कठै
सुन बजारमा छिरेर ऊ खोजिरहेछ
जुत्ताहरू पितृसत्ताको मस्तिष्क बोकेर।
मलाई थाहा छ
ऊ जुत्तामा अटाएको छ,
सायद ऊ गरिब छ,
हृदयको भाउ घटाएको छ,
र सोच्छ, स्त्री जुत्ता हो।
खेल मस्तिष्कको हो,
ऊ खेलिरहेछ एक्लै,
र जितिरहेछ आफैँ।
तर तिमी नहिँडी मेरो मनको बाटो,
नचिनी मलाई नभन्नु
“खुट्टा भए जुत्ता कति–कति।”
म त हारिदिन्छु,
खुट्टा छाडिदिन्छु,
म खुट्टा छुन सक्छु,
जुत्ता हुन सक्दिनँ।
र त आज पनि एउटा दरबार छ मभित्र,
र विचित्र ! यो हृदयको सिंहासनमा पर्खाइ छ बादशाहको।
फुकेर बिगुल दरबारको सानमा,
झुकेर ईश्वरको नाममा
मलाई सूचना पठाउन मन छ
कोही छ राजा ?
कोही छ सजाउने ?
मलाई शिरमा लगाउने ?
चम्किलो हीरा झैँ,
छु जिद्दी म आँधी झैँ ।
उषामा झरेको शीत झैँ
झर्छु म दिनको बिहान भई ।
रातको हुँ जून म
गोधूलि साँझको सुनौलो घाम झैँ
हुँ म मुटुको।
म मीठो हुँ अन्दाज,
नजर लिएर आउनु ।
कोमल हुँ आवाज
हृदय लिएर आउनु।
खास हुँ
बतास हुँ
समुद्र भएर आउनु,
पहरा भएर आउनु।
डुबेर गङ्गाको पानीमा,
धोएर आउनु मस्तिष्क ।
फेरेर वस्त्र पितृसत्ताको,
प्रेमले सजिएर आउनु।
धुन हुँ म प्रीतको
बाजा भएर आउनु ।
ताज हुँ म शिरको
राजा भएर आउनु ।
शिर लिएर आउनु,
बनेर बादशाह,
शिरमा सजाउनु।
गरौँला प्रेमले अनुरोध
मानिदिनु तिमीले निर्विरोध ।
अरू पनि केही मेरा रहर
मनमा बनाएको छु सानो घर।
पूजौँला हरि हरदिन,
घरमा प्रभु उनकै भर।
आँगनै पूर्व तुलसी, पारिजात झरून मठैमा ।
पूर्वको घाम टुप्लुक्क बिहानै परून् कोठैमा ।
प्रेमले हाम्रो घर मिलोस्, कोठालाई राखौँला चिटिक्क।
नउडोस् धुवाँ चुरोटको, नचलोस् अल्कोहल पिटिक्कै।
राम झैँ पति भन्दा, कृष्ण झैँ प्रेमी बनिदिनु ।
राधा झैँ म पनि भइदिन्छु, तिमीले मै प्यारी मानिदिनु ।
यी सबै मेरा अनुरोध, मुस्कुराई हुन्छ भनिदिनु।
म पूजा गरी प्रेमले बनाई मन्दिर
मुटुमा ईश्वरमा तिमीलाई राख्नेछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ मंसिर २०८२, बिहीबार 




