बिहानी अखबार किनेँ
चियाको चुस्की लगाउँदै हिडेँ
तराईको गर्मी छल्न
रारा छेउमा डुबुल्की मार्न
तातो शहरबाट मनका तातताता लहर बोक्दै
मनोरेल चढेँ
अखबारको हेललाइन थियो-
नेपाली उद्योगमा विदेशी कामदारको माग उच्च ।

चंखेली हिमालसँग सेल्फी लिएँ
छप्पक ढाकेको देखेँ सेतो पछ्यरौले छायानाथ
हिउँका सेता डल्लारुले फुलेका थिए अफ्रिकीहरूका केश
एक पटक सम्झिएँ आफ्नो देश
मनमनै खुशीले गदगद भएँ
पाटनमा चर्ने मृगका पाठाजस्तै
मनले बुर्कुसी मार्यो
देशका कुना कुना

फर्किए ब्रेकफास्ट लिन खस राज्य !
हेरेँ खस राज्यको पुरानो राजदरबारबाट
सिंजा जिउलो दुई किनारा पार्दै
अबिरल बगिरहेको तिला नदी
एक अञ्जुली पिए कन्चन अमृत
र रसिलो जुम्ली स्याउले मेटाएँ भोक

एकपटक भोको कर्णाली सम्झिएँ
र समुन्नत कर्णाली हेरेँ
रोग, भोक र शोकले चिनिएको कर्णालीले
कोहिनूर चम्किएजस्तै:
चम्काइरहेको थियो देश र विदेश
कमाइरहेको थियो विदेशी डलर

मलाई किताबका ठेली बोकेर
धाउनु पर्दैन कक्षा कोठाकोठा
तीव्र क्षमताको नेटले
पढाउन सक्छु सुदूर गाउँबाट
विश्व बजार, राजनीति र अर्थतन्त्र
खोज्दै हिँडेका छन् अमेरिकीहरू
नेपाल सुखी र समृद्ध हुनुको मूल मन्त्र

पूर्वको अन्तु डाँडाबाट एक झुल्को घाम बोकेर
एक हुल युवा पश्चिमको झुलाघाट पुग्छन्
र सुस्ताउँछ्न् कालापत्थरमा पुगेर
देखेर देशको स्पष्ट मार्गचित्र
सजाउँछन् देशलाई मुटुमा
गर्छन् मुक्तकण्ठले बयान

हामी बुद्ध जन्मिएका देशका मान्छे
शान्तिको बिगुल फुक्दै
हिमालय पर्वत मालाबाट
एकै पटक छर्छौँ बुद्धका दिव्य उपदेश
हिमाल, पहाड र तराई
हटेका छन् द्वन्द्वका काला बादल
कोही छैन पराइ
अहा ! मेरो देश
सुन्दर छ र समृद्ध !

ढोकाको ढ्याक ढ्याक आवजले निद्रा भङ्ग भयो
सपनामा कोरिएको मानचित्रले
एक छिन मनमा उमंग छायो
एकै छिन सुदूरका बस्ती सम्झिएँ
मेरो देश सम्झिएँ
घोत्लिएँ धेरै समय
कसले बनाउँछ मेरो देश ?
एउटा अन्त्यहीन प्रश्नले मनमा उथलपुथल ल्यायो
र धेरै रात निदाउन सकिरहेको छैन ।