रुख न हिंड्न चाहन्छ
न कसैसँग भिड्न चाहन्छ
केवल शितल छाया, सुन्दर फूल
र मीठो मीठो फल दिएर
सृष्टिमा – केवल प्रेमले जिउन चाहन्छ

तथापि एक दिनको कुरा हो –
गुँडमा ओथारो बसेको
एकजोडी दुर्लभ गिद्दको
घरबार ढल्यो, प्रेमको दरबार ढल्यो
अण्डा कोरल्ने हाँगाको न्यानो सँगसँगै
प्रकृतिको दुर्लभ जीवन स्वरुप ढल्यो
एक ऋतुको बास माग्दा माग्दै
जब मान्छेको निर्मम बञ्चरोबाट
एउटा विशाल सिमलको रुख ढल्यो

ढल्यो त रुख ढल्यो
चराको बास ढल्यो
तर सँगसँगै त्यो दिन
मानवताको आश पनि ढल्यो ।