सिरक ओढेर सुतेको छ आकाश
चिसो थपिएको छ संसारैभर
कतै कसैले उघार्न सकेको छैन आँखा
कसैले कतै छाम्न सकेको छैन एकार्कालाई

यति चिसो छ संसार कि
भर्खर कसैले आफ्नो मुटु छामेको छ
भर्खरै कतै एउटा गुँड खसेको छ
भर्खरै कतै एउटा कुकुर भुकेको छ
भर्खरै कतै एकोहोरो शंख बजेको छ

एउटा अँध्यारो छ जमिनैभर
छायाँ हराएको छ आत्मबोधको !
एउटा चकमन्नता छ धरतीभर
घाँटी बसेको छ स्वविवेकको !

चराहरूले भनेका हुन्, ‘गुहार गुहार !’
ताराहरूले भनेका हुन्, ‘बचाऊ, बचाऊ !’
चङ्गाहरूले भनेका हुन्, ‘नउडाऊ, गुजुल्टाऊ !’

सोधौँ, बोल्दैन कोही
बोलाऔँ, सुन्दैन कोही

जान्दैन धरती, किन सुत्यो आकाश ?
भन्दैन आकाश, कहिलेसम्म सुत्नेछ ऊ ?

कोही भन्दै छ, ‘अब घुर्ने छ आकाश !’
कोही भन्दै छ, ‘हेर, कोल्टे फेर्दै छ आकाश !’
कोही भनिरहेछ, ‘अब सपना देख्दै छ आकाश !’

डर छ-
यति नै बेला ब्युँझिदियो भने आकाश ?

 

नैकाप