डाक्टर साप,
औषधि दिनुस् न।
तर पेटको लागि होइन,
मुटुको लागि।
पेट त भोकले बानी परिसक्यो,
तर मन चाहिँ कहिलेकाहीँ एक्कासि पोल्छ।

पसिना बेचेरै आएको हुँ,
पाइलैपाइलामा धुलो टाँसिएको छ,
तर शरीरमा भन्दा बढी थकान दिमागमा छ, साब।

आमा बिहानैदेखि बोल्दिनन्,
कसैको घरबाट धुवाँ निस्कँदा
उनको आँखामा पानी आउँछ,
तर उनी रुन्नन्,
कसैले हाम्रो दुःख नदेखोस् भनेर।

बाबु खेतमा छन्,
धेरै बोल्दैनन्,
तर उनका हातका दागहरूले भन्छन्
“यो देश मान्छेको हो, तर मान्छे बेचिन्छ।”

छोरो पढ्न जान्छ,
तर उसको टिफिन खोक्रो हुन्छ,
र सपनाले पेट दुख्छ।
भोकसँग लुकामारी खेल्दै उसले भन्छ
“बा, पढेपछि सबै राम्रो हुन्छ?”
म भन्छु
“थाहा छैन बाबु, तर पढेपछि सोध्ने भाषा बदलिन्छ।”
उसले थप्छ
“बा, हामी किन मिठाई खाँदैनौं?”
म फेरि भन्छु —
“हाम्रा सपना मिठा छन् छोरा, भोकले पागल छ।”

साहु हिजो फेरि आए, झम्टिँदै भन्थे –
“पैसा कहिले तिर्छस्?”
म हाँसेँ, किनकि रुन त उहाँलाई ठट्टा लाग्छ।
ऋण त अब शरीरमै लेखिएको छ।

परदेश गएको साथीको चिठी आयो,
साथीले सोध्यो –
“त्यहाँ के चलिरहेको छ?”
मैले जवाफ दिएँ –
“त्यहाँ ड्युटी चलिरहेको छ,
यहाँ साहुका बोली चलिरहेका छन्,
देशमा गोली चलिरहेको छ।”
उसले लेखेको रहेछ – “यहाँ पैसा छ, मन छैन।”
म पनि पठाएँ –
“यहाँ मन छ, तर पैसा छैन।”
हामी दुईजनाको कथा एउटै हो,
फरक ठाउँको गरिबी मात्र।

राति आकाश हेर्छु,
तारा गन्नु मेरो खेल हो,
किनकि तारा गन्न पैसा लाग्दैन।
कहिलेकाहीँ सोच्छु
भगवान् पनि त सायद गरिबै हुन्,
त्यसैले त उनी पनि हामीजस्तै मौन छन्।

डाक्टर साब,
तपाईंको रिपोर्टले मेरो भोक नाप्दैन,
तर म बाँचिरहेको छु
र त्यही नै मेरो सबैभन्दा ठूलो कमाइ हो।

जीवन गाह्रो छ,
तर म हार मान्दिनँ।
म भोकसँग मिल्छु,
आमालाई हँसाउँछु,
छोरालाई सपना देखाउँछु।
किनकि यो देश म जस्ता मान्छेले नै बाँचेको छ
जो भोकसँग सम्झौता गर्छन्,
तर आशा कहिल्यै बेच्दैनन्।

साहुले फेरि पैसा माग्छन्,
तर हामीले दिन सक्ने कुरा मुस्कान मात्रै छ।
भोक र आशा एउटै खाटमा सुत्छन्,
र हाम्रो कथा हरेक गाउँलेसँग छ।

साब, मेरो छोराको सपना भोकै सुत्छ।
उसको भोकले मुटु पोल्न थालेको छ,
र म त्यसको लागि ओखती बनिरहेछु।
भोक मेरो साथी हो, साथीसँग डर हुन्न।