 
			
			
			
			
			
			तिम्रो दृष्टिमा
हिमालको हिउँ म
यथार्थमा हिम नदीमा तप्किएको
जल थोपा म
तिम्रो दृष्टिमा
अविरल खोला म
यथार्थमा अगावै स्थिर भएको
जलधिको निलो छाल म
तिम्रो दृष्टिमा अनि
सागरको पानी म
यथार्थमा त्यसअघिनै बाफ बनेको
स्वतन्त्र पवन म।
हे द्रष्टा!
कति हेरीरहन्छौ मलाई..
अगावै निराकार बनेको साकार म।
तिम्रो हिंडाइमा
तेर्सो गोरेटो म
मेरो हिंडाइमा
गोलो पृथ्वी म
तिमिले चुम्नै खोजेको
नीलो आकाश म
सर्वसत्य विश्वास ब्रह्माण्ड म।
हे यात्री!
कति पच्छ्याइरहन्छौ मलाई..
उद्गम र गन्तव्यको
समान परिभाषा म।
तिमीले पानीभित्र खसालेर हेरेको
बाङ्गो कलम म
वास्तव तिम्रो जीवन लेख्न सक्ने
सोझो कलम म
तिमिले छुन चाहेको
सुन्दर क्षितिज म
कट्ठै! दृष्टिभ्रम छर्ने
मिथ्या चित्र म।
हे स्वप्निल चेतना!
कति कुरिरहन्छौ मलाई..
कहिल्यै पछाडी नफर्किने
समय म।
किनकी सत् परावर्तक
ऐना नभई
हर्दम परिवर्तनशील
मान्छे म।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १३ कार्तिक २०८२, बिहीबार
  
				१३ कार्तिक २०८२, बिहीबार				

 




 
																	 
																	 
																	