हिजो फेरि ती सहकारी पीडितहरूलाई
एउटा सरोकार सभामा
सरकारदेखि पत्रकारसम्मले
गहिरो सहानुभूति राख्दै भने
“पहिला तपाईं आँशु पुछ्नुस्
र आफ्नो समस्याको कुरा भन्नुस्”

एउटा पीडितको भनाइ थियो
“मैले भन्न नसकेका कुरा
यही आँशुले त भनिरहेको छ हजुर
म कसरी यो आँशु पुछुँ ?”

“यसवेला म आँशुको भाषाबाहेक
न कुनै भाषा बुझ्न सक्छु
न कुनै भाषा बोल्न सक्छु
बरु सक्नु हुन्छ भने हजुर पनि रुनुस्
र मेरो यो आँशुको भाषा पढ्नुस्”

उनले भनिन्- “सहकारी चोटको घाउ
जो कोहीलाई दुखेको भए
शायद ऊ पनि यसरी नै रुन्छन् होला ।”

चैनपुर, संखुवासभा
हालः रातोपुल, काठमाडौँ