किनकि म छोरी हुँ
म जन्मिएँ भनेर कतै उत्सव मनाइएन
तर आमाको आँखा भने खुशीले रसाइरह्यो
मेरो पहिलो रुवाइमा उनको मुटु नाचिरह्यो
तर समाजले त्यसलाई चुपचाप टुलुटुलु हेरिरह्यो
किनकि म छोरी हुँ
मेरो हाँसो, मेरो चिच्याहट, मेरो उफ्राइ
देखी सधैं भन्दछन् — “छोरी हो, शान्त बस।”
मलाई खेलौना दिए तापनि,
भन्दै थिए — “भोलिको बुहारी, सभ्य बन।”
किनकि म छोरी हुँ
मेरो पढ्न पाउने अधिकारलाई पखाल्न खोजिन्छ
घरको भाँडा माझेर, खाट मिलाएर
पढ्न खोजेँ भने पनि भन्छन् — “छोरी मान्छेले कति पढ्नु?”
तर, किताबमा लेखिएको हर शब्द मेरा सपनाहरू हुन्
किनकि म छोरी हुँ
सानैमा सिकाइन्छ — लाज मान्नू, टाउको निहुराउनू
तर मलाई मेरो आँखा उठाएर हेर्न मन लाग्छ
मेरो आवाज बुलन्द पार्न मन लाग्छ
किनकि म पनि विचार राख्न सक्छु, परिवर्तन गर्न सक्छु
किनकि म छोरी हुँ
म सधैं प्रेम गर्छु, तर कमजोरी होइन
सहन गर्छु, तर निरीह छैन
धैर्यको नाम म हो
तर अब मौन रहने छैन
किनकि म छोरी हुँ
म आमाको काखमा निदाउने फूल हुँ
तर बुबाको सपना पूरा गर्ने अठोट पनि
म त समाजको आधा भाग हुँ
तर कहिल्यै आधा अधिकार पाएकी छैन
किनकि म छोरी हुँ
शिक्षा मेरो अधिकार हो
सपना देख्ने आँखा मेरै पनि छन्
म पनि डाक्टर, पाइलट, नेता, वैज्ञानिक बन्न सक्छु
कविता लेख्न सक्ने, क्रान्ति गर्न सक्ने आत्मा हुँ म
किनकि म छोरी हुँ
म सृजनाकी मूर्तरूप हुँ
म केवल घर सजाउने फूल होइन
म आँगनमा रगत बगाएर क्रान्ति गर्ने वीर पनि हुँ
किनकि म छोरी हुँ
माइती र ससुराली दुवैको माया बोकेको दायित्व हुँ
आफ्नो पहिचान हराउँदै अरूको चिनारीमा विलीन हुनुपर्ने
तर अब त्यो नाम हराउने छैन —
म आफ्नो अस्तित्व लिएर बाँच्नेछु
किनकि म छोरी हुँ
अब मलाई दया होइन
अधिकार चाहिन्छ
सहानुभूति होइन
समानता चाहिन्छ
किनकि म छोरी हुँ
म बाँच्न चाहन्छु खुला आकाशमा
उड्न चाहन्छु सपनाको पंख फिजाएर
म केवल ‘छोरी’ होइन
म एक जीवनकी सारथी हुँ — म भविष्य हुँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१० कार्तिक २०८२, सोमबार 





