धन्न बिचरा हामी नेपालीहरू
एउटा बहाना मात्र चाहिन्छ
अटाई नअटाई छातीमा पीर बोकेर पनि
रमाएर गाउन सक्छौँ
रमाएर नाच्न सक्छौँ
र मन खोलेर हाँस्न सक्छौँ

तिहारको देउसी भैलोको बहानामा
हामी युगौँदेखि यसैगरि
पीर नभए जस्तैगरि
नाच्दै गाउँदै आइरहेका छौँ

लाग्छ- गाँस बासको पीर नभए
विपत्ति विनासको त्रास नभए
र परदेशको बगरमा नभौँतारी
आफ्नै समृद्धि र भरोसामा
स्वावलम्बी जीवन ज़िउन पाए
कस्तो कस्तो देउसी गाउँथ्यौँ होला
भैलीमा कस्तो कस्तो भाका लाउँथ्यौँ होला

सोच्छु- त्यो सुखद् देउसी भैलो
मेरो आँगनमा कहिले गाउने होला !

चैनपुर, संखुवा सभा
हाल: रातोपुल, काठमाडौँ