर तिमीलाई चियाइरहेँ,
तिमी रित्तो पिँढीमा बसेर टोलाइरह्यौ।

कतै कतै मन मेरो दुखेर आयो, भोक लागेको थियो कि तिमीलाई?
कतै कतै मन फाटेर आयो, बिना चटकी गाह्रो भयो कि तिमीलाई?
तर खै ओठ खुलाउनै सकिनँ,
आफ्नो मनलाई आफैं भुलाउनै सकिनँ।

नजरहरू आफैं झुके, नयनरसहरू आफैं सुके,
तिमीलाई भेट्न हतारिएर आउँदा काटेका हात-गोडामा रगत आफैं जमेर सुके।

तर, मेरो ओठ खुलेन, अनि पहिले जस्तो तिम्रो शब्द फुटेन,
जङ्गल गएका बाबा फर्के,
मेलामा गएकी आमा आइन्, म अझै ढोकामै तर्केँ।

आमाले गाली गरेजस्तो लाग्यो, बाबाले चटकी मागेजस्तो लाग्यो,
होस हराइसकेको म तिमीलाई देख्दा, भोक लागेको छ भनी भुटेको मकै मागेजस्तो लाग्यो।

मसँग पहिले नै मागेको भए पनि हुन्थ्यो,
मायाले पग्लिएर म आफैंले दिएको भए पनि त हुन्थ्यो।

एकैछिनमा तिमी आफ्नो बाटो लाग्यौ,
ओठमा ल्याउने मुस्कान भित्र राखी साट्यौ।
फर्केर हेर्छौ भनी अगेनीमा आएँ, अलि परसम्म पछि-पछि धाएँ,
फर्केर तिमीले फेरि हेरेनौ,
पहिले दिने मुस्कान अहिले दिएनौ।
नजर झुकाएर पाइलाहरू हेरेँ,
रगतपच्छे अगेनीमा आफैंलाई बेरेँ।
खर्बारीको तर्कनाले फेरि डोऱ्यायो,
जङ्गल जाँदा फेरि तिम्रो सम्झनाले सतायो।

प्रिय! तिमी फेरि आउँदा अगेनीमा रगतपच्छे पाइलाहरू नहोलान्
त्यो बेला, चटकी र भुटेको मकै माग्न ढोकातिर नचियाउनु है।