भेटमा अधरभरि मुस्कानको प्रेम हुन्छ
प्राणभन्दा प्रिय सारा अरमानको प्रेम हुन्छ ।
स्वार्थ मिसिएको ठाउँमा सौदा मात्र चल्छ
केवल लेनदेन अनि विधानको प्रेम हुन्छ ।
न सर्त, न बन्धन, न नियमको पहरा
नदीझैँ स्वतः बग्ने वरदानको प्रेम हुन्छ ।
अपेक्षा त्यागेपछि मेटिन्छ धोका-भय
समर्पण नै यहाँ त निदानको प्रेम हुन्छ ।
आउँछन् ती चुनौतीका अनगिन्ती घुम्ती
साहसले ती चिर्नु बलिदानको प्रेम हुन्छ ।
न मौसम, न कुनै कसमको भार यहाँ
मौन धड्किने धुन सम्मानको प्रेम हुन्छ ।
स्वार्थ हराउँदा मात्रै मन उज्यालो रहन्छ
निस्वार्थ यो यात्रा पहिचानको प्रेम हुन्छ ।
‘बासु’ भन्छ, स्वत्व टुट्दा खुल्छ साँचो उज्यालो
अहंकार भस्म पार्ने अभियानको प्रेम हुन्छ ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
७ फाल्गुन २०८२, बिहीबार 




