पूर्वी नेपालको लिम्बुको छोरो
उन्मत्त छ शासक बन्न
आफ्नै भाइमाथि बन्दुक तेर्साएर
चटक्कै भुलेछ –
शासक वर्गले गरेको हजारौं वर्षदेखिको उत्पीडन
चटक्कै बिर्सेछ –
आफ्ना बाबुबाजेले मानिआएको संस्कृति
लात मारेर आफ्नो मुन्धुमलाई
समाएछ गाईको पुच्छर
र, जप्दो रहेछ हरे कृष्ण हरे राम !
खै कहिले लाग्ने हो कुन्नी यसको घैँटामा घाम !
ताम्सालिङका पासाङ कमरेड
आफ्नो वर्ग र जातिको मुक्तिको निम्ति लड्छु भन्यौ
भोट दिएर जिताएकै हुन्, ती भरिया, ज्यामी र मजदूरहरूले
गरीवहरूको पसिना बोकेर मुक्ति लिन गएको कमरेड
सिंहदरबार छिरेपछि
बन्दी बनाएछ उनलाई – आफ्नै विचारहरूले
आफ्नो गाउँ बिर्साएछ उनलाई
आलिशान महल, चिल्ला गाडी र अभिलाषाको ह्याङोभरले
डिस्को र क्लबको म्युजिक सुनेपछि
चटक्कै बिर्सिएछ्न् – डम्फूको ताल र खान्दोके सेलो
रेडलेबलको चुस्की लिँदै तरूनीका नाङ्गा नाचमा रमेपछि
चटक्कै बिर्सिएछ्न् –
मतवाली मासिन्या भनी टाउको काटिएका पू्र्खाको इतिहास
चटक्कै बिर्सिएछ्न् –
सुसारे भदै दरबार पुर्याइएपछि रखेल बन्न विवश बहिनीको आँशु
ओ ! ताम्सालिङका पासाङ कमरेड हेर त!
धिक्कारी रहेछ तिमीलाई –
ढुङ्गेधारा र बुद्धका आँखाहरूले
छिनो, मैरी र घनहरूले
डोको, नाम्लो र भीरपाखाहरूले
आफ्नै नजरमा मर्यौ भने बेकार तिम्रो नाम
खै कहिले लाग्ने हो कुन्नी यिनका घैँटामा घाम !
दलित मुक्तिका नायक
आरनमा बलिरहेका झर्झराउँदो गोलभन्द पनि रापिला
मेरा प्रिय गोरे दाइ !
पोको पारेर एक अञ्जुली घाम, एकमुठ्ठी अमरत्व
तिमी सिंहदरबार पस्यौ
यता तिम्रो बस्तीमा बाढी पसेको छ
विष्णुमतीको आँशुमा सुकुमबासी जीवन चुर्लुम्म डुबेको छ
मुक्तिको एक मुठ्ठी सपना साँचेर
निस्किएकै हो आन्दोलनमा आरनको टुँडो भाँचेर
तिमीसँगै माइतीघरमा बसेकै हो धर्ना
तर,
बाँडेर झुटा क्रान्तिको सपना
पहिरिएर एकखात फूलमाला – उतै बेपत्ता भयौ तिमी
सुन ओ! गोरे दाइ
तिमी आगो भएर बल्नु पर्थ्यो
तर अँध्यारो भएर बिलायौ
तिमीलाई आरनको भाँटी र खलाँतीहरूले सम्झिरहेछन्
गोल र खरानीहरूले सम्झिरहेछन्
एउटा कुरा बाताऊ आज –
तिम्रो निधारमा लगाइएको अछुतको कलङ्क मेटियो कि नाइँ ?,
शासकको पाउ मोलेर खाएको जुठोपुरोले अघायौ कि नाइँ ?
अनि भन अरू, के हुँदैछ काम ?
कहिले लाग्ने होला बरै तिम्रा घैँटामा घाम !
सुन ओ ! दर्जी माल्दाइ
विभेद र उत्पीडनको विरुद्ध सङ्घर्ष गर्नु पर्छ भन्यौ!
सहजै स्विकार्यौँ हामीले
सियोको टुप्पो भाँच भन्यौ – भाँचिदियौँ
ट्याम्को र दमाहालाई दहमा फाम भन्यौ – फालिदियौँ
जिन्दावाद र मुर्दावादको नारा लागाऊ भन्यौ – त्यो पनि लागायौँ
तर तिमी त,
विभेद र उत्पीडनको मुद्दा वागमतीमा सेलाएर
कोटि होममा प्रवचन दिन पुगेछौ
दमाई महाराज भएछौ
दान र अछेतामा आफ्नो अस्तित्व बेचेछौ
शासकहरूको पगरी गुथेर उसैको जयगान गर्न पुगेछौ
तिमीले भाँच्न लगाएको सियो टिपेर
उनीहरू फेसन डिजाइनर भएका छन्
तिमीले फाल्न लगाएको दमाहा र ट्याम्को टिपेर
उनीहरू महान म्युजिक कम्पोजर भएकाछ्न्
सियोको टुप्पोसँगै हाम्रो सिङ्गो जिन्दगी भाँचियो
दमाहाको फित्तासँगै हाम्रो मुटुको भेट्नु चुँडियो
ओ ! दर्जी माल्दाइ
त्यता मालिक हजुरलाई कस्तो छ, विसन्चो कि आराम ?
कहिले लाग्ने होला बरै तिम्रा घैँटामा घाम !
–
धापाखेल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।