भरिएको सिउँदो र रातो चुरा देखाएर रोई
अब म अरू कसैकी हुँ बस यही बताएर रोई ।
छुट्नुको पीडा सहन शक्ति थिएन उसमा
शायद अन्तिम पल्ट नजिक बसाएर रोई ।
भन्थी कुनै दिन एक्लो बाँच्नै सक्दिनँ मबिना
अफसोस आज पनि त्यही बात दोहोर्याएर रोई ।
ममा भन्दा उसमा पीडा देखिन्थ्यो छुट्टिनुको
वाक्य बसेको थियो तापनि छातीमा टाँसाएर रोई ।
म बेकसुर छु, सबै भाग्य र दैबको खेल हो
अङ्गालोमा पार्दै बस यही शब्द बताएर रोई ।
मेरै सामु अर्को असह्य दुःखको पहाड फुट्यो
जब उनी आँखै अगाडि मेरो प्रेमपत्र जलाएर रोई ।
म बिचरा आत्तिँदै छटपटाउँदै श्वास तान्दै थिएँ
उनले जानी–जानी पुराना यादहरू सुनाएर रोई ।
सहनशीलता यो घट्दै गयो, भित्रभित्र प्रश्न गरेँ
चोखो माया गरेकै भए किन मलाई रुवाएर रोई ?
कसरी अनर्थ सोचूँ उसको माया, सयौँको भिडमा नि
सधैँ माया गर्छु तिमीलाई भन्दै गला मिलाएर रोई।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१६ माघ २०८२, शुक्रबार 




